गुल्मी, मंसिर ८ । एकैचोटी ८० हजार खोप आउँदा गुल्मेली खुसी भएका छन् । लामो समय जिल्लामा खोप आएको थिएन । जसका कारण पहिले खोप लगाउन नपाएका सोझा सर्वसाधरण निराश थिए । पहिले १८ बर्ष माथिका पनि थुप्रैले बिभिन्न पहुँचका भरमा खोप लगाए ।
बिपन्न र सामान्य नागरिक खोपको अवसरबाट बञ्चित भए । गुल्मीमा अझै पनि दुई सय ५३ कोभिड १९ का सक्रिय संक्रमित छन् । खोप नआउने तर संक्रमण कायम रहेका कारण चिन्तामा परेका नागरिक भने अहिले खुसी छन् । अब १८ बर्ष माथिका लगभग सवैलाई पुग्ने गरेर खोप आएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।
जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप प्राप्त गर्न सकिने छ । पौडेलले ठूलो परिमाणमा खोप आएकोले व्यवस्थित रुपमा १८ बर्ष माथिका सबैलाई खोप लगाउन आग्रह गरे । ‘ठुलो संङघर्षले जिल्लामा खोप ल्याएका छौ । यो ठूलो उपलब्धि हो,’ उनले भने,‘आफुले पनि निर्धक्क भएर खोप लगाऊँ र अरुलाई पनि लगाउन प्रेरित गरौ ।’ जिल्लामा प्राप्त भएको ८० हजार जापनीज एस्टाजेनिका डोज खोप मध्ये ७९ हजार छ सय डोज खोप सबै स्थानीय तहमा पुगेको छ ।
यो खोप १८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलाहरुलाई परिचय पत्रको आधारमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख पशुपति आचार्यले जानकारी दिए । खोप अभियान ७ मंसिरदेखी ९ गतेसम्म चल्ने छ । जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा बितरण गरिएको स्वास्थ्य कार्यालयका आर्चायले बताए ।
१८ बर्ष माथिका एक लाख ४२ हजार छ सय २२ मध्ये अहिलेसम्म ६२ हजार चार सय २२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन । यस पटक बाँकी रहेका १८ बर्ष माथिका ८० हजार दुई सय एक जनाले खोप लगाउने छन । मंगलबारदेखि संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियान अन्तरगत चन्द्रकोट गाउँपालिकामा छ हजार पाँच सय, छत्रकोट गाउँपालिकामा छ हजार तीन सय, धुर्कोट गाउँपालिकामा छ हजार एक सय डोज खोप बितरण गरिएको स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल प्रर्सन राजराम बिष्टले जानकारी दिए ।
त्यस्तै गुल्मीदरबार गाउँपालिकामा छ हजार चार सय, इस्मा गाउँपालिकामा पाँच हजार पाँच सय, कालीगण्डकी गाउँपालिकामा पाँच हजार दुई सय, मदाने गाउँपालिकामा पाँच हजार आठ सय डोज खोप बितरण गरिएको छ । मालिका गाउँपालिकामा पाँच हजार आठ सय,रुरु गाउँपालिकामा पाँच हजार पाँच सय,सत्यवती गाउँपालिकामा सात हजार एक सय,मुसिकोट नगरपालिकामा नौ हजार चार सय र रेसुंगा नगरपालिकामा १० हजार डोज खोप बितरण गरिएको बिष्ट बताए ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार लक्षित समुह ठुलो रहेकाले सुरक्षा मापदण्ड पुर्ण रुपमा पालन गरेर दैनिक एक खोप केन्द्र बराबर एक सय देखी एक सय पचास जना सम्मलाई खोप सेवा प्रदान गरिने छ ।