हुमाकान्त पोखरेल
गुल्मी, असार २५ । धुर्कोट गाउँपालिका –६ रजस्थलकी ५४ बर्षिय थमी खड्कालाई आजकाल भ्याइनभ्याई छ । हिउँदमा प्राय फुर्सदमा रहने उनी बर्षायाम सुरु भएदेखि व्यस्त रहन्छिन् । धानको बीउ गोड्ने, धान राप्ने तथा अर्मपर्म गर्ने उनको दैनिकी हो । इस्मा गाउँपालिका –६ अम्मरपुरमा उनको आठ रोपनी खेत छ । त्यसमा ३२ मुरी धान फल्छ । त्यही धान रोप्नको लागि विगत एक हप्तादेखि उनी व्यस्त छिन् ।
आफ्नो खेत रोपेर सकिएपनि पर्म तिर्न अझै बाँकी रहेको उनले बताइन् । मालिका गाउँपालिका –८ सिमलटारीकी ५५ बर्षिय गायत्रा घिमिरे पनि विगत चार–पाँच दिनदेखि व्यस्त छिन् । कुमालटारीमा गत बर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत चक्लाबन्दी खेती लागु भयो । अहिले पहिलो पटक उक्त खेतमा धान रोपाई हुँदैछ । त्यही कामको लागि खेतारा खोज्ने, बीउ गोड्ने लगायतका काममा उनलाई भ्याइनभ्याई छ ।
खेताला अभाव
अहिले गाउँका युवा रोजगारीको शिलशिलामा देशका विभिन्न ठाउँ र विदेशमा छन् । गाउँमा ट्याक्टर आएपछि गोरु पाल्छ छोडे । केही धनसम्पत्ति कमाएका परिवारले पनि गाउँ छोडे । त्यसले गर्दा अहिले धान रोप्नको लागि खेतालाको अभाव भएको छ । गायत्राले एकजना रोपारीको पाँच सय र ठिगारेको आठसयसम्म तिनुपर्ने बाध्यता रहेको सुनाइन् । ‘काम गर्न सक्नेजति विदेशमा छन्, भएकाले काम गर्न मान्दैनन् ।’ उनले भनिन्, ‘उत्पादन भएको बालीले खेतालाको मुल्य पनि उठाउन मुस्किल पर्छ ।’ मालिका गाउँपालिका –६ अर्जै फुलवारीकी माया खनालले पनि खेताला नपाइदा काममा समस्या भएको गुनासो गरिन् ।
राज्यबाट ठुला ट्याक्टर र बीउ, मलको अपेक्षा
जिल्लामा राज्यको तर्फबाट आवश्यक प्राविधिक सहयोग भए धान उत्पादन हुने थुप्रै ठाउँ छन् । अहिलेसम्म सामान्य धानको बीउ उपलब्ध गराउनेबाहेक राज्यको तर्फबाट धान खेती प्रवद्धन हुने कुनै कार्यक्रम छैन । किसानहरु काम गर्न उत्सुक भएपनि सरकारले प्राविधिक सहयोग नगर्दा किसानहरुमा निराशा छ । सिमलटारीका गोविन्द प्रसाद घिमिरेले चक्लाबन्दीले खेतका गरा ठुला भएपनि हाते ट्याक्टरले जोत्दा समस्या भएको बताए । ‘साना ट्याक्टरले जोतेर नसकिने भयो, गोरु पनि पाइन छेडे ।’ उनले भने, ‘ठुला गराको लागि ठुला ट्याक्टर लगायत प्राविधिक सहयोग भए राम्रो हुनेथियो ।’ धुर्कोट गाउँपालिका –५ विष्णु प्रसाद भण्डारीले घर धुर्कोट र खेत इस्मा गाउँपालिकामा हुँदा पालिकाबाट प्राप्त गर्ने सेवा नपाएको गुनासो गरे ।
हराउँदै असारे भाका
थमी खड्का असारमा धान रोप्नेमात्र होइन, उनी असारे भाका गित गाउनमा पनि पोख्त छिन् । ‘असारभरी जोतेको हलो फालिमा खोइलायो’ जस्ता भाका उनलाई अझैपनि कण्ठ छ । तर गाउँमा उनसँग केही दुई÷तीनजनाले पुराना महिलाहरुले मात्र उक्त भाका गाउन सक्छन् । आजकालका युवायुवतीहरुले उक्त भाका नगाउँदा उनको मन दुख्छ । ‘आजकालका सबै मोबाइल र इन्टरनेटमा व्यस्त छन् ।’ उनले भनिन्, ‘असारे भाका विस्तारै हराउँदै गएको छ ।’ अरुले यो भाका नगाउँदा नरमाइलो लाग्ने उनले बताइन् । असारे भाकामा विशेष मौलिकता झल्कने भएकोले पनि संरक्षण गर्नुपर्ने उनी बताउनछिन् ।
जिल्लामा ५० प्रतिशत रोपाई
जिल्लामा हालसम्म ५०.५१ प्रतिशत खेतमा रोपाइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसपालि छिट्टै बर्षा भएकोले पनि रोपाइमा सहजता मिलेको छ । जिल्लाको अम्मरपुर, घ्यूबेसीँ, चैरासी, शान्तिपुर, मजुवा, खैरेनी, खज्र्याङ्ग लगायतका क्षेत्रमा धान खेती हुने गर्दछ । यी क्षेत्रहरुमा रामधान, खुमल ४, खुमल १, मकवानपुर १ लगायतका उन्नत जातका धान लगाइन्छ । त्यस्तै हंसराज, वर्णशंकर, शंकर लगायतका स्थानीय जातका पनि धान लगाइने गरिन्छ ।