मुख्य हेडलाईनस्वास्थ्य

गुल्मीमै हुन्छन् जटिल शल्यकृया र आधुनिक मेसिनबाट उपचार, उपलब्ध सेवा बारे अनभिज्ञ नागरिक

टोपलाल अर्याल
गुल्मी, १२ चैत्र । केहि समय अघि गुल्मी अस्पतालले रेसुङ्गा नगरपालिका १४ का ८२ बर्षिया बृद्धको हर्नियाको सफल अप्रेसन ग¥यो । यो आर्थिक बर्षमा मात्रै सातवटा हर्नियाको सफल अप्रेसन भएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । त्यस्तै दुई महिना अगाडी एक महिलाको अण्डानलीको ट्युमर भएको पनि सफल शल्यक्रिया गुल्मी अस्पतालले गरेको छ । अहिले उक्त ती बिरामीको स्वास्थ्य अवस्था ठिक रहेको अस्पताल प्रमुख पच्याले जानकारी दिए । गुल्मी अस्पतालले यो आर्थिक बर्षमा तीन जना एपेन्डीसाइटिसका बिरामीको पनि शल्यक्रिया गरिसकेको छ । त्यस्तै जटिल शल्यक्रिया मार्फत ६३ जना महिलाहरुको प्रसुति गराइएको पच्याले बताए ।

सेवाको बारेमा गुमनाम नागरिक
कुनै समय गुल्मी अस्पताललाई रिफर सेन्टरको रुपमा हेरिन्थ्यो । नागरिकमा अस्पताल प्रति कम मात्रै बिश्वास थियो । अहिले अस्पतालको अवस्था फेरिएको छ । तर नागरिकमा अस्पताले प्रदान गर्ने सेवाहरुको बारेमा कम जानकारी रहेको छ । ‘म जत्तिका मान्छेलाई पनि गुल्मी अस्पतालमा हर्निया, एपेन्डिसाइटिसको अप्रेसन तथा ल्याव सेवाको बारेमा जानकारी थिएन, ’नेकपाका जिल्ला नेता कृष्ण सुनारले भने, ’सर्वसाधारण नागरिकले झन कसरी पत्तो पाउने ।’

त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले जिल्ला अस्पतालको प्रगती देखेर आफु अत्यन्तै खुसी भएको बताए । उनले यो अस्पताल बिपन्न र गरिव नागरिकको भएकाले सेवाको बारेमा सवैले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । ‘स्तरिय सेवाको प्रचार नभएका कारण थुप्रै खर्च गरेर मान्छे पाल्पा र बुटवल पुगेका छन्,’उनले भने,‘अव त्यस्ता व्यक्तिहरुलाई अस्पतालको पहुँचमा ल्याउनुपर्छ ।’

अत्याधुनिक मेसिनद्धारा सेवा
अहिले गुल्मी अस्पतालमा कम्युटराईज्ड एक्सरे सेवा शुरु गरिएको छ । गुल्मी अस्पतालमा पहिले क्यामिकलमा डुबाउनु पर्ने झंझटिलो एक्सरे मेसिन थियो । अब त्यो झन्झटबाट अस्पताल र बिरामी दुवै मुक्त भएका छन् । रेसुङ्गा नगरपालिकाले १७ लाख बराबरको मेसिन अस्पताललाइ प्रदान गरेको छ ।

अब बिरामीले एक्सरे रिर्पोट सिधै कम्युटरबाट नै प्रिन्ट गर्न पाउँछन् । यो सेवा बाहिर चारदेखि पाचँ सय पर्ने गरेतापनि गुल्मी अस्पतालमा तीन देखि तीन सय ५० रुपैँयासम्म पर्ने अस्पताल प्रमुख पच्याले जानकारी दिए ।

थाइराइड मेसिन
त्यस्तै गुल्मी अस्पतालमा थाइराइड मेसिन संचालनमा आएको छ । यो उपकरण नेपालका जिल्ला अस्पतालहरुमा कम स्थानमा मात्रै रहेको छ । कर्मचारी मिलन केन्द्र गुल्मीले सात लाख पर्ने यो उपकरण अस्पताललाई प्रदान गरेको हो ।

यो उपकरण मार्फत अहिलेलाई १२ प्रकारका रोगहरुको परिक्षण गर्न सकिने ल्याव टेक्नीसियन राजकुमार चौधरीले बताए । मुटु सम्बन्धि जाँच, क्यान्सर पहिचान र भिटामिन लगायतको परिक्षण गरिने चौधरीले बताए । थाइराइड परिक्षण गर्दा बाहिर १२ सय लाग्ने भएपनि अस्पतालमा आठ सयमा परिक्षण हुने गर्दछ ।

