सन्तोष महतारा
गुल्मी, ०४ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिकामा फेरी लकडाउन शुरु हुने भएको छ । नगरपालिका भित्र समुदाय स्तरमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेकोले नगरपालिका पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सदरमुकाम सहित आसपासका क्षेत्र समेटेर बनेको रेसुङ्गा नगरपालिका मंसिर ४ गते राती १२ बजेदेखी मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन गरिएको नगरपालिका प्रमुख डिल्लीराज भुषालले बताए ।
लकडाउन अवधिभर अति–आवश्यक बाहेकका सबै सेवा बन्द गर्न आदेश गरेको छ । नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । कुनै पनि ठाउँमा १० जना भन्दा बढी भेला नहुन पनि नगरपालिकाले आग्रह गरेको छ ।
तरकारी फलफुल दुध तथा दुग्धजन्य पदार्थको बिक्री बितरण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ७ देखी ९ बजे र साँझ ५ बजेदेखी ६:३० बजेसम्म गर्न पाइने छ । अन्य पसलहरु बिहान ७ बजेदेखी ९ बजेसम्म मात्रै संचालन गर्न पाइने रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
अन्य स्थानबाट आउने सवारीसाधन निश्चित पार्किङ्क स्थलमा मात्रै रोक्न पाइने छ । उद्योगधन्दा, निार्माणकार्य गर्ने स्थानमा कामदारलाई सोही ठाउँमा नै खाना बस्न ब्यवस्था गर्नुपर्ने छ । लकडाउन अवधिभर तोकिएको मापदण्ड विपरीत कार्य गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गरिने रेसुङ्गा नगरपालिकाले जनाएको छ ।