कृषीफिचर

अमेरिकी फौजी किरा के हो? कसरी गर्ने यसको ब्यवस्थापन ?

अनुश्री बस्नेत
बिश्वभरिनै माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रास सँगसँगै अहिले गुल्मी जिल्लाका किसानहरुको मकै बारीमा ‘अमेरिकी फौजी किरा’ अर्को प्रकोपको रुपमा देखिएको छ । अमेरिकाको रैथाने मानिने किरा सन् २०१६ मा अफ्रिकी मुलुकहरूमा प्रवेश गरि ठुलो नोक्सान गर्‍यो । सन् २०१८ मा भारत सङ्सङै एसियाका थुप्रै देशहरूमा फैलिदै सन् २०१९ मा पहिलो पटक नेपालमा प्रवेश गरि नेपालका लगभग आधा भागमा फैलिसकेको पुष्टि गरिएको थियो । तर संभवत गुल्मी जिल्लामा पहिलो पटक यसले आक्रमण गरी नोक्सान गरेको महशुस गरिएको छ ।

यहाँका सामान्य किसानलाई अमेरिकी फौजी किराको ब्यवस्थापन कसरी गर्ने भन्दा पनि यो किरा कस्तो खालको किरा हो, यसले कति सम्म कसरी असर पुर्याउछ भन्ने कुराबाट नै अबगत छैनन् । कहिकतै यसलाई मकैमा लाग्ने गबारो किरा भनेर हेल्चेक्राइ गरेको पनि देखिएको छ। अमेरिकी फौजी किराको पहिचान, यसबाट हुने नोक्सान तथा यसको उचित ब्यबस्थापनको बारेमा हरेक किसानलाई बेलैमा अबगत हुन जरुरी छ अन्यथा घरेलु तथा व्यावसायिक किसानहरूले सोच्दै नसोचेको क्षति भोग्नु पर्नेछ ।

अमेरिकी फौजी किरा के हो?

यो पुतली बर्गको रात्रिचर किरा हो । यसलाई अङ्ग्रेजीमा American fall armyworm भनिन्छ र यसको बैज्ञानिक नाम Spodoptera frugiperda हो । यो किराको लार्भा खन्चुवा हुन्छ । यसले मकै सँगसँगै जुनेलो , धान, कोदो, उखु , काउली जातका तरकारी तथा तेलन समुहको बाली, काँक्रो समुहको लहरे तरकारी आदि गरि ८० भन्दा बढी बालीमा क्षती पुर्याउन सक्छ । उपयुक्त आहारा र वातावरणको खोजीमा यो किरा अण्डा पार्नु अघि ५००कि. मि. सम्म उडेर जान सक्छ।

यसको जीवन चक्र कस्तो हुन्छ?

२७ ०c मा २७ देखि ३२दिनमा एउटा जीवन चक्र पूरा गर्न सक्ने यो किराले उपयुक्त वातावरण पाएमा एउटा मकैको याममा ६ देखि १२ वोटा सन्तति सम्म उतपादन गर्न सक्छ ।

अण्डा

अण्डा: पुतलीले रातको समयमा पातको तल पट्टि सरदर १००-२०० वटा झुन्डमा अण्डा पार्दछ।अण्डा पारिसके पछि माउ किराले आफ्नो पेटमा भएको खैरो कत्ला जस्तो भुवाले ढाकेर अण्डालाइ सुरक्षित राख्छ। सुरुमा सेतो, हरियो , खैरो रङका हुन्छन भने पछि अण्डा कालो रङका हुन्छन।

लार्भा: करिब २ -३ दिनपछि अण्डाबाट लार्भा बन्दछ र लार्भा सुरुमा पात अनि बिस्तारै गुबोमा गएर बस्छ । यो खन्चुवा हुन्छ र बालिमा गर्ने नोक्सानमा यसको ठूलो भुमिका हुन्छ। लार्भाले ६ पटक काचुली फेर्छ। लार्भा सुरुको अवस्थामा हल्का हरियो रङ्को हुन्छ र पछि खैरो अनि कालो हुँदै जान्छ । लार्भाको टाउकोको अगाडिपट्टि अङ्ग्रेजी अक्षरको उल्टो ‘Y’ आकार जस्तो हुन्छ र पछाडिपट्टि ४ वटा वर्गाकार थोप्ला हुन्छन् । लार्भाको माथिल्लो सतहमा ३ वटा समानान्तर आकारका पहेला धर्का हुन्छन् ।

लार्भा
प्युपा

प्युपा: १४-२२ दिनपछि लार्भा प्युपा अवस्थामा पुग्छ र जमिनमा गएर अचल अवस्थामा बस्दछ।

वयस्क : ७-१३ दिनपछि प्युपा माउ बनी निस्कन्छ र त्यही चक्र पुनः दोहोरिन्छ।

मकै बारीमा अमेरिकी फौजी किराको लक्षण कसरी थाहा पाउने ?

