गरिवको निउरो र अम्बामै बार्गेनिङ गर्छन् तम्घास बजारका साहु

डोके व्यापारको भरमा कुमाल परिवारको दशै

टोपलाल अर्याल
गुल्मी, १५ असोज । दशैका लागि घर फर्किनेहरुले बजार भरिन थाले । साच्चिकै दशै आएकाहरु किनमेल, घुमघाम र मनोरञ्जनमा व्यस्त छन् । दशैले गाउँको बुढो घरलाई पनि सिँघारिने चटारो छ । तर, इस्मा गाउँपालिका ५ की २९ बर्षीया माया कुमाल जोहोकै लागि डोकोमा अम्बा र डौडे निउरो बोकेर तम्घास बजार चहार्न बाध्य छन् । गाउँमा एक माना फल्ने बारी छैन् । मनकारीले बनाइदिएको ओत छ । तर, जोहोको अर्को उपाय कुमाल परिवारसंगै छैन् ।

मायालाई दशैको मिठोचोखोकै भन्दा एक छाकको बिरलो बढि छ । उनले एक दशकदेखि अम्बा, डौडे निउरो र सालका पात लगायतका घरेलु उत्पादन बिक्री गर्न बजार पुग्छिन् । उनले ६ महिनाको बच्चा हातमा र डोकोभरि अम्बा र निउरो बोकेर पनि व्यापार गरिन् । डोके व्यापारको भरमा ६ जनाको परिवार चलाएकी छन् । नजिकै डौडे पाइँदैन् । डौडेकै लागि करिव तीन घण्टा हिडेर मालिका गाउँपालिकाको अर्जे र छाप पुग्नुपर्ने अवस्था रहेको छ । समुह बनाएर कुमाल परिवार घरबाट बिहान चार बजे निउरो टिप्न हिड्छन् ।

दिनभर जंगल डुलेपछि एक डोका अर्थात २५ मुठा डौडे पुग्छ । सोहि दिन बजार पुग्न सम्भव छैन । अर्को दिन फेरि चार घण्टा हिडेर तम्घास बजार पुगेपछि एक मुठा डौडे निउरोको ४० देखि ४५ पर्छ । कतिपय गाडीमा पनि बजार पुग्छन् । मायाका अनुसार गाडीमा गए भाडा कटाएर सात÷आठ सय मात्रै कमाई हुन्छ । दुई दिनको मेहेनतले पाँच दिन खाने कुरा बोकेर घर फर्किने गरेको कुमालले बताइन् । ‘तीन घण्टा हिडेर जंगल र चार घण्टा हिडेर बजार पुगेपछि एक मुठा डौडेलाई ४५ रुपैयाँ पर्छ । जंगली जनावरको डर र थकान उस्तै हुन्छ,’उनले भनिन,‘बिहान साँझको जोहोकै लागि दुख झेलेका छौ ।’

बजारका साहुको बार्गेनिङले चित्त फाट्छ

इस्मा गाउँपालिका ५ रातामाटाकी ४५ बर्षीया भिमकला कुमालले अम्बा र सालका पात बेच्न थालेका दुई दशक भए । १५÷२० बर्षबाटै डोकोमा अम्बा बोकेर चार घण्टाको बाटो तम्घास बजार पुग्थिन । आफ्नैमा अम्बा छैनन् । गाउँमा खोजेका एक डोका अम्बा बोकेर दिनभर बजार घुमेपछि १२÷१३ सय पैसा हुन्छ । जसले दशैको लागि चामल, नुन, तेलको जोहोसंगै फरिया फेर्ने रहर पुरा गर्ने हो ।

अहिले बजारमा १० रुपैयाँको चार वटा अम्बा आउँछन् । एक मुठा सालको पातको मुठालाई ५० देखि ६० रुपैयाँ पर्ने गरेको छ । त्यहि पनि लुकाउने र बार्गेनिङ गर्नेहरुको चपेटामा उनीहरु छन् । ‘घण्टौ गाउँ र जंगल चहारेर बजार पुराएका अम्बा, निउँरो र पातमा बजारका साहुहरुले बार्गेनिङ गर्दा चित्त फाटेर आउँछ’, उनले गुनासो गरिन्, ‘सात तल्ले महलमा बस्ने बजारियाहरु धन र मन दुवैमा कन्जुस छन् ।’ श्रीमानले अर्को बिहे गरेपछि भिमकलासंग तीन छोरासहितको पारिवारीक बोझ थपिएको छ । तर, अर्थोपार्जनक कुनै आधार छैन । मेलापातसंगै मौषमी व्यापारले परिवार थेगेकी छन् ।

