टोपलाल अर्याल
गुल्मी, ६ भदौ । स्वास्थ्यको क्षेत्रमा इस्मा गाउँपालिका अब्बल बन्दै गएको छ । जसका लागि गाउँपालिकाले गत बर्ष स्वास्थ्यको क्षेत्रमा करिव ६२ लाख खर्च गरेको छ । स्वास्थ्यको क्षेत्रमा गाउँ सभा मार्फत गाउँपालिकाले बनाएका सवै जसो योजना सम्पन्न भएका छन् । भने यो बर्ष पनि केहि नयाँ तथा पुराना योजनाहरु कार्यन्वयनको चरणमा रहेका छन् ।
बिकट गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र
इस्मा गाउँपालिकाले गत बर्ष गाउँपालिकाका दुई बिकट स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याएको छ । गाउँपालिकाको वडा ४ को कोटकोटरी र वडा नं २ को पनाहमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरि सेवा प्रदान गरिएको छ । स्वास्थ्य केन्द्र मार्फत प्राथमिक उपचार सेवा उपलब्ध गराइएको छ ।
जसका कारण सामान्य सिटामोल पाउँन डेढदेखि दुई घण्टा हिडनुपर्ने बाध्यतामा रहेका स्थानीय घरमै सेवा पाएपछि खुसी भएको इस्मा गाउँपालिका ४ का वडा सदस्य भिमकान्त खनालले बताए । गाउँपालिकाले गत बर्ष दुई स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न दुई लाख रुपैयाँ बिनियोजन गरेको थियो ।
महिनावारीका लागि सुरक्षित सामग्रीयुत गाउँपालिका
इस्मा गाउँपालिकाका १२ निमावि र सात मावि महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त बिद्यालय घोषणा भएका छन् । हरेको बिद्यालयमा विभिन्न चरणमा सचेतना कक्षा, सेनेटरी प्याड वितरण, इन्सिनेटरको व्यावस्था र एक जना शिक्षिकालाई फोकल प्रर्सन तोकिएको छ ।
गत बर्ष एक हजार तीन सय ३३ जना छात्राहरुलाई सेनेटर प्याड वितरण गरिएको थियो । महिनावारी भएका वेला छात्राहरुले बिद्यालय छोड्ने दर घटाउन यो अभियान संचालन गरिएको स्रोत व्यक्ती लाल बहादुर कुवंरले बताए । गत बर्ष यो अभियान सम्पन्न् गर्न तीन लाख ५० हजार बिनियोजन गरिएको थियो । साथै यो अभियानलाई घरघरसम्म सचेतना मार्फत पुराउन गाउँपालिकाले विभिन्न योजना अगाडी सारेको छ ।
२ सय ७८ सुत्केरी आमालाई पोषण भत्ता
इस्मा गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोकर्ण थापाका अनुसार गत बर्ष दुई सय ७८ जना सुत्केरी आमाहरुलाई पोषण भत्ता वितरण गरिएको छ । सुत्केरी भएको बेला एक किलो घिउ खान भन्दै हरेक सुत्केरीलाई एक हजारका दरले गाउँपालिकाले एक हजार सुत्केरी पोषण भत्ताको व्यावस्था गरेको थियो । सोहि कार्यक्रम अनुसार गाउँपालिकाका ६ वटै वडाका दुई सय ७८ सुत्केरी आमाहरुलाई सुत्केरी पोषण भत्ता वितरण गरिएको सहसंयोजक थापाले बताए । जसका लागि गाउँपालिकाले दुई लाख ७८ हजार बजेट बिनियोजन गरेको थियो ।
घरघरमा स्वास्थ्य शिविर ः झण्डै २ हजारको स्वास्थ्य परिक्षण
गत बर्ष इस्मा गाउँपालिकाले चार वटा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जस अनुसार गाउँपालिकाका वडा नं ५ रजस्थल, वडा नं १ हस्तिचौर, वडा नं ३ दर्लामचौर र वडा नं ६ को अम्मरपुरमा बृहत निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
