दैनिक कामदार भएका सडक दुरुस्त

गुल्मी, श्रावण १५ । बर्खामा बिग्रिएर २ महिना ठप्प रहने बर्बोट र पुर्कोटदह हुँदै अग्लुङ पुग्ने सडकमा साउन दोस्रो सातासम्म नियमित सवारीसाधन चल्थे। झरी परुन्जेल आवागमन रोकिन्थ्यो।

३० किमिको यो सडक महिनामा २६ दिन नियमित काम गर्ने गरी १५ जना दैनिक ज्यालादारी कामदार खटिएका छन्। उनीहरूको जिम्मेवारी सडकमा दैनिक काम गर्ने, साना पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने र छेउका घाँस हटाएर सफा राख्ने हो।

‘दैनिक ८ घण्टाका दरले महिनामा २६ दिन सडकमै काम गर्छौं,’ धुर्कोट ६, धुरकी माया थापाले भनिन्, ‘सडकमा दिनदिनै गाडी चल्ने गराउने जिम्मा हामीमाथि छ।’ उनलाई आफ्नो जिम्मेवारीको क्षेत्रभित्र पहिरो गयो वा ठूलो खाल्डो पर्‍यो भने स्थानीयले जानकारी दिन्छन्। आफैं पनि एक्लैले गर्न नसकिने अवस्थामा सहयोग माग्छिन्। उनीजस्तै नजिकका थप २ जना खटिन्छन्। ‘यो वर्ष अहिलेसम्म एक दिन पनि गाडी रोकिएका छैनन्,’ अर्का कामदार सिमबहादुर खड्काले भने, ‘ठूलै पहिरो गए मात्र जिविसले डोजर पठाउँछ, अन्यथा हामीले नै मर्मत गर्ने हो।’

जिससले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत साढे २ वर्षदेखि जिल्लामा सानो खर्चमै कामदार राखेर सानो दूरीका सडक मर्मत गर्दै आएको छ। कार्यक्रमका इन्जिनियर रमेश भण्डारीका अनुसार परीक्षणका रूपमा सुरु गरेको सडक मर्मतको काम प्रभावकारी देखिएपछि अहिले जिल्लाभित्र छोटो दूरीका तर व्यस्त सडकमध्ये पूर्तिघाट–शान्तिपुर ३१ किमि, शान्तिपुर–वलिबाङ १२ किमि, सिमिचौर–खज्र्याङ २० किमि, भञ्ज्याङ–बडागाउँ–गँगरे २५ किमि, रुद्रवेणी–अस्लेवा–ठूलोलुम्पेक १६ किमि र गैरीखुट्टा–दौंघा ५ किमि सडकमा कामदारले नियमित काम गर्छन्। ‘अहिले जिल्लाभर ९४ कामदार कार्यरत छन्,’ उनले भने, ‘जहाँ कामदार छन्, त्यहाँ नियमित गाडी चल्छन्।’ सडकको दूरीअनुसार एउटा सडकमा २ देखि १६ जनासम्म रहेको उनले बताए।

जिससले प्रति १ किमि सडकका लागि १ लाख ३२ हजार रुपैयाँ वार्षिक मर्मत खर्च छुट्याउने गरेको छ। ‘त्यति नै रकममा डोजरले गर्नेभन्दा धेरै राम्रो काम कामदारबाट भएको छ,’ जिल्ला इन्जिनियर वैकुण्ठ अर्यालले भने, ‘छोटो दूरीका र धेरै व्यस्त हुने सडकमा यो धेरै नै प्रभावकारी देखियो।’ कामदार छनोटमा सडकअनुसार स्थानीयले नै प्राथमिकता पाउने गरेको उनले बताए।
कामदारको काम प्रभावकारी भएपछि जिल्लाका २ नगर र १० गाउँपालिकामध्ये अधिकांश गाउँपालिका प्रमुखले कामदार राखेर साना सडक वर्षभरि नियमित सवारी चल्ने गराउने निर्णय गरेका छन्। ‘अस्लेवा–ठूलोलुम्पेक खण्डमा निकै राम्रो काम भएको छ,’ सत्यवती गापा प्रमुख पारिश्वर ढकालले भने, ‘त्यस कारण गापाबाटै बजेट व्यवस्थापन गरी अन्य सडकमा पनि राख्ने निर्णय गरेका छौं।’ सानो रकमबाटै स्थानीयलाई रोजगारी पनि हुने र काम पनि प्रभावकारी हुने भएकाले सडक सुधारमा यो राम्रो अभ्यास भएको उनले बताए।

स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठका अनुसार कामदारले जिल्लाको दररेटअनुसार दैनिक ५५५ रुपैयाँ ज्याला पाउँछन्। ‘महिनामा २६ दिन काम गर्नैपर्छ,’ उनले भनिन्, ‘घरबाटै जान–आउन मिल्ने गरी सडकमा कामको जिम्मेवारी तोकिएको हुन्छ।’ वर्षमा झन्डै १४ लाख रुपैयाँ मात्र खर्च हुने उनले बताइन्।

कामदारले सडकको नाली नियमित सफा गर्ने, नाली छेउछाउमा उम्रने घाँस र झाडी हटाउने, छडके नाली काट्ने, गाडीले बनाएको लिक पुर्ने, खाल्डाखुल्डी हुन नदिनेसँगै फुर्सदको समयमा बर्खामा सडकछेउ असुरो, सजीवन, निगालोलगायत बिरुवा रोपेर वातावरणीय सुधारका कामसमेत गर्ने गरेको इन्जिनियर अर्यालले बताए। -कान्तिपुर दैनिक

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