gulminews logo
बिहीबार, २०८१ बैशाख १३

साढे सात करोडका सरकारी सवारीसाधन प्रयोगविहिन, मोटरसाईकल, एम्बुलेन्सदेखि डोजरसम्म

हुमाकान्त पोखरेल
गुल्मी, ०९ कार्तिक । गुल्मीमा सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहिन अवस्थामा रहेका छन् । जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा विग्रिएको अवस्थामा सरकारी गाडी रहेका हुन् । तिमध्ये कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेख समेत छैन् । सबैभन्दा धेरै मूल्यका जिल्ला समन्वय समितिमा र सबैभन्दा कम मूल्यका जिल्ला बन कार्यालयमा रहेका छन् । जिल्लामा मोटरसाईकल, एम्बुलेन्स, यात्रा गर्ने गाडी देखि डोजरसम्म प्रयोगविहिन अवस्था रहेका छन् । त्यसरी प्रयोगविहिन अवस्थामा रहेका सामग्रीको हालको नयाँ मुल्य सात करोड ३३ लाख २५ हजार पर्छ ।

समन्वय समतिमा मात्रै ६ करोडका बिग्रेका गाडी

जिल्ला समन्वय समितिको प्राङ्गणमा कुल पाचँवटा गाडी बिग्रिएको अवस्थामा छन् । जसमध्ये एउटा मोटरसाईकल छ भने अन्य चारवटा ल्यान्डरोभर कम्पनीका गाडी छन् । तिमध्ये एउटा बनाए बन्ने अवस्थामा छ । तर बनाइएको छैन् । बा १ झ ६६० नम्बर र बा १ झ ६६८१ नम्बरको ल्यान्डरोभा गाडी वि.स. २०६० असोज १० गते गार्डेपबाट तत्कालिन जिल्ला विकास समितिलाई हस्तान्तरण भयो । उक्त गाडीको खरिद मिति भने जिन्सि किताबमा उल्लेख छैन । बा १ झ ६६० नम्बरको गाडी बनाए बन्ने अवस्थामा छ तर बनाइएको छैन । कार्यालयमा काम गर्ने एक कार्यालय सहयोगिका अनुसार बा १ झ ६६८१ नम्बरको गाडी विग्रिएको सात बर्ष भयो । दुवै गाडीको खरिद मुल्य तत्कालिन समयमा ४०÷४० लाख उल्लेख गरिएको छ । तर अहिले भने सोहि कम्पनीको नयाँ गाडीको मुल्य डेढ÷डेढ करोड पर्ने अनुमान गरिएको कार्यालयका कर्मचारी शर्माले जानकारी दिए ।

सोहि कार्यालयमा भएको एउटा कालो रङको गाडीको नम्मर प्लेट नै छैन । उक्त गाडि कति बर्षदेखि बर्षदेखि त्यहाँ छ भन्ने समेत कुनै अभिलेख छैन । ल्यान्डरोभर कम्पनीको नयाँ गाडीको हालको मुल्य डेढ करोड पर्छ । गाडिको वरीपरि लेउ लागेको छ भने अन्यन्तै जिर्ण अवस्थामा रहेको छ । जिल्ला समन्वय समितिकै प्राङ्गणको अर्को कुनामा अर्को ल्यान्डरोभर कम्पनीकै गाडि विग्रीएको अवस्थामा छ र उक्त गाडी पनि कति समयदेखि त्यहाँ छ भन्ने कुनै अभिलेख छैन । सोहि कम्पनीको हालको बजार मूल्य पनि डेढ करोड पर्छ । तर समन्वय समितिले गाडीको उचित व्यवस्थापन पनि गर्न सकेको छैन । जिससमै एउटा मोटरसाईकल बिग्रीएको अवस्थामा छ । कार्यालयको कुनामा भएकोले बिग्रिएको मोटरसाइकल झ्याप्प देखिदैन पनि । नम्बरको यमाहा कम्पनीको दुई लाख ५० हजार मुल्य बराबरको मोटरसाईकल पनि प्रयोगविहिन अवस्थामा छ ।

