हुमाकान्त पोखरेल
गुल्मी । ०१ माघ । धुर्कोट गाउँपालिका वडा नम्बर १ का ५९ बर्षिया जिवलाल जिसीको हात, खुट्टा तथा शरिरको कुनै भाग चल्दैन । दिसापिसाब सबै उनकी श्रीमतीले स्याहार्छिन् । विगत २७ बर्षदेखि अपाङ्ग जिवन विताउदैँ आएका जिसीको दिनरात घरभित्रै वित्छ । कहिलेकाँहि एक÷दुई महिनामा एकपटक बाहिर ल्याउने गरेको श्रीमती कष्णा कुमारी जिसी बताउछिन् ।
उपचारको लागि भैरहवा देखि भारतको कोलकत्तासम्म पु¥याए । तर रोग पहिचान नभएपछि घरमै अपाङ्ग जिवन बिताउन बाध्य भए । जिसीजस्तै अपाङ्गहरुको लागि सरकारले परिचय पत्रका आधारमा मासिक भत्ता समेत दिने गरेको छ । तर जिसीको लागि भत्ता त परै जाओस, अपाङ्ग परिचय पत्र समेत बनेको थिएन् । सोमबार नयाँगाउँका वडाध्यक्ष कमल थापासहितको समुह ‘क’ वर्गको अपाङ्ग परिचय पत्र लिएर उनको घरमै पुग्यो । यसरी अपाङ्ग परिचय पत्र लिएर गाउँपालिकाको समुह घरमै पुग्दा परिवार निकै खुसि देखिए । ‘एम्बुलेन्समा बस्न समेत हुँदैन, डोकोमा बोकेर लैजाँदा खर्च धेरै लाग्छ ।’ श्रीमती कृष्णाले भनिन्, ‘आर्थिक अभावका कारण तम्घाससम्म लैजान सकेका थिएनौ, अहिले घरमै आएपछि धेरै खुसि छौ ।’

अर्का स्थानीय हुमकुमारी घिमिरेको पनि विगत पाचँ बर्षदेखि शरिर चल्दैन । उपचार गराउन धेरै ठाउँ लगेपनि रोग पत्ता लागेन । शरिरमा कसैले छोए दुख्छ, दिसापिसापको लागि समेत अरुको सहारा लिनुपर्छ । गाडि चढ्न पनि नसक्ने हुमकुमारीले अहिले शरिर नदुख्ने औषधी खाइरहनुभएको छ । श्रीमान र बुहारीले बाहिर पिढिमा राखेका बेला गाउँपालिकाको समुह अपाङ्ग परिचय पत्र बोकेर घरमै पुग्यो । त्यसपछि उनका हर्षका आँशु झर्न थाले । यसरी ओछ्यानभन्दा बाहिर निस्कन नसक्ने घिमिरेले घरमै आई अपाङ्ग परिचय पत्र देलान भन्ने सोचेकी सम्म थिइनन् । ‘घरमै परिचय देलान भन्ने सोचेकी पनि थिइन’ गहभरी आँशु झार्दै घिमिरेले भनिन्, ‘अहिले धेरै खुसि लागेको छ ।’ जनप्रतिनिधी र कर्मचारीले अपाङ्ग परिचय पत्र घरमै ल्याइदिएपछि हुमकुमारीले स्थानीय सरकारप्रति विश्वास थपिएको बताईन् ।
धुर्कोट गाउँपालिकाले गाउँपालिकाभित्रका अपाङ्गहरुको लागि ‘अपाङ्ग परिचय पत्र वितरण अभियान’ सुरु गरेको छ । वितरण अभियान वडा नम्बर १ नयाँगाउँबाट सुरु गरिएको छ । प्रत्येक अपाङ्गहरुलाई नयाँगाउँ स्वास्थ्य चौकिमा परिचय पत्र प्रदान गर्ने भनिएतापनि स्वास्थ्य चौकिसम्म पनि धाउन नसक्नेहरुलाई घरमै पुगेर परिचय पत्र दिइएको थियो । पहिलो दिन नयाँगाउँमा कुल १८ जनालाई ‘अपाङ्ग परिचय पत्र’ प्रदान गरिएको छ । जसमध्ये एकजनालाई ‘क’ वर्ग तथा १७ जनालाई ‘ख’ र ‘ग’ वर्गको परिचय पत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासन प्रमुख इश्वरी भण्डारीले जानकारी दिए । गाउँपालिकाले गाउँसभाबाट ‘अपाङ्गता भएका ब्यक्तिको परिचय–पत्र वितरण कार्यविधि, २०७५’ पास गरेर अपाङ्ग परिचय पत्र वितरण सुरु गरेको हो । अपाङ्गहरुको वर्ग छुट्याउनको लागि अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को पहिलो संशोधन २०७५ को दफा ४२ बमोजिम स्थानीय समन्वय समिति बनाएर परिचय पत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।
अपाङ्ग वा तिनका संरक्षकलाई आयमुलक सिप
गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँबाट सुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण अभियान प्रत्येक वडामा संचालन गरिने गाउँपालिकाले जनाएको छ । ‘अझै पनि गाउँगाउँमा परिचय पत्र नपाएका अपाङ्गहरु हुनुहुन्छ, उहाँहरु राज्यले दिएको अधिकारबाट नै बञ्चित हुनुभएको छ ।’ अपाङ्ग परिचय पत्र वितरण समितिका संयोजक एव्म गाउँपालिका उपाध्यक्ष शिव खत्रीले भने, ‘सबै वडाका अपाङ्गहरुलाई परिचय पत्र प्रदान गर्छौ ।’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अपाङ्ग वा तिनका संरक्षकलाई आयमुलक सिप सिकाउनुपर्नेमा जोड दिए । ‘अपाङ्गहरुको दैनिकीलाई गाउँपालिकाले राम्रोसँग बुझेको छ, त्यसकारण पहिलो चरणमा परिचय पत्र प्रदान गर्छौ ।’ उनले भने, ‘अब तपाईहरुलाई आयमुलक तालिमको आवश्यकता छ, त्यो पुरा गर्छौ ।’
