२६ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सो गाउँपालिकामा नेपाली कांग्रेस र एकीकृत सामाजवादी बिच चुनावी गठबन्धन भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच चुनावी तालमेल गरेका छन् । सत्तापक्षका दलहरु बिच जिल्ला भर चुनावी गठबन्ध गर्ने भनिएपनि धुर्कोट गाउँपालिकामा भने फरक दल बिच गठबन्धन गरेर प्रतिस्पर्धामा छन् । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर निर्वाचनमा गएका थिए । नेकपा एमाले एक्लै उम्मेदवार उठाएको थियो ।
त्यस निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्षमा निर्वाचित भएको थियो । तर यसपटक फरक खालको गठबन्धन भएको छ । जिल्लाका अन्य स्थानीय तहमा माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर उम्मेदवार उठाएका छन् । धुर्कोट भने फरक गठबन्धन भएको छ ।
यस गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस बलिया शक्ती हुन् । धुर्कोटमा ०७४ सालको मतअनुसार तीनवटा पार्टी एक्ला एक्लै निर्वाचनमा गए नेकपा एमाले पहिलो शक्तीका रुपमा देखिन्छ । नेपाली कांग्रेस दोस्रो शक्ती र तेस्रोमा माओवादी केन्द्र देखिन्छ । यस गाउँपालिकमा गरिएको गठबन्धन अनुसार नेकपा एमाले यसपटक पनि अध्यक्ष पदमा नआउने भएको छ ।
जसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वतनमान गाउँपालिका अध्यक्ष भुपाल पोखरेल पुनःअध्यक्ष पदका उम्मेदवार बनेका छन् भने एकीकृत सामाजवादी र नेपाली कांग्रेस बिच तालमेल अनुसार नेपाली कांग्रेसका महेन्द्र भण्डारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छन् । उपाध्यक्ष पदमा नेकपा एमालेबाट सीता गिरी र एकीकृत सामाजवादीबाट चन्द्रबहादुर सुनार उपाध्यक्ष पदका उम्मेदवार हुन् । यसपटक नेपाली कांग्रेस अध्यक्ष पद आफनै कोल्टामा ल्याउने दाउमा रहेको छ भने माओवादी केन्द्रले पनि पुन अध्यक्ष पद जित्नै पर्नेछ ।
उपाध्यक्ष पद पाएको नेकपा एमालेलाई भने प्रमुख पद नपाएपछि त्यति उत्साह छैन् । आफ्नो पकट क्षेत्र रहेको एमालेले प्रमुख पद अर्कैलाई दिने गरिएको सम्झौताले पनि अघिल्लो निर्वाचनमा जस्तो उत्साह एमालेलाई छैन् । अघिल्लो निर्वाचनमा कांग्रेससँग मिलेर एमालेका उम्मेदवार पराजित गराएको पार्टी नेकपा माओवादीसँग मिल्दा पनि मतका आधारमा घाटा भएको आँकलन उनिहरुको रहेको छ । निर्वाचनको मिति नजिकीएसँगै उम्मेदवारहरु आफना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा व्यस्त छन् । गठबन्धन गरेर बलिया बनेका उम्मेदवारहरुले मत तान्न आफना लोकप्रिय ऐजेन्डाहरु मतदाता समक्षा प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र भण्डारीका संकल्प
स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी महेन्द्र भण्डारी धुर्कोट गाउँपालिका वडानम्बर–५ निवासी हुन् । २०२५ साल असार २५ गते जन्मेका भण्डारीले २०३६ साला नेपाल बिद्यार्थी संघ गुल्मीको सदस्यता लिएका थिए ।
सानैदेखि नेपाली कांग्रेसमा आस्था बोकेर हिडेका भण्डारी २०४० सालमा उसएलसी दिएर नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य बनेका थिए । २०४१ सालमा स्वबियू सभापति बनेका भण्डारी नेपाल बिद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष समेत बनेका थिए । २०५२ सालदेखि पटक–पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेका थिए । उनि हाल पनि महाधिवेशन प्रतिनिधी हुन् ।
