पहिरोको जोखिममा गुल्मीको अर्बेनी गाउँ

घनश्याम गौतम
गुल्मी, श्रावण १९ । लगातारको वर्षासँगै जमिन चिरा परेपछि कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको तिलाहार गाउँ पहिरोको जोखिममा परेको छ।

यहाँ दलित परिवारका १४ र बाहुनका दुईवटा घरधुरी छन्। गाउँ माथिको डाँडो नै फाटेर पहिरो खस्ने अवस्था छ। विपन्न र अन्यत्र जग्गा नभएका परिवार यहाँ झुप्रा बनाएर बसेका छन्। झन्डै सय जनाको बसोबास रहेको बस्तीमाथि पहिरो खस्दा कुनै पनि घर जोगिने अवस्था नभएको स्थानीय जितबहादुर सुनारले बताए। ‘ठूलो पानी पर्‍यो भने हाम्रो मर्नेबाँच्ने कुनै टुंगो छैन,’ उनले भने, ‘सक्नेहरू अन्यत्र सर्न थालेका छन्, नसक्ने जोखिम मोलेर गाउँमै बस्दै छौं।’ राति पानी पर्‍यो भने गाउँका सबै जाग्राम बस्ने गरेको उनले बताए।

Gulmi-Tilahar-Gau-arbeniजमिन फाटेको तलपट्टि खेत छ। खेतभन्दा तल बस्ती भए पनि भिरालो जमिनको जगदेखि नै खुकुलो माटो रहेकाले लगातार झरी लागेमा पहाडै बग्ने खतरा छ। स्थानीय बलबहादुर सुनारका अनुसार ४० मिटरभन्दा बढी जमिनमा झन्डै २ फुटको प्वाल परेको छ। ‘माथिदेखि तलसम्म पूरै फाटेको छ,’ उनले भने, ‘तल घर छन्, माथिबाट पूरै जमिन फाटेपछि बस्न सक्ने अवस्था नै छैन।’ घरमा बस्न सक्ने अवस्था नभएपछि उनले अर्बेनीकै आम्बोटमा अर्कैको जग्गा वार्षिक ३ हजारमा भाडामा लिएर छाप्रो बनाउने तयारी गरेका छन्। ‘आजदेखि गाईभैंसी पनि सारें,’ उनले भने। अन्य केही घरपरिवार पनि सर्ने तयारीमा भए पनि सर्नै नसक्ने ७/८ घर बढी जोखिममा रहेको उनले बताए।

वडाध्यक्ष देवी न्यौपानेले बस्ती धेरै जोखिममा परे पनि तत्काल पूरै बस्ती अन्यत्र सार्न सकिने अवस्था नरहेको बताए। ‘बस्ती एकदम जोखिममा छ’, उनले भने, ‘तत्कालका लागि डोजर लगाएर चिरा परेको जमिन पुर्ने काम गरे पनि खतरा उस्तै छ।’ स्थानीयले बसाइँसराइकै लागि माग गरेको भए पनि अन्यत्र कुनै जग्गा नभएकाहरू त्यहाँ बस्दै आएकाले कहाँ सार्ने भन्ने समस्या बढेको उनले बताए। ‘तै पनि के गर्न सकिन्छ भनेर गाउँपालिकामै छलफल गर्दै छौं,’ उनले भने, ‘पूरै बस्ती सार्न सक्ने अवस्था नभए पनि तत्कालको जोखिम कम गराउने प्रयासमा छौं।’ जोखिममा परेका अधिकांश विपन्न समुदायका भएको र दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने भएकाले उनीहरू आपैंm अन्यत्र सर्न सक्ने सम्भावना नरहेको उनले बताए।

गाउँ नै पहिरोको जोखिममा परेपछि प्रहरीले पनि स्थलगत निरीक्षण गरेर १६ घर पूर्ण जोखिममा रहेको मुचुल्का गरेको छ। ठूलो पानी पर्दा पूरै पहाड बग्ने खतरा रहेको पूर्तिघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विजय थारूले बताए। ‘पानी नपर्दासम्म धेरै जोखिम छैन’, उनले भने, ‘तर ठूलो पानी पर्‍यो भने बस्ती पुरै बग्न सक्छ।’ मोटरबाटोको घुम्ती काट्दा धेरै माटो खनेको, त्यसको तल सिंचाइको ठूलो कुलो रहेकाले पनि ठूलो पानी पर्दा बस्ती नै बग्ने खतरा रहेको उनले बताए। ४० मिटरभन्दा बढी दूरीमा १ फिटभन्दा बढी जमिन फाटेर चिरा परेकाले त्यसमा पानी परेपछि त्यसको तल रहेको बस्तीसहितको पहाड बग्ने खतरा रहेको उनले बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