टोपलाल अर्याल
गुल्मी, २५ चैत । चौथो गुल्मी महोत्सव सुरु भएको छ । गुल्मी उद्योग बाणिज्य संघको आयोजनामा संचालन गरिएको चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे । महोत्सवलाई संबोधन गर्दै खाँणले लामो समय कोभिड संक्रमणले थलिएको व्यापार व्यावसायलाई महोत्सवले गति दिने बिश्वास व्यक्त गरे । राजनैतिक स्थायित्व र शान्ति बिना समृद्धि नहुने भएकाले त्यसैको लागि समयमै स्थानीय तहको चुनाव गर्न सरकार लागि परेको बताए ।
सरकारले निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन सवै शक्तिको प्रयोग गरिरहेकाले ढुक्क हुन सवैलाई मन्त्री खाँडले आग्रह गरे । महोत्सव २५ चैतदेखि ४ बैशाखसम्म महोत्सव संचालन हुने वाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले जानकारी दिए । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास ः शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ महोत्सवको मूल नारा रहेको छ । महोत्सवमा स्थानीय महिला समुह, संघ–संस्था र मगर समुदायबाट झाँकी तथा शोभायात्रा निकालिएको थियो । महोत्सवको व्यावस्थापनको लागि ३४ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा आम नागरिकको लागि ६० र विद्यार्थीको लागि ४० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । उनले बाणिज्य संघले महोत्सवबाट हुने मुनाफाको ४० प्रतिशत गुल्मीको पर्यटक क्षेत्रमा खर्च गर्ने बताए ।
महोत्सवमा दुई सय स्टल
गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक तारा प्रसाद भुसालका अनुसार महोत्सव स्थलमा दुई सय विभिन्न प्रकारका स्टल रहनेछन् । तर, आधा स्टल खाली छन् । महोत्सवमा कृषि प्रदर्शनी र ब्यापारिक र होटल लगायतका स्टल रहेका छन्् । महोत्सवमा कृषि र घरेलुका विभिन्न उत्पादनको प्रदर्शनी राखिएको छ । जसका लागि १५ वटा निशुल्क स्टल रहेका छन । गुल्मी महोत्सवमा झण्डै छ दर्जन वढि बिभिन्न बिद्याका राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुती रहने छ ।
मेलामा राष्ट्रिय स्तरमा चर्चित गुल्मेली लोक दोहरी गायक एवं सर्जक बोमबहादुर कार्की राजु परियार, बद्रि पंगेनी, पशुपति शर्मा लगायतका लोक दोहरी गायकले मेलामा आउने गुल्मी महोत्सव साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले जानकारी दिए । त्यस्तै सुगम संगित तर्फ शिव परियार, रचना रिमाल र कमल खत्री लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । त्यो संगै १२ वटै स्थानीय तहमा रहेका भैलो, सोरठी, कृष्ण चरित्र, मारुनी लगायतका साँस्कृति झाँकी एवं नृत्यहरु प्रस्तुत हुने कंडेलले बताए ।