विवश विष्ट
गुल्मी, असौज ०९ । गुल्मीको मदाने गाउँपालिकामा विभिन्न किसिमका रोगहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । असोज ९ गते देखी असोज २१ गतेसम्म संचालन हुने गरी स्वास्थ्य शिविर गर्न लागिएको हो ।
नेपाल हेल्पद्वारा सञ्चालित मदाने सामुदायिक स्वास्थ्य केन्द्रले संचालन गर्न लागेको निशुल्क स्वास्थ्य शिविरमा अधिक भन्दा अधिक बिरामीले लाभ लिने अपेक्षा गरिएको छ । मदाने गाउँपालिका साथै छिमेकी गाउँपालिकामा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई लक्ष्यित गर्दै मृगौलारोग विशेषज्ञ/जनरल फिजिसियन र दात सम्बन्धि गरि निशुल्क उपचार तथा शल्यक्रियाका सुविधाहरु सो शिविरमा प्रदान हुने मधाने सामुदायिक स्वास्थ्य केन्द्र बाझकटेरीका इन्चार्ज यमलाल भुषालले जानकारी दिनुभयो । कोभिडको जोखिम कायमै रहेको हुदा उक्त शिविरमा आउने बिरामि तथा सेवाग्राहीलाई अनिवार्य माक्स साथै अन्य स्वास्थ्यका मापदण्ड लागु गर्न उहाँले आग्रह गर्नुभएको छ ।
स्थानियहरुको मागलाई मध्यनजर गर्दै सेवा तथा सुविधा प्रदान गर्न यस स्वास्थ्य केन्द्रले विभिन्न समयमा विभिन्न फरकफरक खालका स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ । जर्मनी विशेषज्ञ डाक्टरहरु द्वारा संचालन हुने शिविर मदाने गाउँपालिका २ बाझकटेरी स्थित मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा संचालन हुने बताइएको छ ।
बिगतका बर्षहरुमा पनि यस्ता किसिमका स्वास्थ्य शिविर सञ्चालन भैरहेको र कोभिडका कारण रोकिएको थियो । स्थानियहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै जर्मनी विशेषज्ञ डाक्टरबाट गाउँमै निशुल्क सेवा सुबिधा लिन पाउँदा स्थानीय निकै उत्साहित भएका छन ।