अनिल खत्री
२९ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । मंगलवार तम्घासमा बसेको (नेकपा) एमाले रेसुङ्गा नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा पाण्डेयलाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको (नेकपा) एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले बताए ।
२०३५ सालबाट बिद्यार्थी राजनितिबाट राजनितिमा प्रबेश गरेका पाण्डेय नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य हुन् । निजामति कर्मचारी संगठनको केन्द्रिय प्रतिनिधी रहेका पाण्डेय इन्जिनियर हुन् ।
उपप्रमुख पदमा भने नाम सिफारिस भएको छैन् । त्यसका लागि छलफल भइरहेको अध्यक्ष पोखरेलले बताए । मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालले अध्यक्ष उपाध्यक्ष जीतेको थियो ।
नगरमा तीन पार्टी छुट्टाछुट्टै निर्वाचनमा गएका थिए । रेसुङ्गा नगरमा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् ।
हालसम्म मुसिकोट नगरपालिकामा (नेकपा) एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले हरिनारायण सापकोटालाई उम्मेदवार बनाएको छ । मुसिकोट नगरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगर प्रमुख उपप्रमुखमा निर्वाचित भएका थिए ।
दुबै दलबाट उपप्रमुख पदमा उम्मेदवार बनेका छैनन् । त्यस्तै धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष समेत रहेका भुपाल पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उनि दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् । यस गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर माओवादी केन्द्रबाट भुपाल पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै मालिका गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका दल बिच तालमेल गरेर उम्मेदवार छनोट गरेका छन् । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट देबिराम अर्याललाई उम्मेदवार बनाएको छ ।
यो पालीकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएको थियो । अन्य पालिकामा भने सत्ता गठबन्धनका दलहरु बिच तालमेल भएको छैन् । उम्मेदवार पनि छनोट गर्न सकेका छैनन् ।