इस्मा गाउँपालिकाको आयोजना तथा रेसुंगा अस्पतालको प्राविधिक सहयोगमा हस्तिचौर स्वास्थ्यचौकीले एकदिने पाठेघर सम्वन्धी निशुल्क स्वास्थ्य शिविर, त्यस्तै इस्मा रजस्थल स्वास्थ्यचौकीमा गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा संचालन भएको निशुल्क महिलाले पाठेघर सम्बन्धि शिविर, हिमा स्मृति कोष र गाउँपालिकाको आयोजनामा वडा न ६ को अम्मरपुरमा संचालन भएको महिला, हाडजोर्नी तथा सामान्य चिकित्सा सहितको स्वास्थ्य शिविरमा र इस्मा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघको समन्वयमा वडा नं ३ को दर्लामचौरमा संचालन भएको निशुल्क आँखा उपचार शिविरमा गरी झण्डै दुई हजारले स्वास्थ्य परिक्षण गराएको इस्मा गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए ।
साथै वडा नं ४ को दोहलीमा निशुल्क आर्युवेदिक गाउँघर क्लिनीक स्थापना र वडा नं ५ को रजस्थलमा निशुल्क आर्युवेदिक स्वास्थ्य शिविर सम्पन्न भएको अधिकारीले बताए । शिविरका लागि गाउँपालिकाले पाँच लाख ५० हजार र निशुल्क आर्युवेदिक गाउँघर क्लिनीक र शिविरका लागि सात लाख बजेट बिनियोजन गरेको थियो ।
गाउँमै ल्याव संचालन ः सदरमुकाम जाने बाध्यता टर्यो
इस्मा गाउँपालिका ५ को इस्मा रजस्थल हेल्थपोष्टमा ल्याव सेवा संचालनमा आएको छ । केहि समय पहिलेसम्म जिल्लाका हेल्थपोष्ट मध्येको लिडर हेल्थपोष्टको रुपमा रहेको इस्मा हेल्थपोष्टमा यो सेवा नहुँदा नागरिक सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको थियो । गाउँमै विभिन्न प्रकारका ल्याव परिक्षण सहितको सुविधा पाएपछि खुसीयाली छाएको इस्मा गाउँपालिका वडा नं ५ का कार्यबहाक अध्यक्ष तथा इस्मा रजस्थल हेल्थपोष्टका उपाध्यक्ष नारायण पैयानीले बताए ।
ल्याव असिस्टेण्ट देवि श्रीसका अनुसार ल्यावमा सुगर, युरिक एसिड, सिविसी र एचवी, टाइफाइड, जण्डिस, बाथरोग, गु्रपिङ्ग, एच आइभी, क्षयरोग, गर्ववति, दिसा पिसाव र युरिया एलबोमिनको परिक्षण भैरहेको छ । जसमा सुगर परिक्षणको एक सय,युरिक एसिडको दुई सय, सिविसी र एचवी परिक्षणको दुई सय, टाइफाइड परिक्षणको दुई सय, जण्डीस परिक्षणको दुई सय, बाथरोथ परिक्षणको दुई सय, एचआइभी, क्षयरोग र गर्वबति परिक्षणको निशुल्क, दिसा पिसाव परिक्षणको दुई सय र युरिया एलबोमिनको दुई सय शुल्क निर्धारण गरिएको असिस्टेण्ट श्रीसले बताइन् ।
औषधी खरिददेखि एम्बुलेन्ससम्म
गत बर्ष इस्मा गाउँपालिकाले औषधी खरिदमा १३ लाख खर्च गरेको छ । छ वटा वडाका स्वास्थ्यचौकीमा आवश्यक पर्ने औषधी खरिदमा १३ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाको योजना शाखा प्रमुख नारायण महतले बताए । साथै गत बर्ष इस्मा गाउँपालिकाले वडा नं १ मा १२ लाख रुपैयाँ खर्च गरि एम्बुलेन्स खरिद गरेको छ ।
६७ महिला स्वास्थ्य स्वयसेविकालाई प्रोत्साहन भत्ता बापत बार्षिक छ हजारका दरले चार लाख दुई हजार, बर्थिक सेन्टरका करा अनमीको प्रोत्साहन भत्ता बापत एक लाख ९२ हजार साथै बर्थिंग सेन्टर व्यावस्थापनमा एक लाख रुपैयाँ खर्च गरेको महतले बताए ।