जिन एक्सपर्ट
गुल्मी अस्पतालमा क्षयरोग परीक्षणका लागि अति प्रभावकारी मानिएको जिन एक्सपर्ट मेसिन समेत रहेको छ । निक साइमन्स इन्सिच्युटको समन्वय र विराट नेपाल मेडिकल ट्रष्टले अस्पताललाई मेसिन प्रदान गरेको हो । जिन एक्सपर्ट क्षयरोग निदानमा सबैभन्दा नयाँ प्रविधि हो । यो मेसिन मार्फत नागरिकहरुले एक बर्षदेखि सेवा लिइरहेको ल्याव असिस्टेन्ट प्रकाश रिजालले बताए ।

जिन एक्सपर्टको सहायताले माइक्रोबाक्टेरियम ट्युवरक्लोसिसबाट हुने संक्रमण र उक्त संक्रमणका लागी प्रयोग गरिे सबभन्दा प्रभावकारी औषधी रिफ्यामपिसिनको प्रभावकारीता जानकारी पाउन सकिने भएकाले कम स्थानमा मात्रै यो मेसिन रहेको रिजालले बताए । अस्पतालमा कल्चर सेवाको समेत व्यावस्था गरिएको छ ।

२४ सै घण्टा अस्पताल फार्मेसी
गुल्मी अस्पतालमा २४ सै घण्टा अस्पताल फार्मेसी सेवा संचालनमा ल्याएको छ । अस्पतालमा यसभन्दा अगाडी फार्मेसी बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गथ्र्यो । नागरिकको हितलाई ध्यानमा राखेर फार्मेसी २४ सै घण्टा खुल्ला रहने व्यावस्था गरिएको अस्पताल व्यावस्थापक कमल अर्यालले बताए ।

व्यावस्थापक अर्यालका अनुसार अब नागरिकले कम्तिमा पाँच प्रतिशत छुटमा औषधी पाउने छन् । अस्पतालको फार्मेसीमा सम्पूर्ण रोगका तीन देखि चारसय प्रकारका औषधीहरु रहेको अर्यालले जानकारी दिए ।

लक्षित बर्गको लागि समाजिक सेवा इकाई
गुल्मी अस्पतालमा सामाजिक सेवा इकाई संचालनमा आएको छ । बिशेष गरेर १२ लक्षित बर्गहरुको सेवाका लागि इकाई संचालनमा ल्याइएको हो । यो इकाई मार्फत त्यस्ता बर्गले औषधी बाहेक अन्य सम्पूर्ण सेवा ५० देखि सत प्रतिशत निशुल्क पाउने अस्पताल संचालन तदर्थ समिति अध्यक्ष लक्ष्मण पराजुलीले बताए । पराजुलीका अनुसार यो इकाई गठनसंगै अस्पताल विकास समितिको आर्थिक व्ययभार कम हुने र लक्षित समुदायले सहुलियतमा सेवा लिनेछन् ।

एकद्धार संकट व्यावस्थापन केन्द्र
गुल्मी अस्पतालमा अस्पतालमा आधारित एकद्धार संकट व्यावस्थापन केन्द्र संचालनमा आएको छ । लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरुका लागि एकीकृत र प्रभावकारी उपचारको व्यवस्थाका लागि अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना भएको हो ।

शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनामा परेका महिला पुरुषहरुलाई, स्वास्थ्य उपचार, कानुनी तथा पुर्नस्थापनसम्मको सहयोग गर्न केन्द्र स्थापना गरिएको फोकल प्रर्सन जमुना पन्थीले जानकारी दिइन् । पन्थीले केन्द्रबाट यो आर्थिक बर्षमा १५ जना महिला पुरुषले सेवा लिएका छन् ।

भौतिक संरचनाको अभाव
अस्पतालमा अहिले कम्युटराईज एक्सरे, थाईराईड मेसिन र जिन एक्सपर्ट लगायतका अत्याधुनिक मेसिन छन् । विस २०३६ सालमा निर्माण भएको पुरानो भवन छ । जसका कारण उपलब्ध उपकरणहरुको व्यावस्थापनमा निकै चुनौति रहेको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उपकरण अत्याधुनिक भएपनि संरचना अत्यन्तै नाजुक भएकाले तीन तहको सरकार मार्फत भवन निर्माण प्रयत्न हुनुपर्नेमा जोड दिए ।

अहिले अस्पतालमा दुई जना डाक्टर एउटै कोठामा बसेर बिरामी चेक जाँच गर्नुपर्ने अवस्था रहेको छ । भने बिरामीहरुको संख्या बढ्दै जाँदा थप समस्या हुने गरेको अस्पताल व्यावस्थापक कमल अर्यालले बताए । पछिल्लो समय जिल्ला अस्पतालको डिपिआरको काम भएको छ । भने अहिले माटो परिक्षणको काम भएको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल संचालन तदर्थ समिति अध्यक्ष लक्ष्मण पराजुलीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D