गुल्मी, बैशाख १६ । गुल्मीमा मास्क नलगाई हिँड्नेलाई प्रहरीले कारवाही थालेको छ । मास्क नलगाई हिँडेको खण्डमा प्रहरीले १५ मिनेट नियन्त्रणमा लिई सम्झाई बुझाई मास्क लगाएर पठाउन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले मास्क नलगाई सडकमा हिँड्ने र सवारी साधनमा यात्रा गर्नेहरुलाई नियन्त्रणमा लिन थालेको हो । बुधबार सम्म मास्क नलगाउने ४५ जनालाई १५ मिनेट सम्झाई बुझाई मास्क लगाएर मात्र पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
यस्तै ट्राफिक प्रहरीले सवारी साधनहरुमा समेत चेकजाँचमा कडाई गरेको छ । सवारी साधनहरुले सिट क्षमताभन्दा बढी यात्रु राखे-नराखेको र मास्क लगाएको-नलागाएको बारेमा पनि चेकजाँच गरिएको ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । यदि कसैले स्वास्थ्यको मापदण्ड पुरा नगरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।