इस्मा गाउँपालिका ३ का लिल बहादुर कुमाल पनि श्रीमतिसहित अम्बा र निउरो बेच्न तम्घास बजार आउँछन् । दशै ढिप्किएपछि गाउँमा खेतबारीको काम खासै हुँदैन । सोही मौकामा लेक गएर डौडे निउरो र बेसीमा अम्बा तथा सालका पात टिपेपछि बजार कुद्छन् । श्रीमान–श्रीमतिले बोकेका दुई भारीनै बिक्रि गरेर करिव पन्ध्र सयदेखि दुई हजार कमाई हुने भएकाले दशैको मिठो चोखो र केटाकेटीलाई नानाचाचा हुने लिल बहादुरले बताए । सोहि गाउँका ५९ बर्षीया कृष्ण कुमालले १५ बर्षदेखि डोके व्यापार गर्थे । अहिले उमेर र रहर छैन् । उनले पहिले सडक नहुँदा डोकोभरि अम्बा बोकेर कम्मर–कम्मरको खोला तरेर तम्घास पुगेको अनुभव सुनाए ।

बालबालिका दशैको खुसी खोज्न अम्बा बोकेर सडकमा

इस्मा गाउँपालिका ६ का १५ बर्षीय किसान कुमाल बिद्यालयमा दशै बिदा भएपछि दैनिक मदनभण्डारी राजमार्गमा अम्बा बेच्न बस्छन् । उनले बुल्म प्राबीको कक्षा ५ मा अध्ययन गर्छन् । अहिले बिद्यालय बन्द भएकाले बिहानदेखि बेलुकासम्म सडक छेउँमा अम्बा बेच्न व्यस्त छन् । गाउँघर अम्बा भएकाले खरिद गर्नु पर्दैन् । एक थैला अम्बाको ५० पर्छ । दिनभरमा तीन÷चार सयको अम्बा बिक्री गर्ने किसानले सुनाए । दशै अवधीभर करिव पाँच हजारको अम्बा एक जनाले बिक्री गर्ने गरेका छन् । उनले तीन÷चार बर्षदेखि दशैमा अम्बा बिक्री गर्ने गरेका छन् । बुल्म गाउँका १०÷१५ जना बालबालिका दशै खर्चको जोहोकै लागि अम्बा बिक्री गर्न सडकमा बस्छन् । सोहि गाउँका १२ बर्षीय होमा कुमालले कापी कलमसंगै दशैमा खर्च गर्न अम्बा बिक्री गरेको बताए ।

१५ दिने गाउँ घुम्ने कुमाले पेशा अहिले संकटमा

गुल्मीमा सवैभन्दा धेरै कुमाल समुदाय इस्मा गाउँपालिकामा छन् । उनीहरुको पुख्र्यौली पेशा माटाका भाँडा बनाउने भएपनि अधिकांश परिवार पुरानो पेशाबाट बिस्थापित भएका छन् । ६५ बर्षीय रुद्र बहादुर कुमाल माटाका हाँडी, घैटा र पैनी लगायतका सामान बिक्री गर्न गुल्मीसहित अर्घाखाँची र प्युठानसम्म पुग्थे । त्यो बेला सामग्री अनुसारका खाद्यान्य दिने बढि हुन्थे । करिव १५ दिनपछि घर फर्किएको अनुभव रुद्र बहादुरसंग छ । तर, अहिले उनले माटाको काम गर्दैनन् । पछिल्लो पुस्ता कसैले पनि त्यो काम नगरेको कुमालले गुनासो गरे ।
सोहि गाउँका ८८ बर्षीय दल बहादुर कुमालसंग पनि अन्नको लागि माटाका भाँडा बोकेर गाउँ–गाउँ घुमेका स्मरण छ । एक दशकदेखि गाउँमै माटाका भाँडा बनाउने बस्तु सेरामिक्स संचालनमा छ । तर, त्यो उपयोग गर्ने युवाहरु गाउँमा छैनन् । स्थानीय उजेला कुमालको दम्पतीले मात्रै पेशालाई निरन्तरता दिएका छन् । उनले खुत्रुके, दिया, फुलदानी, धुपौरा, आरी, हाडी र मटुला बनाउँछिन् । भने श्रीमान आले बहादुर कुमालले हाँडी, घैँटा लगायतका ठुला सामग्री बनाउँछन् । घरमै आएर सामग्री लैजाने भएकाले बजारको कुनै समस्या नभएको उजेलाले बताइन् । उनले दशैको सिजन सुरु भएपछि मात्रै १५÷२० हजारको सामग्री बेचेको बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D