चार प्रकारका परिचय पत्र
गाउँपालिकाले अहिले चार प्रकारका अपाङ्ग परिचय–पत्र वितरण गरेको छ । जसमध्ये पूर्ण अशक्त अपाङ्गता भएकाहरुलाई ‘क’ वर्गको परिचय पत्र रातो रङ्गको पृष्ठभूमिमा प्रदान गरिएको छ । व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरुमा भएको क्षतिले दैनिक जीवन सम्पादन गर्न असाध्यै कठिन हुने, अति सामान्य काम पनि गर्न नसक्ने, बौद्धिक रुपमा अपाङ्गता भएका, तीब्र रुपमा अटिज्म प्रभावित तथा पूर्ण रुपमा श्रवण–दृष्टिविहिन व्यक्तिहरुले ‘क’ वर्गको रुपमा अपाङ्ग परिचय पत्र पाएका छन् । यस्तो परिचय पत्र पाउनेहरुले मासिक दुई हजार पाउने गाउँपालिकाका स्वास्थ्य सह–संयोजक डिल्लिराज पराजुलीले बताए ।
अति अशक्त अपाङ्गगता भएकाहरुलाई निलो पृष्ठभूमिमा ‘ख’ वर्गको परिचय पत्र वितरण गरिएको छ । शारीरिक वा मानसिक सम्बन्धी विचलन भएतापनि सहयोगीको सहयोगमा समेत आफ्ना न्यूनतम दैनिक क्रियाकलापहरु गर्न कठिनाई हुने, मष्तिस्क पक्षघात, मांसपेशी समस्या लगायतका कारणले ढाड, हात, गोडा, कम्मर आदिले काम गर्न नसकि ह्विलचियर प्रयोग गर्नुपर्ने व्यक्तिहरु र दुवै हात कुम देखि वा पाखुरा देखि मुनै पुरै नचल्ने तथा कम्मर भन्दा मुनिको भाग गुमाएकाहरुले ‘ख’ वर्गको परिचय पत्र पाएका छन् ।
यस्तो परिचय पत्र पाउनेहरुले मासिक ६०० पाउने ब्यवस्था रहेको पराजुलीले जानकारी दिए । मध्यम अपाङ्गता भएकाहरुलाई पहेँलो पृष्ठभूमिमा ‘ग’ वर्गको अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । कृतिम अङ्ग, विशेष प्रकारका जुत्ता जस्ता सहायक सामाग्रीको प्रयोगबाट सामान्य हिड्डुल लगायत दैनिक क्रियाकलापहरु गर्न सक्ने, घँुडामुनिको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामाग्रीको प्रयोग नगरी पनि सामान्य हिडडुल गर्न सक्ने, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, ओठ तथा तालु फाटेको र तीन फिट भन्दा मुनिका होचा पुड्का व्यक्तिहरुले ‘ग’ वर्गको परिचय पत्र पाउने गाउँपालिकाले जनाएको छ । यस्तो परिचय पत्र पाउनेले मासिक रुपमा भत्ता नपाएपनि अन्य कुराहरुमा सुविधा उपलब्ध गराइने व्यवस्था छ ।
त्यस्तै सामान्य अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो पृष्ठभूमिमा ‘घ’ वर्गको परिचय पत्र प्रदान गरिएको छ । जसमा शारिरीक वा मानसिक सम्बन्धी सामान्य विचलन भएका तर दैनिक जीवनका कामहरु सम्पादन गर्न सक्ने, हात वा खुट्टा केही छोटो भएका, न्यून दृष्टियुक्त व्यक्तिहरु र दुवै गोडाको सबै औँलाका भागहरु नभएकाहरुलाई ‘घ’ वर्गको परिचय पत्र प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ओलीले बताइन् ।
अपाङ्ग परिचय पत्र वितरणका लागि गाउँपालिकाको समन्वय समिति
अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नको लागि गाउँपालिकाले छुट्टै समिति समेत बनाएको छ । अपाङ्गगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७५ को दफा ४२ अनुसार गाउँपालिकाले ‘स्थानीय समन्वय समिति’ गठन गरेको छ । जसमा गाउँपालिका उपाध्यक्ष संयोजक रहने गरी नौ सदस्यिय समितिको गठन गरिएको छ । समितिमा गाउँपालिकाको महिला सदस्यमध्येबाट एकजना, पालिकाभित्रका माध्यमिक विद्यालयका प्रध्यानाध्यापक वा स्रोतब्यक्तिबाट एकजना, गाउँपालिका अध्यक्षले तोकेको स्थानीय स्वास्थ्य चौकी वा अस्पतालको चिकित्सक एकजना, स्थानीय प्रहरी कार्यालयको प्रमुख सदस्य रहने ब्यवस्था छ ।
त्यसैगरि अपाङ्गता भएका व्यक्तिको हक र हितको लागि काम गरेको सँस्थाको प्रतिनिधी, पालिका भित्रका अपाङ्गता भएका व्यक्तिबाट समन्वय समितिले मनोनयन गरेको एकजना महिला, गाउँपालिका उपाध्यक्षले तोकेको कर्मचारी र महिला बालबालिका तथा समाजकल्याण ईकाईको प्रमुख सदस्य सचिव रहेन समतिको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत मधु घिमिरेले जानकारी दिए ।







