टोपलाल अर्याल
गुल्मी, १९ जेठ। गुल्मीमा एक जना कोरोना संक्रमित नौ दिनमा निको भएर डिस्चार्ज भएका छन् । दाङको तुल्सीपुर उपमहानगरपालिका १८ बेलझुण्डीका ३१ बर्षीय ओबबहादुर डाँगी कोरोना निको भएर घर फर्किएका हुन् । उनी गत जेठ १० गते कोरोना संक्रमणको पुष्टि भएपछि सदरमुकामको उपल्लो तम्घास आइसोलेशनमा रहेका थिए ।
जेठ १३ र १६ गतेको स्वाब परिक्षण नेगेटिभ आएपछि डिस्चार्च गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका ६ का ४१ वर्षीय शिक्षकको कन्ट्रयाक ट्रेसिङका आधारमा डाँगीको पिसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । गुल्मीमा अहिलेसम्म तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आइसोलेशनबाट डिस्चार्ज भएपछि नयाँ पत्रिकासंग कुरा गर्दै उनले आफुले बेसार पानीले कोरोना जितेको प्रक्रिक्रिया दिए ।
आफुलाई पहिले र अहिले कुनै संक्रमणको लक्षण नदेखिएकाले नौ दिनसम्म आइशोसलनमा कुनै औषधी सेवन नगरेर बताए । ‘म त सपनामै छु, के भएर आइसोलेशनमा आएँ, अहिले कसरी फर्कदैछु,’ उनले भने,‘ ९९ सय प्रतिशत हाउगुजी मात्रै रहेछ ।’ डाँगीले संक्रमितलाई समाजले मनोवन घटाउने काम नगरे घरमै छुट्टै बसेर पनि कोरोना परास्त पार्न सकिने बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायतले उनलाई बिदाई गरेका थिए ।