गुल्मी, साउन ४ । गुल्मीमा हुन लागेको रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लिलामय श्रीमद्भागवत, पितृ मोक्ष, विराट ज्ञानमहायज्ञ सम्पन्न गर्न मुल आयोजक समितिको गठन गरिएको छ ।
महायज्ञलाई सफल बनाउनका लागि आज समाजसेवी गुरु प्रसाद ज्ञवालीको संयोजकत्वमा ५१ सदस्यीय प्रारम्भिक महायज्ञ मुल आयोजक समितिको गठन गरिएको हो । शनिबार रुरु क्षेत्र रिडिमा गुल्मी, पाल्पा, अर्घाखाँची तथा स्याङजाका समाजसेवी, राजनितिज्ञ, आमा समुह, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीयको सहभागीतमा महायज्ञलाई व्यवस्थित रुपमा सञ्चालनका लागि समितिको गठन गरिएको हो ।
स्थानीय समाजसेवी गुरु प्रसाद ज्ञवालीको संयोजकत्वमा ५१ सदस्यीय प्रारम्भिक महायज्ञ मुल समारोह आयोजक समितिको गठन गरिएको बताईएको छ । ज्ञवालीकै संयोजकत्वमा २१ सदस्य कार्य सम्पादन तथा सचिवालय सञ्चालन समितिको पनि गठन गरिएको छ ।

नेपालमै पहिलो पटक जिल्लाको ऐतिहासिक तथा धार्मिक क्षेत्र रुरु क्षेत्र धाममा हुने विराट ज्ञानमहायज्ञको प्रमुख वाचक श्रीमद्भागवत कथा प्रवक्ता बाल योगेश्वर महाराज जीबाट भागवत कथा प्रवचन हुने आयोजकले जनाएका छन् ।
यहि आउँदो भदौ २८ गतेदेखि असोज १७ गतेसम्म सञ्चालन हुने ज्ञानमहायज्ञ सोह्र श्राद्धको पावन अवशरमा सम्पुर्ण पितृहरुको विधिवत श्राद्ध गरी उद्धार गरीने, एक्काइस करोड दिप प्रज्वलन गरिने, देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त संगीतमय र लिलामय कलाकारहरुको उपस्थिति रहने बताईएको छ ।
महायज्ञमा सहभागी बन्न यतिबेला गुल्मीसँगै जिल्ला बाहिरबाट पनि सम्पर्क बढिरहेको पनि आयोजकले बताएका छन् भने केही व्यक्तिहरुले दान प्रदान गर्नुभएको छ । महोत्सवलाई सफल बनाउनका लागि यतिेबला प्रचार–प्रसारलाई समेत तिव्र पार्न थालिएको मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरुको उल्लेखीय सहभागीता गराउने लक्ष्य राखिएको बताईएको छ । यस महायज्ञबाट रुरु क्षेत्रधाम पनि पनि बिशेष प्रचारप्रसारका साथै यसको महिमा बढ्ने बिश्वास व्यक्त गरिएको छ ।
विवाह गर्न इच्छुक तथा कानुनी रुपमा उमेर पुगेका जोडीहरुको चाहना भएमा महायज्ञमै विवाह गराईदिने प्रमुख वाचक तथा विश्व विख्यात श्रीमदभागवत कथा प्रवक्ता वाल योगेश्वर महाराज श्रीले बताउनुभयो । महायज्ञमा पुजनका लागि रु २ हजार १ सय रुपैँया भेटि स्वरुप चढाउनु पर्नेछ ।
धार्मिकअनुसार विवाह पनि रु २ हजार १ सय सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘अहिले विवाह गर्दा धेरै पैसा खर्च गर्ने गरेको पाइन्छ । महायज्ञबाट विवाह गर्दा धेरैको आर्शिवाद पनि पाइन्छ ।’ धर्म पनि प्राप्त हुने उहाँले बताउनुभयो । यस्तो कार्य नेपालमै पहिलो पटक हुन लागेको आयोजकले दावी गरेका छन् ।