नयाँ आएपछि पुराना मर्मत हुँदैनन्

जिल्लामा हालसम्म केहि कार्यालयहरुले लिलामी प्रक्रिया अगाडी बढाइसकेका छन् भने कतिपय कार्यालयहरु भने आखाँ चिम्लेर बसेका छन् । जिल्ला समन्वय समितिले हालसम्म कुनै पनि नयाँ गाडि किनेको अभिलेखमा उल्लेख छैन् । तर समन्वय समितिमा हालसम्म अरुले अनुदान दिएका गाडीबाटै काम चलाइएको छ । तत्कालिन जिल्ला विकास समिति अहिले जिल्ला समन्वय समितिमा परिणत भएको छ ।

हुन त पहिलेभन्दा अहिले समन्वय समितिमा थोरै बजेट विनियोज हुन्छ । त्यसैले पनि समितिका पदाधिकारीहरुलाई गाडी मर्मत गर्ने रकम अभाव भयो भन्ने जवाफ दिन निकै सजिलो हुन्छ । तर प्रत्येक केहि बर्षमा नयाँ गाडी अनुदान आउने भएकोले पुराना गाडीहरु मर्मत गरिएको छैन । यसमा जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले समितिमा आफुहरु आउनभन्दा पहिलेले नै गाडीहरु रहेको बताए । उनले केन्द्रबाटै यसको उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

टेलिकममा डोजरको भग्नावशेष

जिल्ला दुरसञ्चार कार्यालय, नेपाल टेलिकमको भवनअगाडी एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दुरसञ्चार कार्यालय स्थापना भएको १२ बर्ष भयो । त्यहि समयदेखि नै उक्त डोजर त्यहि अवस्थामा एउटै ठाउँमा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । तर तत्कालिन समयमा सडक विभागले खरिद गरेको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख रुकमागत सापकोटाले जानकारी दिए । ‘कार्यालय स्थापना हुँदा नै यस्तै अवस्थामा थियो रे, अहिले पनि यस्तै छ ।’ सापकोटाले भने, ‘हटाउनका लागि धेरै निकायमा पहल गरे तर कुनै उपाय लागेन ।’ टेलिकमले डोजर नकिन्ने तर सडक निर्माणको क्रममा त्यहाँ राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

फलामको चेनवाला बुल डोजरको मुल्य एक करोड पर्ने डोजर चालक मेघराज नेपालीले बताए । उक्त डोजर अहिले वरीपरिका फुल र विभिन्न घाँसपातले पुरिएको छ । डोजर पनि एकदमै जिर्ण अवस्थामा रहेको छन् । तर उक्त डोजरबारे कुनै अभिलेख कतै नभेटिएको कार्यालयले जनाएको छ । टेलिकमकै अगाडी बर्षौ अगाडीदेखिका विभिन्न प्रकारका तारहरु पनि छन् । ति तारको हालको खरिद मुल्य तीन लाखभन्दा बढी पर्छ । ति भने लिलामी प्रक्रियामा रहेको कार्यालले जनाएको छ ।

एम्बुलेन्स बिहिन अस्पताल : बिग्रेका बन्दैनन, नयाँ किन्दैनन्

जिल्लास्तरको सरकारी अस्पतालमै एम्बुलेन्स छैन भन्दा अचम्म लाग्न सक्छ । तर तम्घास अस्पतालको सन्दर्भमा यो कुनै नौलो र अनौठो विषय होइन् । अस्पतालका दुईवटा बिग्रिएका एम्बुलेन्स प्रदर्शनिमा राखेजस्तै छ । तर अस्पतालमा बिग्रेका एम्बुलेन्स बन्दैनन् । नयाँ किन्न कसैले चासो दिदैैँनन् । बर्षैदेखि एम्बुलेन्स ग्राउण्डमा राख्दा सिटहरु बिग्रनुका साथै एम्बुलेन्सभित्रै घाँस उम्रिएको छ । एउटा मारुति सुजुकी कम्पनीको लु १ झ २७९ नम्बरको एम्बुलेन्स छ ।

