सडक खबर

तम्घास बजार भित्रको सडक मर्मत गरिँदै, ७ करोड रुपैँया लागत लाग्ने

अनिल खत्री
१ जेठ, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारमा पक्की बाटो भत्कीदै जान थालेपछी मर्मत थालिएको छ । रेसुङ्गा नगरपालिका भित्र पर्ने सदरमुकाम तम्घास बजार क्षेत्रमै रहेको पक्की सडक ठाउँठाउँमा भत्कीदै गएपछि बजारमा दैनिक जसो सवारी साधन र पैदल यात्रीले सास्ती खेप्दै आएका छन् ।

जिल्लाको सदरमुकाम तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवतजावत गर्न जोखिम वन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको हो । रेसुङ्गा नगरपालिकाले शहरी कार्यालयबाट र केहि नगरपालिकाको गरि ७ करोड रुपैयाँको लागतमा तम्घास बजार भित्र मर्मत गर्न लागिएको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले बताउनुभयो ।

मर्मत अन्तर्गत बजार भित्र जिर्ण भत्कीएक सडकहरु पक्की गर्ने नाली बनाउने काम सुरु नगर प्रमुख भुसालले बताउनुभयो । उहाँले तम्घास बजारमा नाली राम्रो नहुँदा वर्षातको समयमा पैदल हिँड्नेलाई समेत कठिनाई भएपछि नगरपालिकाको बजेटले काम गर्न नसकेपछि केन्द्रिय बजेट ल्याएर काम सुरु गरिएको बताउनुभयो । उहाँले यहि आर्थिक वर्षभित्र धेरै काम गरिसक्ने बताउनुभयो । नगरपालिकाले असार मसान्त भन्दा पनि जेठमै नगरपालिका भित्रका योजनाहरु सक्नेगरि काम गरिएको नगर प्रमुख भुसालले दावि गर्नुभयो । बजारमा गरिएको पक्की सडक भत्कीनुका साथै बजार भित्र पक्की गर्न बाँकी सडकले पनि बजारमा यात्रा गर्नेहरुको लागि शास्ती पर्दै आएको छ ।

तम्घास बजारको चिदिचौर गुल्मी अस्पताल नजिकैको झण्डै २ सय मिटर सडक पक्की नहुदा आवत–जावत गर्नलाई सास्ती पर्दै आएको छ । वर्षातमा हिलाम्मै र शुख्खा सिजनमा धुलाम्मै हुनाले अस्पताल पुग्ने बिरामीहरुको निम्ति पनि सास्ती हुँदै आएको छ ।
सडक पक्की नभएको प्रति चौतर्फी आवाज उठेपछि रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा पक्की गर्न बाँकी सडकलाई उच्च प्रथामिकता दिएर काम अगाडी बढाएको हो । केहि दिन अघिबाट बजारका बिभिन्न क्षेत्रमा पक्की गरेर भत्कीएको ठाउँमा पुनः पक्की गर्न र पक्की गर्न बाकी रहेका सडकहरुलाई कालोपत्रे गर्न सुरु गरिएको नगरप्रमुख बताउनु भयो ।
तम्घास बजारमा घर छेउमा बनाइएका नालीहरु व्यवस्थित नहुँदा वर्षातमा ठूलो पानीे पर्दा भरिएर बजारमै समस्या पर्ने खालका समस्याहरु स्थानियले झेल्दै आएका छन् । त्यस्ता ठाउँमा पनि नगरपालिकाले मर्मत कार्य अगाडी बढाएको छ ।
सडक मर्मत कार्य गर्न लागिएको गुल्मी अस्पताल र प्रहरी कार्यालय नजिकैको स्थानमा भने पैदल यात्रुलाई समेत आवत जावत गर्न समस्या झेल्दै आएका छन् । बिद्यालय जाने स–साना बालबच्चाहरु,अस्पताल पुग्ने बृद्ध तथा बिरामीहरुको लागि भने मर्मत कार्यले निकै शास्ती थपेको छ ।

अघिलो वर्ष नगरपालिकाले बजार क्षेत्रको दिनढुंगा देखि बसपार्क सम्मको सडक मर्मत गरेको थियो । बजेट अभावका कारण देखाउदै अन्य ठाउँमा मर्मत कार्य रोकिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D