अब्बल बन्दै महिला: यि हुन् गुल्मीका महिला कार्यालय प्रमुखहरु

टोपलाल अर्याल
गुल्मी, २३ चैत । गुल्मीमा अहिले चार जना महिला कार्यालय प्रमुख रहेका छन् । निर्वाचन अधिकृत माया कुवंर, हुलाक अधिकृत प्रमिला भण्डारी, कर अधिकृत जमुना गिरी र नापी अधिकृत सन्ध्या ढकाल । कुवंर, भण्डारी र गिरी तम्घासकै तीन कार्यालयका प्रमुख हुन् । नापी कार्यालय मजुवामा कार्यालय प्रमुख ढकाल छन् ।

जिल्लाका बैठक, गोष्ठी र समारोहहरुमा तीन जना महिला कार्यालय एउटै मञ्चमा हुन्छ् । जिल्लाका अधिकांश कार्यालयमा कार्यालय प्रमुख पुरुष छन् । हरेक बैठक र गोष्ठीहरुमा प्राय पुरुष कार्यालय प्रमुख उपस्थित हुन्छ्न । सोहि मानसिकताको कारण कार्यक्रममा मात्रै नभएर कार्यकक्षमै महिला कार्यालय प्रमुख देख्दा सेवाग्राहीदेखि नेतासम्मले समेत अनौठो मान्छन् । नेकपा एमालेका नेता गणेश श्रेष्ठले कार्यक्रममा चार कार्यालय प्रमुख महिला उपस्थितीले निकै खुसी लागेको बताए । ‘चार जना कार्यालय प्रमुख उमेरले कम भएपनि प्रतिस्प्रर्धाले कार्यालय प्रमुख हाँक्नुभएको छ,’उनले भने,‘यो देशमा व्यवस्था परिवर्तनको राम्रो उदाहरण हो ।’ निर्वाचन अधिकृत माया कुवंर र हुलाक अधिकृत प्रमिला भण्डारी गुल्मेली हुन् । कर अधिकृत जमुना गिरी छिमेकी जिल्ला बाग्लुङ्गर नापी अधिकृत सन्ध्या ढकाल स्याङजाकी हुन् ।

प्रमिला भण्डारी: हुलाक अधिकृत

प्रमिला भण्डारी उमेरले ३२ बर्षकी भइन् । उनको घर छत्रकोट गाउँपालिका १ हुँगा हो । गत असोजदेखि जिल्ला हुलाक कार्यालय गुल्मीमा कार्यालय प्रमुखको रुपमा कार्यरत छन् । भण्डारी ०६९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनी यसअघि तत्कालिन भूमी सुधार तथा व्यवस्थापन मन्त्रालय, राष्ट्रिय योजना आयोग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयहुँदै गुल्मी आएको बताइन् । भण्डारीको श्रीमान पनि उपसचिव छन् । परिवार पनि निजामतीमय छ । दुई जना जेठाजुहरु सह–सचिव छन् । त्यसैगरी जेठानी दिदीहरु र नन्दहरु तथा उनका श्रीमानहरु पनि निजामती सेवामा सेवारत छन् । उनले आफु निजामती सेवाकै परिवेशमा हुर्केकेको प्रतिक्रिया दिइन् । बुबा नरहरि भण्डारी पनि उपसचिवबाट अनिवार्य अवकास भए । बुबाको प्रेरणाले गर्दा आफु आजको स्थानमा उभिएको भण्डारीको प्रतिक्रिया दिइन् । उनले आफ्नो जन्म भूमिमा रहेर सेवा गर्दा अझ बढी गर्वको अनुभूति भएको बताइन् । ‘निजामती सेवामा प्रवेश गरिसकेपछि सरकारले जुनसुकै स्थानमा खटाए पनि आफ्नो पेशागत आचरणमा रहेर काम गर्नु सेवाको धर्म हो,’उनले भनिन,‘जन्मभूमिको मायाले थप कर्तव्यबोध बनाएको छ ।’

