टोपलाल अर्याल
गुल्मी, २० चैत। जिल्लामै माक्स र सेनिटाइजर थिएनन् । शुभलक्ष्मी फर्माका संचालक होम बहादुर पल्लीले संचारकर्मीलाई प्राथमिकतामा राखेर माक्स र सेनिटाइजर दिए । त्यपछि बिमा कमिटीले कारागार, प्रहरी र सर्वसाधरणलाई करिव ३५ सय माक्स वितरण गरे । त्योसंगै गुल्मी उद्योग बाणिज्य संघले अस्पताल, प्रहरी र आँखा अस्पतालमा माक्स प्रदान गरे । जिल्लामा पिपिइनै थिएनन् । जसका कारण स्वास्थ्यकर्मी त्रासमा थिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेय र बारा जिल्लामा कार्यरत गुल्मेली हुम बहादुर पाण्डेयले आठ थान पिपिइ दिए । पछि निर्माण व्यावसायीले पनि २० थान पिपिई प्रदान गरे । जसले स्वास्थ्यकर्मी र संयोजनकारी निकायलाई थप बल पुगेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । त्यस्तै स्थानीय तहहरुमा पनि भुगोल अनुसारका संघ÷संस्था र व्यक्तिहरुले सहयोग गरिरहेका छन् । लामो समयसम्म इस्मा गाउँपालिकामा पिपिइ थिएनन् । इस्माली समाज काठमाण्डौले १३ थान पिपिई, आठ थान सेनिटाइज र ५० थान माक्स वितरण गरे ।
मजदुरको दुखमा युवा
लामो समय लक डाउन भएपछि मजदुर र अति बिपन्न परिवारमा चुलो बलेन् । त्यो समस्या पहिला सदरमुकाममै देखिएपछि युवाहरुनै अगाडी लागे । जसले अहिले दुखमा मलिन अनुहारमा बाँच्ने आशा थपेको छ । जनक पन्थ, श्रीराम महत र निरोज मरासिनीले बुधबार सदरमुकाम ३५ अति बिपन्न परिवारलाई नगद तथा खाद्यान्य प्रदान गरेका छन् ।
बाहिरी जिल्लाबाट आएर विभिन्न क्षेत्रमा मजदुरी गर्ने परिवारहरु पहिचान गरेर चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री र नगद गरेर ३० हजार बराबरको सहयोग गरेका थिए । जनक पन्थ राष्ट्रिय लोक तथा दोहरी गीत प्रष्ठिानका पुर्व जिल्ला अध्यक्ष हुन् । भने श्रीराम महत रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु समापति हुन् । निरोज मरासिनीले एभरग्रिन होटल संचालन गर्दै आएका छन् । ‘हाम्रो सानो सहयोगले ३५ घर परिवार खुसी मात्रै भएनन, राज्यलाई समेत सहयोग भयो,’पन्थले भने,‘लक डाउनको समय बढे अझै सहयोग गर्छौ ।’
कार्यविधी बनाएर राहत वितरण सुरु
कोरोना संक्रमणको कारण नेपाल सरकारले लक डाउन गरेपछि कैयन बिपन्न परिवारमा खाद्यान्न संकट देखिएको छ । सोहि अवस्थालाई मध्येनजर गरेर जिल्लाका स्थानीय तह र केहि युवाहरु सक्रिय देखिएका छन् । मालिका गाउँपालिकाले बिहिबार वडा नं ६ बाट राहत वितरण थालेको छ । मालिका गाउँपालिका ६ अर्जेमा ७२ जना अति विपन्न परिवारलाई मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले राहत वितरण गरे । प्रति परिवार ३० केजी चामल, तीन केजी दाल, एक केजी नुन र एक लिटर तेल वितरण गरिएको मालिमा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
जिल्लाको धुर्कोट गाउँपालिकाले पनि विपन्न परिवारलाई राहत वितरण गरेको सुरु गरेको छ । गाउँपालिकाले वडा नं ५ र ७ का एक सय अति विपन्न परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिसकेको छ । प्रति परिवार २५ केजी चामल, पाँच केजी आलु, एक पोका तेल, एक केजी नुन लगायतका खाद्यान्न वितरण गरेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।