अनिल खत्री
२३ साउन, गुल्मी । गुल्मीको सत्यवतीका पहिरो पिडितको खातामा झण्डै १ करोड नगद राहत संकलन भएको छ । गुल्मी सत्यवती गाउँपालिका वडा नं.३ र ४ को विपद व्यवस्थापनका लागि तपशीलका ९१ लाख ५१हजार ४ सय ११ रुपैयाँ संकलन भएको सत्यवति गाउँपालिका कार्यकारी अधिकृत यादव भण्डारीले बताए ।
राहतको लागि आहन गरिए अनुसार सत्यवती गाउँपालिकाको खातामा रु ३३ लाख ४५ हजार १ सय १३रुपैयाँ वडा नं. २ चेहेमी थुम्काको खातामा रु. २ लाख २८ हजार ८ सय ७७ रुपैयाँ, वडा नं. ३ ठूलोलुम्पेक को खातामा रु. ३७ लाख ९९ हजार ६ सय ९ रुपैयाँ र वडा नं. ४ लिम्घाको खातामा रु. १७ लाख ७७ हजार ८ सय १२ रुपैयाँ संकलन भएको कायकारी अधिकृत भण्डारीले बताए । गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहे जिन्सी सामाग्रीहरु पनि संकलन भएको छ ।
पहिरो पिडितहरुको लागि बिभिन्न संघसंस्थाहरुले सामुहकि रुपमा संकलन गरेर हस्तातरण गरिरहेका छन् । स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु प्नि पहिरो पिडितहरुको सहयोगार्थ जुटेर राहत संकलन कार्य भएको हो । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो ।
गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएका छन् ।
पहिरोले बिस्थापितलाई सोहि स्थानका निर्माण गरिएका अस्थायी आवासमा राखिदैँ आएको छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाइँएको थियो ।
मोटरबाटो समेत बगाएपछि तिनपटक हेलिकप्टर मार्फत लगिएको थियो । तर अहिले सामान्य रुपमा मोटरबाटो लगिएको छ । प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् ।
आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पौडेलले जानकारी दिए । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रभावित क्षेत्रमा विपद समितिको बैठक
पहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद ब्यबस्थापन समितिको बैठक बसेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको विपद व्यवस्थापन समिति, स्थानीय विपद ब्यबस्थापन समिति सत्यवती गाउपालिकाको संयुक्त बैठक ठुलोलुम्पेक र लिम्घामा गएको पहिरो पीडितलाई लक्षित गरि सत्यवती गाउँपालिकाको कार्यालय जोहाङ्ग खैरेनीमा सम्पन्न भएको छ ।
बैठकले राहत वितरण र ब्यबस्थापकिय जिम्मेवारीको लागि गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल,उपाध्यक्ष सुबर्ण शाही,प्रमुख प्रशाकिय अधिकृत यादव भण्डारी, वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर राना र वडानम्बर ४ का अध्यक्ष दान बहादुर राना रहेको ५ सदस्यीय समिति एवं विपद सूचना केन्द्रको स्थापना गरिएको छ । सरोकारवाला जिल्ला स्थित कार्यालयहरुले ७ दिन भित्र आ आफ्नो कार्यालयले सो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरि सबै पक्षको पहलमा त्रसित पहिरो पीडितहरुलाइ आफ्नो घरमा बस्न मिल्ने भएमा घर फर्किने वातावरण मिलाउन पहल गर्ने निर्णय गरेको छ ।