माया कुवंर: निर्वाचन अधिकृत

रेसुंगा नगरपालिका २ की माया कुवंर । निर्वाचन कार्यालय गुल्मीमा फागुन ०७७ देखि कार्यालय प्रमुखको रुपमा कार्यरत छन् । ३४ बर्षीया कुवंर ०७४ शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरिन् । उनी यसअघि म्याग्दीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिइन् । कुवंरका श्रीमान नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक (डिएसपी) पदमा कार्यरत छन् । उनी परिवार व्यावस्थापन र आफु हुर्केको जिल्लामा काम गर्ने चाहानाले गुल्मी आइन् । निर्वाचन बर्ष, महिला र जोखिमका हिसाबले कार्यसम्पादनमा कुवंर माथि थुप्रैका आशंका रहेका छन् । तर, पहिलेको गृह प्रशासनको अनुभव र बिशेष जिम्मेवारीका कारण चुनौतीहरुको व्यावस्थापन गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आत्मविश्वास तथा उत्साहका साथ अगाडी बढेको कुवंरले प्रतिक्रिया दिइन् । ‘पदिय दायित्व निर्वाह गर्न लिङगका आधारमा फरक क्षमता हुँदैन । त्यो देख्नु पुर्वाग्रही सोँच हो,’उनले भनिन,‘जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्बाह गर्नसक्नेमा पूर्ण विश्वस्त छु ।’

जमुना गिरी: कर अधिकृत

जमुना गिरी करदाता सेवा कार्यालय गुल्मीको कार्यालय प्रमुख हुन् । उनी ५ फागुन ०७८ बाट गुल्मीमा कार्यरत छन् । असार ०७६ मा नायव सुब्बा पदबाट गिरी निजामति सेवामा प्रवेश गरेकी हुन् । काठमाण्डौ जिल्ला अदालतमा कार्यरत रहँदै गदाए लोकसेवाबाट शाखा अधिकृतमा सिफारिस भएकोमा आन्तरिक राजश्व विभागबाट गुल्मी आएको गिरीले बताइन् । उनले जुन स्थानमा भएपनि आफ्नो पदको आचरणमा रहेर कार्यसम्पादन गर्ने भएकाले बाहिरी जिल्लामा केहि फरक अनुभूति नभएको प्रतिक्रिया दिइन् । उनले कार्यालय प्रमुखको रुपमा काम गर्न थालेका धेरै भएको छैन् । उनले बैठक तथा गोष्ठीहरुमा पुरुष कार्यालय प्रमुखहरुबाट राम्रो सहयोग र दृष्टिकोण पाएका बताइन् । बरु कहिलेकाँही सेवाग्राहीले बहिनी र नानी भनेर बोलाउँछन् । ‘मलाई केहि सेवाग्राहीले बहिनी र नानी भनेर बोलाउँछन् । यदि मेरो ठाउँमा पुरुष कार्यालय प्रमुख भए सर भन्थे,’उनले भनिन,‘त्यो पनि बिस्तारै सोच परिवर्तन हुदै जान्छ ।’ कार्यालयको अन्य भूमिकाभन्दा प्रमुख भएपछि अन्तिम जवाफदेही बन्नुपर्ने, आन्तरिक र बाह्य कार्यालय समन्वय, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई ख्याल गर्नुपर्ने गिरीले बताइन् । उनले कर कार्यालय राज्यको अर्थ प्रशासनसंग प्रत्यक्ष जोडिएकाले चुनौतीकैबिच ऐन कानुन र निर्देशिका अनुसार काम गर्ने प्रतिक्रिया दिइन् ।

सन्ध्या ढकाल: नापी अधिकृत

सन्ध्या ढकाल नापी कार्यालय मजुवा गुल्मीको प्रमुख हुन् । आधिँखोला गाउँपालिका स्याङजाकी ढकाल उमेरले २५ बर्षकी भइन् । उनी गत भदौ २० गतेबाट शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरिन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल, काभ्रेमा २ महिनाको सेवाप्रवेश तालिम पश्चात नापी कार्यालय मजुवा बजारमा आएकी छन् । नयाँ ठाउँ, नयाँं मान्छेसंग काम गर्न चुनौतीपुर्ण तथा उत्साहको अनुभूती भएको ढकालले बताइन् ।

कार्यालयमा सेवाग्राही तथा स्थानीयले सकरात्मक उत्प्रेरणा र प्रोत्साहन गर्ने गरेको ढकालको भनाई छ । उनी रिक्त दरबन्दीमा रोजेरै गुल्मी आइन् । निजामती पृष्ठभुमिकी ढकालका बुवा उच्च सरकारी वकिल कार्यालय बाग्लुङ्गको कार्यालय प्रमुख तथा आमा मालपोत कार्यालय कास्कीमा नायब सुब्बा पदमा कार्यरत छन् । भौगोलिक विकटता भएपनि यहाँका मानिसहरुको खुल्ला ह्ृदयको कारण कुनै पनि काम गर्न र गराउन सरल रहेको तथा भौगोललिक वनावट तथा स्थानीय स्तरमा बोलिने बिभिन्न किसीमका भाषा, बोलीको लबज÷तरिका फरक भएकोले नयाँ देख्ने र सिक्ने अवसर प्राप्त भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D