गुल्मीका १३ सय छात्रालाई प्याड बाँडियो, विद्यालयमा प्रभावकारी बन्दै सुरक्षित महिनावारी शिक्षा

टोपलाल अर्याल
गुल्मी, २१ पुस । महिनावारीलाई ‘पाप’ सम्झने मान्यता समाजमा कायमै छ । बहुसंंख्यक महिला महिनावारी भएको समयमा छुट्टै स्थानमा बस्ने परम्परा छ । जसका कारण महिनावारीलाई ‘प्रकृतिले दिएको वरदान’ भनेर बुझाउन निकै कठिन छ । तर, गुल्मीको इस्मा गाउँपालिकाले भने यो धारणा परिवर्तनका लागि गाउँदेखि विद्यालयसम्मको अभियान थालेको छ ।

सबै मावि र निमाविमा सेनिटरी प्याड
इस्मा गाउँपालिकाका १७ सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ । इस्मा गाउँपालिकाको आर्थिक सहयोग तथा सेवा सञ्चार गुल्मीको सहजीकरणमा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको हो । इस्मा गाउँपालिकाअन्तर्गतका पाँच मावि र १२ निमाविका छात्रालाई प्याड वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष विमला खत्री, गाउँपालिकाका शिक्षा संयोजक लालबहादुर कुँवर तथा सेवा सञ्चारका तर्फबाट गंगा खड्काले संयुक्त रूपमा सबै विद्यालयका छात्रालाई प्याड वितरण गरे । एकहप्ते अभियानका क्रममा अहिले मात्रै एक हजार तीन सय ३३ छात्रालाई प्याड वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज पोख्रेलले बताए । गएको वर्ष पनि विद्यालयको आन्तरिक स्रोतबाट केही विद्यालयमा सचेतना र सेनिटरी प्याड वितरण गरिएको थियो ।

Chura-B-Katri
सुरक्षित महिनावारीका लागि हिमालय माविका किशोरीलाई सेनिटरी प्याड वितरण गर्दै इस्मा गाउँपालिका– १ का वडाध्यक्ष चुराबहादुर खत्री ।

पोख्रेलका अनुसार सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहजता ल्याएको छ । छात्राको उपस्थितिमा वृद्धि विद्यालयमा महिनावारी भएपछि छात्राहरूले विद्यालय छाड्ने र चार–पाँच दिन कक्षामा नआउने समस्या थियो । तर, अहिले इस्मा गाउँपालिकाका धेरै विद्यालयमा अध्ययन गर्ने छात्राले कक्षा नछाड्ने गरेको विद्यालयहरूको दाबी छ ।

विद्यालयमा सेनिटरी प्याड प्रयोगले उल्लेख्य रूपमा छात्राको संख्या बढेको ठाढुंगा माविका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले बताए । साथै, महिनावारी हुँदा अपनाउनुपर्ने उपायबारे जानकारी प्राप्त गरेपछि छात्रा खुलेर बोल्ने गरेको उनको भनाइ छ । ‘पहिलेजस्तो महिनावारी भएकै कारण स्कुलमा आउन नसक्ने अवस्था छैन,’ अर्यालले भने, ‘विद्यालयमा सेनिटरी प्याडको राम्रो व्यवस्था गरेका छौँ ।’

महिनावारीमैत्री गाउँपालिका बनाउँछौँ : उपप्रमुख खत्री
इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले अबको केही समयमा महिनावारीमैत्री गाउँपालिका निर्माण गर्ने बताइन् । ‘गाउँपालिकाभित्रका सबै निमावि र माविहरू महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त घोषणा भएका छन्,’ खत्रीले भनिन्, ‘छिटै गाउँपालिकालाई नै महिनावारीमैत्री बनाएर घोषणा गर्ने तयारीमा छौँ ।’ उनले गाउँपालिकालाई मुलुककै पहिलो महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त घोषणा गर्ने लक्ष्य रहेकोसमेत जानकारी गराइन् ।

सेवा सञ्चारमार्फत विगत पाँच वर्षदेखि नियमित अभियानकै रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको सेवा सञ्चारकी अध्यक्ष एवं प्रशिक्षक गंगा खड्काका अनुसार विद्यालयमा इन्सिनेटरसहितको छात्रा शौचालय, छात्राहरूको महिनावारी हेर्ने ‘फोकल’ शिक्षिकाको व्यवस्था गरिएको छ । साथै, सञ्जाल गठन, सेनिटरी प्याड वा सुरक्षित सामग्रीको नियमित व्यवस्था र सुरक्षित महिनावारीको विषयमा अभिमुखीकरण कार्यक्रमलगायत सूचक पूरा गरेपछि विद्यालयलाई घोषणा गरिएको खड्काले बताइन् ।

हालसम्म जिल्लाभर ३७ विद्यालयका छात्रालाई यसबारे जानकारी गराइसकिएको छ ।’ महिनावारी भएको वेला छात्राहरू उपस्थित नहुने, बीचमै कक्षाकोठा छाडेर घर जाने र समस्या खुलेर नराख्ने अवस्था पाइएकाले कार्यक्रमका लागि पहल गरिएको इस्मा गाउँपालिकाका शिक्षा संयोजक लालबहादुर कुँवरले जानकारी गराए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