Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
साउदीमा १५ वर्ष हराएका गुल्मीका टेकबहादुर घर फर्कंदै, ७० वटा उँट स्याहार्ने जिम्मा थियो उनलाई - Gulminews

साउदीमा १५ वर्ष हराएका गुल्मीका टेकबहादुर घर फर्कंदै, ७० वटा उँट स्याहार्ने जिम्मा थियो उनलाई

जनार्दन बराल
काठमाडौं, २ फागुन । साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् । १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् ।

साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो । त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा पुर्‍याउन दूतावास सफल भएको साउदी अरेबियाका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंहले बताए ।

गुल्मीको तत्कालीन पल्लिकोट गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको बताए । उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो । तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए । साउदी जानेबित्तिकै उनलाई मरुभूमिमा उँट चराउने काममा लगाइयो । कसैलाई सम्पर्क गर्ने मौका दिइएन । १५ वर्षसम्म उनी कहाँ छन् कसैलाई थाहै भएन । अहिले उनका छोरा १६ वर्षको जवान भइसकेका छन् । श्रीमती उनी आउने बाटो कुरिरहेकी छिन् । ‘पहिला–पहिला चिठी लेखेर पठाउँथेँ, तर परिवारले पाए नपाएको थाहा छैन । दूतावासले भेटेपछि भने टेलिफोनमा परिवारसँग कुरा भयो,’ उनी भन्छन् ।
tek bahadur rakaskoti
दुई वर्षअघि साउदीस्थित दूतावासलाई राकसकोटी हराइरहेको भन्ने जानकारी पाएपछि खोजी सुरु गरिएको राजदूत सिंहले जानकारी दिए । ‘रियादभन्दा दुई सय किलोमिटर टाढा हाथर अल वातेन भन्ने ठाउँमा उनी रहेको दुई वर्षअघि पत्ता लगायौँ । त्यो इराकको सिमानानजिक मरुभूमि क्षेत्रमा पर्छ,’ उनले भने । साउदी दूतावासका नियोग उपप्रमुख आनन्दप्रसाद शर्माले त्यहीँ राकसकोटीलाई पत्ता लगाएको जानकारी उनले दिए । त्यहाँ मरुभूमिमा ७० वटा उँट चराउने जिम्मा लिएर उनी बसेका रहेछन् । ‘उनलाई त्यहाँबाट उद्धार गर्ने क्रममा हामी श्रम मन्त्रालय गयौँ, श्रम अदालत पनि गयौँ । उनलाई ७० हजार रियाल (करिब १९ लाख नेपाली रुपैयाँ) नगदसहित दुई–तीन दिनअघि हाम्रो टिमले उसलाई लिएर आयो । उनी अहिले दूतावासमा बसिरहेका छन् । अब उनलाई घर पठाइदिन्छौँ,’ उनले भने ।

दूतावासले पछिल्लो समय एक महिनाअघि उनलाई रियाद ल्याएको थियो । तर, मालिकले २० हजार रियाल मात्रै दिएर पठाएछ । उनलाई श्रम अदालतले कम्तीमा ७० हजार रियाल दिनुपर्ने निर्णय गरेको थियो । दूतावासका द्वितीय सचिव भरत खनाल पुनः हाथर अल वातेन गएर सबै हिसाब चुक्ता गरेर ल्याएका हुन् । यसमा साउदी सरकारले पनि सहयोग गरेको राजदूत सिंहले जानकारी दिए ।

राजदूत सिंहका अनुसार उनी खासै बोल्दैनन् । एकान्तमा बसेको हुनाले हुन सक्छ । उँटका विषयमा उनले विशेषज्ञता हासिल गरेका छन् । कसरी स्याहार गर्ने भन्ने विषयमा सबै जानकारी छ । तर, बाहिरका विषयमा अत्यन्तै कम मात्रै बोल्छन्, कम मात्रै जानकारी छ । घर जाने–नजाने भन्नेमा पनि त्यति मतलब गर्दैनन् । मालिकप्रति उनको खास लगाव रहेको राजदूत सिंह बताउँछन् । ‘मालिकलाई मेरो आवश्यकता छ । ऊसँग पैसा छैन अहिले उँट बेच्ने मौका छैन । अहिले बेच्यो भने सस्तोमा बेच्नुपर्छ । त्यसैले ऊसँग पैसा नभएर आफूले पाउने ५० हजार रियाल दिन नसकेको होला । तपाईंहरू किन कर गर्नुहुन्छ, छोडिदिनुस् भन्छन्,’ सिंहले भने ।

