जिल्ला समाचार

केन्द्र विवादको अलमलमा स्थानीय तह, पार्टीभित्रै भुगोलको गुट

टोपलाल अर्याल
गुल्मी, २१ फागुन। स्थानीय सरकार संचालन ऐन २०७४ मा निर्वाचन सकिएको छ महिनाभित्र बहुमतले स्थानीय तहको नाम र केन्द्रको टुंगो लगाउनुपर्ने उल्लेख छ । तर, जिल्लाका तीन स्थानीय तहमा अझै केन्द्र बिवाद हुँदा विकास निर्माण, प्रशासनिक कार्य संचालनदेखि बिषयगत कार्यालय प्रभावित भएका छन् । आम नागरिकले केन्द्रलाई हेरेर बनाउने व्यावसायीक योजना पनि अन्यौलमा देखिएको छ ।

क्षेत्र नं २ मा मात्रै केन्द्र विवाद

मदाने गाउँपालिकाको केन्द्रको चर्चामा रहेको मदाने गाउँपालिका ६ को पुर्कोटदह ।

जिल्लाको क्षेत्र नं २ का तीन गाउँपालिकामा मात्रै केन्द्र विवाद देखिएको छ । मदाने गाउँपालिकाको कामकाज वडा नं ६ पुर्कोटदहबाट भइरहेको छ । भने केन्द्रका लागि पुर्कोटदह र म्यालपोखरी चर्चामा रहेका छन् । केन्द्र विवादका कारण भौतिक पुर्वाधार विकास अन्यौलमा परेको छ । इस्मा गाउँपालिकाको केन्द्र पनि अझै टुङ्गो लागेको छैन । व्यक्तीको घर भाडामा लिएर गाउँपालिकाको कार्य संचालन गरिएको छ । केन्द्र बिबादले गाउँपालिकाको भौतिक निर्माण कार्य अलपत्र छ । अहिले कर्मचारी उठेर सेवा दिनुपर्ने अवस्था आएको छ । मालिका गाउँपालिका केन्द्रको विषय त झन् अदालतसम्म पुग्यो । राजपत्रमा मालिका गाउँपालिकाको केन्द्र साविक अर्खबाङ्ग गाविस कार्यालय भनी प्रकाशित गरियो जहाँ अहिले वडा कार्यालय मात्रै छ । गाउँपालिकाको प्रशासनिक कार्य वडा कार्यालयभन्दा पाँच सय मिटर टाढा बहुउदेश्य सभाहल निर्माण गरेर संचालन गरिएको छ ।

पार्टीभित्रै भुगोलको गुट

जिल्लाको निर्वाचन क्षेत्र नं २ का इस्मा, मालिका र मदाने गाउँपालिकाको केन्द्र बिबाद साढे दुई बर्षदेखि सल्टिएको छैन । मदाने गाउँपालिकामा दुई तिहाई मत नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का जनप्रतिनिधीकै पक्षमा छ । तर, केन्द्रको बिषयमा भुगोल अनुसारको पार्टीभित्र गुट देखिएका छन् । मदानेमा पुर्कोटदह वा म्यालपोखरी भन्ने बिषयले केन्द्र टुङ्गो लागेको छैन । नेकपा मदाने गाउँपालिका अध्यक्ष प्रेम केसीले विवादभन्दा पनि जग्गाको समस्याका कारण केन्द्र टुंगो नलागेको बताए । ‘पुर्कोटदहसंगैको संभावना म्यालपोखरी हो, सभाहल पनि बनाएका छौ तर जग्गा छैन,’ केसीले भने, ‘जनप्रतिनिधीको केहि मतभेद भएपनि छलफलबाटै निकास निकाल्छौ ।’ इस्मा गाउँपालिकामा पनि वडा नं ५ चाँपटारी र साविक कार्यालय रहेको स्थान चर्चामा छन् । तर, अहिले अन्यत्र पनि बहस हुन थालेको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए । उनले सवैको भावना समेटन खोज्दा ढिला भएको बताउँदै समाधानका लागि कार्यदल गठन गरिएको बताए । त्यसका लागि अझै पनि संवाद र छलफल भइरहेको बताए । इस्मा गाउँपालिकामा छ वडा छन् । वडा नं १ बाहेक सवै वडामा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) नै बिजयी भएको छ । मतको हिसावले पनि नेकपाकै जनप्रतिनिधीमा मत नबाझिए केन्द्र समस्या हल हुन्छ । नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) इस्मा गाउँपालिका इन्चार्ज दल बहादुर विकले मत र विवाद नेकपाकै जनप्रतिनिधीभित्र भएको बताए ।

केन्द्र विवाद सर्वोच्चसम्म

द्धन्दका कारण तत्कालिन अर्खाबाङ्गको गाविस कार्यालय थिएन । शुरुमा मालिका गाउँपालिका कार्यालय वडा नं ४ ठुलीचौरको महिला समुहको भवनबाट गाउँपालिका संचालन गरियो । ठुलीचौरको बिषयमा पछि मतभेद देखिए । ठुलीचौरदेखि करिव पाँच सय मिटर टाढा बहुउदेश्यीय सभाहल निर्माण गरेर गाउँपालिकाको काम भइरहेको छ । त्यो बिषयमा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेर धेरै पटक आफुहरुले सास्ती खेपेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । अदालतले अहिले त्यो विवाद फुकुवा गरेपनि मुद्धा दिने पक्ष अझै सन्तुष्टनै छन् । तर गाउँपालिकाले जनशक्ति बढि र भौतिक संरचना कम भएका कारण अर्को भवन निर्माण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

विवाद नभएका केन्द्र चम्किदै

धुर्कोट गाउँपालिकाको केन्द्र बरवोट हो । बरबोटको चमक फेरिएको छ । पहिलेको खुल्के डाँडो अहिलेको अवस्थामा आउने कसैको कल्पना थिएन् । गाउँपालिकाले आवश्यक सवै संरचना बरबोटमा निर्माण गरेको छ । बरकोट आसपासमा सडक पिच गर्नुका साथै धमाधम खुलेका होटल र पसलले केन्द्रको रौनक बदलिएको छ । मुसिकोट नगरपालिकाको केन्द्र वामी हो । वामी पहिलेकै व्यापारीक केन्द्र भएपनि पछिल्लो समय बसाईसराईले सुनासान थियो । तर नगरपालिकाको स्थापनासंगै अहिल बसाईसराई रोकिएको मात्रै छैन् । गाउँबाट विभिन्न पेसा व्यावसाय गर्न वामी झर्नेहरु बढ्न थालेको स्थानीय लोक प्रसाद छन्त्यालले बताए । तर केन्द्र विवाद भएका स्थानीय तहको केन्द्र निर्धारण नभएकाले जनप्रतिनिधी मात्रै नभएर स्थानीय नागरिक समेत अन्यौलमा रहेका छन् । ‘जनप्रतिनिधीको कार्यालय सकिने बेला भए पनि केन्द्र बिवाद सकिएन,’इस्मा गाउँपालिका ६ का सुजनचन्द्र गौतमले भने,‘ केन्द्र बिवाद नभएका स्थानीय तहका केन्द्र चम्किन थालेका छन् ।’ नेताको जुँगाको लडाइँले केन्द्रको बिषय गुम्राहामा परेकोले आम नागरिकको व्यावसायीक वा अन्य मानसिकता बनाउन नसकेको गौतमले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D