gulminews logo
बुधबार, २०८१ आश्विन ३०

रेसुङ्गा क्षेत्रमा ढकमक्क फूल्यो लाली गुराँस

अनिल खत्री
२३ फागुन, गुल्मी । यतिबेला गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा लालीगुराँस फूलेर रमणिय स्थल बनेको छ । लाली गुराँस फूल्ने मौसम सुरु भएसँगै गुराँस फुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल पनि बढेको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फूलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने गर्नाले चहलपहल बढने गरेको छ । प्रसिद्ध धार्मिक, ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा गुराँस फूलेकाले चहलपहल बढेको हो । रेसुङ्गा क्षेत्रमा फागुन, चैत, बैशाख महीना सम्म गुराँस फूल्ने गर्दछ । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गामा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ ।

रेसुङ्गा क्षेत्रमा धार्मिकसँगै लाली गुराँसले पनि निकै रमाईलो मय बनेको अघाखाँचीबाट रेसुङ्गा पुगेका बिनिराम घर्तिक्षेत्रीले बताए । उनले रेसुङ्गा क्षेत्रको बनै भरि फूलेका लाली गुराँसले जो कोहिको पनि मन लोभ्याएको बताए । रेसुङ्गा क्षेत्रमा लाली गुराँसका कारण दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्धि हुँदै जान थालेको मन्दिरका पुजारी कृष्णप्रसाद पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा बिभिन्न थरिका लाली गुराँसहरु रहेकाले अहिलेको मौसम निकै रमाइलो मय हुने गरेको बताए ।

यस क्षेत्र धार्मिकतासँगै पर्यटकीय पनि रहेकाले अहिलेको मौसमा धेरै पर्यटकहरु रेसुङ्गा भ्रमणमा आउने गरेको पन्थीले बताए । रेसुङ्गा क्षेत्रमा भौगोलिक उचाइगत विविधताले ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा, नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा परेको असरले मौसम अगावै र पछि फूल्ने गर्नाले प्रभाव पर्दै जान थालेको छ । रेसुङ्गा क्षेत्रमा ठूला र सुक्न लागेका लालि गुराँसका बोटहरुमा भएकाले पनि संरक्षणको अभाव खडकीन थालेको छ । भएका बोटहरु सुक्दै जाँदै गर्नु र नयाँ बोटहरु बारे चासो नदिनुले पनि लालिगुराँसमा संरक्षणको अभाव खडकीएको हो ।

धार्मिक पर्यटन

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।

रेसुङ्गामा पैदल मार्ग निर्माण

धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पैदल मार्गमा आकर्षक सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि भ्यू टावरसम्म पैदल मार्ग सिँढी निर्माण गरिएको हो । पोखरीदेखि भ्यू टावरसम्म कुल ९८० मिटरमा पैदल मार्गमा आकर्षक सिँढी निर्माण गरिएको छ । वाग्लुङको गलकोटबाट ढुङ्गा ल्याएर पैदल मार्ग बनाइएको हो ।

पैदल मार्गको पोखरी देखि यज्ञशाला ७ सय मिटर सम्म १२ फिटको चौडाईमा तिनवटा रेलिङ्ग राखेर दुई लाइन हिडन मिल्ने गरि निर्माण गरिएको छ । यज्ञशाला देखि रेसुङ्गा भ्युटावर लगायतको ३ सय मिटरको क्षेत्रमा ८ फिट चौडाईमा २ वटा रेलिङ्ग राखेर निर्माण गरिएको छ । सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीसम्म पुगिन्छ ।

पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला भ्युटावर लगायत बिभिन्न मन्दिरहरुमा पुग्न पैदल यात्रा गर्नु पर्दछ । त्यस स्थानमा पुग्न झण्डै २० मिनेट पैदल हिड्न पर्दछ । मन्दिर अबलोकनमा पुग्ने श्रदालु भक्तजनहरुको सहजताका लागि पैदल मार्गे निर्माण गरिएको छ । निकै आर्कषक तरिकाले निर्माण गरिएकाले पैदल हिडनेहरुका लागि सजिलो र मनमोहक बनेको छ । रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिर लगायत बिभिन्न स्थलको अबलोकनका लागि यज्ञशाला मन्दिर् जाने गर्दछन् ।

रेसुङ्गामा वनस्पतिको विविधता

रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन,कटुस चीलाउने मिश्रित वन देखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ ।

जडिबुटीको विविधता

यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ । ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

पारिस्थिकीय प्रणाली र बासस्थान विविधता

यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैका बासस्थान भेटिन्छन् । यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् ।

जलाधार क्षेत्रहरु

रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ ।

रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ । यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरु समेटेको छ । जल आफूर्ति,भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ ।

यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययन भएमा थप सम्भावनाहरु निकाल्न सकिन्छ ।

रेसुङ्गाक्षेत्रमा विश्वब्यापी लोपोन्मुख गिद्द सहित २०८ प्रजातिका चराहरु

गुल्मीको गौरवको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल जैबिक विविधतामा धनि छ । पंछी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुङ्गा क्षेत्रमा ३ प्रजातिका विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत २ सय ८ प्रजातिका चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक,ऐतिहासिक एबं पर्यटकिय स्थल रेसुङ्गमा १ सय ६४ भन्दा बढि प्रकारका वनस्पति रहेको साबिककोे जिल्ला वन कार्यालय र हालको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ ।

रेसुङ्गा क्षेत्रमा २८ प्रकारका जनावरहरु पाइनुका साथै दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको बासस्थानको रुपमा महत्वपूर्ण रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । यस संरक्षित वनक्षेत्रमा जीवजन्तुको विविधताले भरिपूर्ण रहेको अध्ययनले देखाएको छ ।

रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमा चितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D