हुमाकान्त पोखरेल
गुल्मी, १० वैशाख । गुल्मीमा हालसम्म तीन हजार सात सयभन्दा बढीले कोरोनाबिरुद्धको दोस्रो डोजको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय, गुल्मीका अनुसार बिहिबारसम्म कुल तीन हजार ७६० जनाले दोस्रो डोजको खोप लगाएका हुन् ।
जिल्लाका १२ वटै पालिका र तम्घास अस्पतालमा वैशाख ७ गतेदेखि ९ गतेसम्म दोस्रो डोजको खोप अभियान संचालन गरिएको थियो । जसमध्ये रेसुङ्गा नगरपालिकाले शुक्रबार पनि खोप लगाइदिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पहिलो चरणमा ‘क’ वर्गका चार हजार १७५ जनाले कोरोनाबिरुद्धको पहिलो डोजको खोप लगाएको स्वास्थ्य कार्यालयका सिआइसिटी सहजकर्ता सुजन ढकालले जानकारी दिए ।
पहिलो डोजको खोप दोस्रो चरणमा ६५ बर्षभन्दा माथिका १८ हजार ४०३ जनालाई दिइएको थियो । उनीहरुलाई दोस्रो डोजको खोप दिनेबारे भने केन्द्रबाट कुनै निर्देशन नआएको ढकालले बताए । जिल्लामा हाल १९ जना संक्रमित रहेका छन् । अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेशनमा रहेको ढकालले बताए ।