अनिल खत्री
३ कात्तिक, गुल्मी । गुल्मीको धार्मिक ऐतिहासिक एबम् पर्यटकीय क्षेत्र रेसुङ्गामा स्तरीय रिसोर्ट बन्ने भएको छ । जिल्लाको सदरमुकाम तम्घासको शिरमा पर्ने धार्मिक एवंम् पर्यटकीय क्षेत्र रेसुङ्गामा रिसोर्ट बनाउनको निम्ति रेसुङ्गा नगरपालिका र पौवा होटल प्रालि बिच सम्झौता भएको हो ।
पर्यटकीय क्षेत्र रेसुङ्गामा १० करोडको लागतमा अन्तर्रा्ष्ट्रिय स्तरको रिसोर्ट संचालन हुने भए पछि रेसुङ्गामा पर्यटकको संख्यामा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी गरिएको सम्झौमा नगरपालिकाको तर्फबाट नगरप्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रा. लि को तर्फबाट प्रबन्ध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
०७६ साल कात्तिकबाट २१०१ आश्विन मसान्तसम्म २५वर्षसम्म लिज अबधी हुने गरि सम्झौता भएको नगर प्रमुख भुसालले बताए । पौवा होटल प्रा.लिलाई बिश्वास गरेर यो काम सुम्पेको र यसले समयमै काम सम्पन्न गरी सञ्चालन गर्नमा नगरपालिका बिश्वस्त रहेको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लाीराज भुसालले बताए ।
पौवा होटल प्रा.लिले रेसुङ्गामा नगरपालिकाकै स्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा समेत तीन तलाको भवन निर्माण गर्ने ुहमती भएको नगरप्रमुख भुसालले बताए । प्रालिले रेसुङ्गा पोखरी क्षेत्र नजिकै करिब ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने भएको छ ।
पौवा होटल प्रा.लिका प्रवन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले आफ्नो जन्मथलो पनि गुल्मी भएकोले आफुले आफ्नै ठाँउमा र रेसुङ्गाको पुण्य क्षेत्रमा काम गर्न पाउदा खुशी लागेको बताए । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।
धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।
रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
रेसुङ्गा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । यस कार्यले रेसुङ्गा नगरपालिकामा १० करोड भित्रिएकोमा खुशी ब्यक्त गरेका थिए ।
यसले गुल्मी जिल्लाका अन्य स्थानिय तहले पनि यस्तै कामको लागी प्रेरणा लिन सक्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
किन जाने रेसुङ्गामा
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।
केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुन् । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ । रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्य पनि अगाडी बढेको छ ।
जिल्लाको गौरवको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल जैबिक विविधतामा धनि छ । पंछी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुङ्गा क्षेत्रमा ३ प्रजातिका विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ ।
नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत २ सय ८ प्रजातिका चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक,ऐतिहासिक एबं पर्यटकिय स्थल रेसुङ्गमा १ सय ६४ भन्दा बढि प्रकारका वनस्पति रहेको छ ।
रेसुङ्गा क्षेत्रमा २८ प्रकारका जनावरहरु पाइनुका साथै दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको बासस्थानको रुपमा महत्वपूर्ण रहेको छ । रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमा चितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ ।
धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ । भौगोलिक उचाइगत विविधताले गर्दा उस क्षेत्रमा ६८ प्रजातिका विरुवा,३४ प्रजातिका झाडी,४६ प्रजातिका जडिबुटिजन्य वनस्पतिहरु र बिभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ ।
रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन,कटुस चीलाउने मिश्रित वन देखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ । यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ ।
ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको छ । यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ ।
प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैका बासस्थान भेटिन्छन् ।
यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् । रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ । रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ ।
यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ । यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरु समेटेको छ ।
जल आफूर्ति,भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ । यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययन भएमा थप सम्भावनाहरु निकाल्न सकिन्छ ।