सातबर्ष पहिले सिमिचौरमा दुर्घटना भएदेखि उक्त एम्बुलेन्स अस्पतालमै थन्किएको छ । अर्को लु १ झ २३५ नम्बरको एम्बुलेन्स छ । उक्त एम्बुलेन्सका कम्पनी पत्ता लाग्न सकेको छैन । दुवै एम्बुलेन्सको खरिद मिति र मुल्यबारे अस्पताल बेखबर छ । दुवै एम्बुलेन्सको हालको खरिद मुल्य ५० लाख भएपनि भन्सार छुट हुनेहुँदा २५ लाख पर्छ । अस्पताल प्रमुख डाक्टर उत्तम पाच्याले पहिलेदेखि नै विग्रेका एम्बुलेन्स रहेको र नयाँ एम्बुलेन्स खरिद प्रक्रिया सुरु नै नभएको प्रतिक्रिया दिए । तर अस्पतालको आफ्नै एम्बुलेन्स नभएपनि अन्य संस्थाका एम्बुलेन्सहरुले सेवा दिइरहेको हुँदा बिरामीहरु मर्कामा भने नपरको उनले बताए ।

बन कार्यालयमा मोटरसाइकल

जिल्ला बन कार्यालयमा बा १ व ७६४५ नम्बरको होन्डा कम्पनीको सरकारी नम्बर प्लेटको मोटरसाईकल पनि जिर्ण अवस्थामा छ । विगत १२ बर्षदेखि कार्यालयमै रहेको मोटरसाईकलको हालको मुल्य दुई लाख २५ हजार पर्छ । उक्त मोटरसाईकलको पनि लिलाम प्रक्रियाबारे कुनै थालनी गरिएको छैन ।

प्रशासनका कुर्चीदेखि कैचीसम्म लिलामी

जिल्ला प्रशासन कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न सामग्रीहरु लिलामी गरेको छ । प्रशासनले लिलामी गर्नेसम्बन्धी सुचना जारी गरी गरी प्रक्रिया अगाडी बढाएको हो । उसले २० वटा घुम्ने कुर्ची, चापँका कुर्ची, फाइल क्याबिन र स्टिल दराज चार÷चारवटा, आठओटा काठको दराज, १५ वटा घर्रा टेबुल लिलामी गरेको हो । त्यस्तै दुईवटा पलङ, एउटा स्टिल डेक्चि, छवटा स्टिल गिलास, चारवटा प्रेसर कुकर, तीनवटा दिउरी, एउटा फुट काट्ने कैची लगायतका सामग्री लिलामी गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्षमण प्रसाद पाण्डेले जानकारी दिए । पहिलो पटक २२ हजार भन्दा बढी मुल्य राखेर लिलामीसम्बन्धी सुचना जारी गर्दा कसैले पनि निवेदन नदिएकोले दास्रो पटक आधा मुल्य घटाएर सुचना जारी गरिएको हो । अहिले कुल ११ हजार ५८६ मा सबै सामग्री लिलामी भएका छन् ।

के छ नियममा ?

आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलामबिक्रिसम्बन्धी व्यवस्था गरिएको छ । जसमा काम नलाग्ने देखिएका मालसामानहरु लिलाम विक्री गर्ने, मर्मत गर्नुपर्ने दायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने व्यवस्था गरिएको छ । कुनै मेशिन, औजार तथा सवारीसाधनको स्पेयरपार्ट, पूर्जाको अवस्था तथा मर्मत सम्भार तथा संचालनमा बढी खर्च लाग्ने तथा वर्तमान अवस्थामा अनुपयोगी भनि मेकानिकल प्रविधिकबाट प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।

त्यसको मुल्य हेरिकन कार्यालय प्रमुखले लिलाम गर्ने सुचना प्रकाशित गरी लिलाम गर्न पाउने संवैधानिक व्यवस्था छ । त्यसका साथै सोहि ऐनको उपनियम ७ मा एक लाखभन्दा माथिको सामगी्र लिलाम विक्रिको लागि १५ दिनको सुचना जारी गर्नुपर्ने छ । जसमा मालसामानको विवरण, न्यूनतम मूल्य, लिलाम बढबढ हुने स्थान, धरौटी राख्नुपर्ने अङ्क, लिलाम गरेको सामग्री उठाई जैजानुपर्ने अवधि लगायतका कुराहरु सुचनामा उल्लेख हुनुपर्ने ऐनमा उल्लेख गरिएको छ ।

त्यसैगरि लिलामित सामग्री लैजानको लागि धरौटी राख्नुपर्ने पनि उल्लेख छ । एकलाख रुपैँयासम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि तीनसय, एकलाखदेखि १० लाखसम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि एक हजार र १० लाखभन्दा माथि जतिसुकै रकम न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि दुई हजार धरौटी राख्नुपर्ने नियममा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D