अण्डाबाट निस्कने बित्तिकै साना लार्भाले पातको बाहिरी सतहमा हरियो भाग कोतरेर खान्छ जसले गर्दा पातमा झिल्लिदार जस्ता आकृतिहरु देखिन्छन्।

यी लार्भाले आफैले बनाको रेसा र हावाको सहायताले अन्य बोटमा फैलिन्छन र कलिलो मकैको गुवोमा प्वाल पार्दै भित्र पस्छन्।
विरुवा बढ्दै जादा पातम ससाना लहरे प्वाल परेको देखिन्छ र आक्रमण धेरै भएको अवस्थामा पात छियाछिया भएको देखिन्छ ।

किरा भएको ठाउँमा काठको धुलो जस्तै विष्टा प्रशस्त मात्रामा देखिन्छ ।

बिरुवा हुर्किदै जाँदा गुवो, धान जमरा, घुगामा आक्रमण गरि पुरै बोटनै सखाप पार्छन्।

व्यवस्थापन कसरी गर्न सकिन्छ त?

अहिले गुल्मी जिल्लामा प्राय मकै सानै भएकाले किराहरु बाहिरैबाट देख्न सकिन्छ। यो वेलामा व्यवस्थापनका कदम चाल्यौँ भने अमेरिकी फौजी किराबाट हुन सक्ने ठुलो नोक्सानीबाट वच्न सकिन्छ। नत्र मकै ठुलो भएपछि यसले मकैको गुवो, घुगा, धान, सबैमा असर गर्छ जसको व्यवस्थापन गर्न एकदम गार्हो हुन्छ किनभने घुगोमा किरा लागेपछि रासायनिक विषादी छर्न मिल्दैन अनि किरा गुबो भित्र हुने भएकाले भित्र लुकेर बसेको किरोलाई विषादीले कुनै असर गर्ने नभएकोले मकै पूणरुपमा सखाप हुने सम्भावना प्रचुर मात्रामा हुन्छ।

  • त्यसको लागि मकै छरी सकेपछि समय समयमा मकैबालीको अनुगमन गरिराख्नुपर्छ। यदि किराको आक्रमण सुरु हुन लाग्दैछ र संख्या कम मात्रामा छ भने किराको अण्डा र लार्भालाई टिपेर हटाउनु पर्छ ।
  • अमेरिकी फौजी किराको उचित व्यवस्थापनको लागि एउटा विषदिलाई मात्र जोड दिनु भन्दा पनि एकीकृत कीट व्यवस्थापन (Integrated Pest management)को माध्यम बाट जादा राम्रो हुन्छ।
  • येसकोलागि मकैको बीचबीचमा अन्तर बालीको रुपमा डेस्मोडिअम झार लगाउने र आलीमा नेपिअर घाँस लगाउने। डेस्मोडिअमको गन्धमा माउ किराले फुल पार्न रुचाउदैन भने बहिर वरिपरिको नेपिअरको सुगन्धमा आकर्षित हुन्छ र नेपिअरको पातमा अण्डा पार्छ तर जब अण्डा लार्भा हुन्छ र नेपिअर्को पात कोतर्न थाल्छ तेसबाट आएको चोपले लार्भालाई मार्छ। यसलाई पुस एन्ड पुल मेथोड (push and pull method) भनिन्छ।
  • मकैमा अमेरिकी फौजी किरको लक्षण देख्नासाथ निम, बकाइनो, तितेपाती, खुर्सानी, असुरो आदि मिलाएर गाईको पिसाबमा पकाउने र आएको रसमा १ भाग रस र १० भाग पानी मिसाएर छर्किदिने । ठूलो किराको लागी खरानी वा काठको धुलो र मसिनो माटो गुवोमा राखिदिनाले पनि किराहरु मर्छन् । यसो गर्दा पनि किराहरु नमरेको खण्डमा सुरक्षित विषादिको प्रयोग गर्नुपर्छ।
    निम्न विषादीहरु सुरक्षित पहिरन लगाएर दिइएको पृष्किप्सन अनुसार प्रयोग गर्नुपर्छ:
    १.Spinosad 45% SC (स्पिनोस्याड ५% एस सि) @१ मि.लि./ २ लि. पानी
    २. Chlorantranilliprole 18.5% SC ( क्लोरानट्रानिलिप्रोल १८.५% एस सि) @१ मि.लि./२.५ लि.पानी
    ३. Spinotoram 11.75 % SC ( स्पाइनोटोरम ११.७५ % एस. सि.) @१मि.लि./ २ लि. पानी
    ४. Emamectin benzoate 5% SG ( इमामेक्टिन बेन्जोएट ५% एस. जि.) @1ग्रा./ २.५ लि. पानी
    विषादी छर्दा एकपटक छरिसकेको विषादी अर्कोपटक छर्दा त्येही विषादी नछरी नया विषादी छर्नुपर्छ ।यसो गर्दा किराहरुमा बढी असर देखिन्छ । वोट र किराको प्रकोप हेरि २/३ पटक सम्म विषादी छर्नुपर्दछ। यसरी अमेरिकी फौजी किराको व्यस्थापन गर्न सकिन्छ। समयमै अमेरिकी फौजी किराको पहिचान र नियन्त्रण गरौं , आफू अनि देशलाई खाद्य सङ्कट हुन बाट बचाउँ ।

(बस्नेत त्रिभुवन विश्वबिद्यालय अन्तर्गत पक्लिहवा क्याम्पसमा बि.एस्सी (कृषि) ८ औँ सेमेस्टरमा अध्ययनरत छन् ।)

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker