गुल्मी, १५ भदौ । आगामी मंंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चर्चा सुरु भएको छ । बजारका चोक, चिया पसल लगायतका स्थानमा निर्वाचनको चर्चा हुन थालेको छ । अहिलेको निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ लाई विशेष महत्वका साथ हेरिएको छ । सोही क्षेत्रमा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्णराज विष्टले लगातार दुई पटक एवम् हालसम्म तीन पटक जीतेकोले पनि विशेष चासोका साथ हेरिएको हो ।
अहिले एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको छ । काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरु एकठाउँमा उभिदा निर्वाचनमा विष्टसँग भिड्ने जो कोहीको पनि रोचक प्रतिस्पर्धा हुनसक्छ । प्रतिनिधिसभामा एमालेबाट विष्ट नै निर्वाचनमा होमिने लगभग पक्कापक्की छ । उनले ०५६, ०७० र ७४ सालको निर्वाचनमा जित हाँसिल गरिसकेका छन् । ०६४ सालमा भने माओवादीले जितेको थियो । पाँच दलीय गठबन्धनमा उक्त क्षेत्र कुन पार्टीको भागमा पर्छ भन्ने यकिन छैन ।
यदि माओवादीको भागमा प¥यो भने भिमकान्त भण्डारी उम्मेदवार बन्ने सम्भावना छ । प्रचण्ड निकट मानिने उनको काँग्रेस र एकीकृत समाजवादीका केन्द्रीय नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । गएको स्थानीय तहको निर्वाचनमा गुल्मीमा सकारात्मक नतिजा ल्याउन उनले भूमिका खेलेका कारण उनी उम्मेदवार बन्न सक्छन् । यद्यपी माओवादीबाटै जिल्ला संयोजक बुद्धि जिसीको पनि सम्भावना रहेपनि उनले प्रदेशमा उम्मेदवारी दिने सम्भावना छ । उनी ०७४ को निर्वाचनमा पनि संघमै सिफारिसमा परेपनि तत्कालिन बाम एकताका कारण उनले टिकट पाएका थिएनन् ।
एकीकृत समाजवादीको भागमा गुल्मी –२ मा प¥यो भने पूर्वमन्त्री एवम् एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री उम्मेदवार बन्ने पक्कापक्की छ । गुल्मीमा एकमात्र संघीय निर्वाचन क्षेत्र पनि समाजवादीको भागमा प¥यो भने २ नम्बर क्षेत्रमा झाँक्री उम्मेदवार बन्ने निश्चित जस्तै छ । उक्त क्षेत्र यदि काँग्रेसको भागमा प¥यो भने पार्टीका लुम्बिनी प्रदेश उप–सभापति एवम् पूर्व गुल्मी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना छ । यद्यपी काँग्रेसबाटै दामोदर भुसालको पनि चर्चा रहेपनि टिकट नै पाउने सम्भावना भने कम रहेको काँग्रेस स्रोत बताउछ । काँग्रेसको भागमा गुल्मी –२ परे संघमा अथावा नपरे प्रदेशमा भएपनि श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना छ ।
०७४ सालमा एमाले र माओवादीको बाम गठबन्धन भएको थियो । ०७४ मा गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार गोकर्ण विष्ट ३४ हजार ६१८ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्ती काँग्रेसका चन्द्र बहादुर केसीले २० हजार १५७ मत ल्याएका थिए । एमाले फुटेर अहिले एकीकृत समाजवादी बनेको छ । समाजवादीका अध्यक्ष, सचिव, इन्जार्च लगायतका नेताहरु क्षेत्र नम्बर २ कै हुन् । क्षेत्र नम्बर २ प्रदेश क मा एमालेका खड्ग बहादुर खत्री १६ हजार १६५ एवम् प्रदेश सभा ख मा माओवादीका दिनेश पन्थी १७ हजार ६०१ मतसहित विजयी भएका थिए ।