टोपलाल अर्याल
गुल्मी, १० बैशाख । गुल्मीमा अहिलेसम्म ५८ जनाको र्यापिड टेस्ट गरिएकोमा सवैको कोरोना रिर्पोट नेगेटिभ आएको छ । मंगलबार इस्मा गाउँपालिकाका आठ जनाको र्यापिड टेस्ट गरिएको छ । इस्मा गाउँपालिका २ को पालुखा मावि क्वारेन्टाइनमा रहेका आठ जनाको टेस्ट गराउँदा कोरोना रिर्पोट नेगेटिभ आएकाले वडाको रोहबरमा एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरेर घर पठाइएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् ।
अझै इस्मा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा १९ जना रहेका छन् । त्यस्तै कालिगण्डकी गाउँपालिकामा दुई, रुरु गाँपालिकाका चार, मदाने गाउँपालिकाका १०, धुर्कोट गाउँपालिकाका नौ र गुल्मी दरवार गाउँपालिकाका १२ जनाको टेस्ट गरिएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भावनी शर्माले जानकारी दिए । त्यस्तै रेसुङा नगरपालिकाका दुई, मुसिकोट नगरपालिकाका आठ र प्रहरी हिरासतमा भएका तीन जनाको र्यापिड टेस्ट गरिएको र उनीहरु सवैको कोरोना रिर्पोट नेगेटिभ आएको डाक्टर शर्माले बताए । उनले प्रहरी हिरासतका तीन जना बाहेक सवै स्थानीय तहमा क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेस्ट गरेपछि बिदेशबाट आएकाहरुको परिक्षण गरिने बताए ।
स्थानीय तहहरुले दिएको तथ्यांक अनुसार करिव १८ सय भारत लगायत तेस्रो मुलकबाट आएका व्यक्तिहरु भएकाले प्रदेशमा दुई हजार किट माग भएकाले प्राप्त हुना साथ परिक्षण गरिने शर्माको भनाई छ । अझै पनि विभिन्न माध्यमबाट मानिसहरु जिल्ला भित्रने क्रम नरोकिएपछि जिल्ला स्तररिय बिपद् व्यावस्थापन समितिले जिल्ला आउने सवैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।