नेपाल फर्कंन खोज्दा पटक–पटक जेल बसेँ : टेकबहादुर राकसकोटी
१५ वर्ष हराएका र १७ वर्षपछि नेपाल फर्कने तयारीमा रहेका कामदार मेरो घर गुल्मी जिल्लाको पल्लीकोट गाविस वडा नं ४ (तत्कालीन) धाप आमडाँडा हो । म यहाँ आएको १६ वर्ष १० महिना भयो । मलाई गोल्डेन इन्टरनेसनल सर्भिसेस म्यानपावर गोंगबुले पठाएको हो । त्यसको कार्यालय गोंगबुमा थियो । त्यसको मालिक दिलीपकुमार श्रेष्ठ भन्ने थिए ।

मलाई साउदी आउनेबित्तिकै उँट चराउने ठाउँ (हाथर अल वातेन) मा लगियो । त्यो मरुभूमि क्षेत्र हो । इराकको सिमानानजिकै पर्छ । त्यसवेलादेखि अहिलेसम्म मैले उँट चराउने काम गरेँ । ७० वटा उँट चराउने जिम्मा मेरो थियो । वरिपरि ५–७ किलोमिटरसम्म अरू कोही हुँदैनथ्यो । ५–७ किलोमिटर पर अर्को मजरा पथ्र्यो । हिँडेर त्यहाँ पुग्न २–३ घन्टा लाग्ने । यहाँ बस्दा कोही नेपाली भेटिनँ । अन्य मजरामा भारतीय र बंगाली थिए । सुरुमा आठ वर्ष काम गरेको भने ज्याला पाएको थिएँ । आठ सालको ज्याला पाएको थिइनँ । दूतावासले दिलाइदियो ।

त्यसवेला हातमा मोबाइल थिएन । फोन गर्न पाउने ठाउँमा पुग्न २–३ घन्टा गाडीमा जानुपथ्र्यो । तर, साहुले जान दिँदैनथ्यो । पहिले चिठी पठाउँथेँ । तर, परिवारले पाए–नपाएको थाहा छैन । मोबाइल भएको भए कुरा हुन्थ्यो । तीन वर्षअघि मैले मोबाइल किनेँ । तर, न नेपालको नम्बर थियो, न टेलिफोनको टावर थियो । अलिमाथि डाँडामा गएपछि टावर आउँथ्यो । दूतावासले सम्पर्क गरेपछि भने घरमा कुरा हुन थाल्यो ।

पहिला पनि नेपाल आउन मन लाग्थ्यो । तर, साहुले जान दिँदैनथ्यो । तीन–चारचोटि भागेर जाने प्रयास गरेँ । तर, पुलिसले समाउँथ्यो, जेल हाल्थ्यो र फेरि साहुकै जिम्मा लगाउँथ्यो । कहिलेकाहीँ लेबर कोर्टसम्म मुद्दा पुग्थ्यो । तर, लेबर कोर्टबाट पनि साहुकहाँ नै फर्काइदिन्थ्यो । त्यो सिलसिलामा पटक–पटक १० दिन १२ दिनसम्म पनि जेल बस्नुपथ्र्यो । त्यसवेला मसँग भएको म्यानपावरको फोन नम्बरमा फोन पनि गरेँ। तर, यो अफिस नै छैन भन्यो । सम्पर्क हुन सकेन ।

दूतावासका सरहरूले मेरो उद्धार गर्नुभयो । अब नेपाल फर्कन्छु । दूतावासका सरहरूले खातामा पैसा आएपछि नेपाल जानुपर्छ भन्नुभएको छ । – नयाँ पत्रिकाबाट ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D