बालकदेखि बृद्धसम्म लोकप्रिय भण्डारी विकास प्रेमी नेताको रुपमा पनि परिचित छन् । भण्डारीले आफु निर्वाचित भएपछि गाउँपालिकामा न्याय, सुशासन र विकासको अनुभूति दिलाउने संकल्प गरेका छन् । शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई, अडाउनेछौं धुर्कोट गाउँपालिका छोडेर बसाईसराईको जमर्को गरेका गाउँवासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गर्ने लक्ष्य उनले अगाडी सारेका छन् । ढिलासुस्ती र भ्रष्टाचारको अन्त र समानता स्वतन्त्रता, स्वराजको अनुभूति दिलाउने उनको अठोट रहेको छ ।
सुन्दर, शान्त, समृद्ध र समुन्नत धुर्कोट गाउँपालिका बनाउने भण्डारीको योजना रहेको छ । धुर्कोटमा शैक्षिक केन्द्रको रुपमा विकास गर्न पालिकाका कार्यक्रमहरू मध्ये सबैभन्दा उच्च प्राथमिकता दिने उनको घोषणा पत्रमा उल्लेख छ । स्वास्थ्य केन्द्रहरूमा चिकित्सक सेवा, आवश्यक यन्त्र उपकरण तथा जनशक्तिको व्यवस्थापनमा सहयोग पुर्याइनेछ संकल्प गरेका छन् । शारीरिक रुपमा अशक्त र ७० बर्ष भन्दा माथिका नगरबासीहरूको घरमै पुगी आवधिक रुपमा नियमित स्वास्थ्य परीक्षण, परामर्श र आधारभूत स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गरिने भण्डारीले बताए ।
छल्दीखोला–विचित्र गुफाको पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै नीजि क्षेत्रसँग साझेदारी गरी पर्यटकीय ड्याम निर्माण गरिने भण्डारीले संकल्प गरेका छन् । लुम्बिनी–पाल्पा–रिडी–रेसुङ्गा–विचित्रगुफा–कंकेदेउराली–अस्कुना–स्वर्गद्वारी धार्मिक मार्गको प्रवर्द्धन गरिने अर्को महत्वपूर्ण संकल्प गरेका छन् । लुम्बिनी–पाल्पा–रानीमहल–रिडी–रेसुङ्गा–विचित्रगुफा–ओखलढुङ्गा–सन्धिखर्क–सुपादेउराली–तिलौराकोट धार्मिक मार्गको प्रवर्द्धन गरिने लक्ष्य भण्डारीको छ । माटो सुहाउँदो कृषिलाई प्राथमिकता दिदै नयाँगाउँ–पिपलधारा–धनमुढा–हाडहाडे क्षेत्रलाई सुन्तला÷कागती जोनको रुपमा विकसित गरिनेछ र उत्पादनको बजारीकरणका लागि सहजीकरण गरिने भण्डारीले बताए ।
बाँदर आतङ्क कम गर्न विशेष कार्यक्रम संचालन गरिने भण्डारीको चुनावी ऐजेन्डा रहेको छ । किवी, एभोकार्डो, ड्रागन, स्ट्रबेरीजस्ता नयाँ प्रजातीका फलफूलहरूको उत्पादन र बजारीकरणमा जोड दिइने एजेन्डा ल्याएका छन् । ‘एक घर–एक धारा’ कार्यक्रमलाई सम्पन्न गरी सुलभ दरमा खानेपानी वितरण गरिने भण्डारीको चुनावी अर्को ऐजेन्डा रहेको छ । ‘सफा र स्वच्छֹ’ गाउँ अभियान संञ्चालन गर्ने लक्ष्या लिएका छन् । पालिका क्षेत्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने अन्य महत्वपूर्ण सडकहरूको स्तरोन्नति तथा नाली निर्माण गरिने चुनावी ऐजेन्डा भण्डारीका छन् । समाजमा विद्यमान रहेको जातीय छुवाछुत कुप्रथा अन्त्यको लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने उदेश्यले लिएका छन् ।
जोखिममा रहेका समुहहरूको संरक्षण (वृद्ध, महिला, अशक्त, सिमान्तकृत) का कार्यक्रमहरू सञ्चालन गरिने भण्डारीले बताए । सात रङ्गहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं यस सङ्कल्प–पत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र सङ्कल्पित सपनाहरु गाउँपालिकावासीहरूको सद्भाव, माया र रोजाईले अक्षरसः पूर्ण हुने कुरामा विश्वस्त हुँदै कार्यान्वयनको प्रतिवद्धता अध्यक्ष पदका उम्मेदवार भण्डारीले गरे ।