काठमाडौं, भदौ ९ । टेलिभिजन पत्रकार रबि लमिछाने सहित तीन जनालाई जिल्ला अदालत चितवनले धरौटीमा छाड्न आदेश दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्म हत्या गर्न दुरुत्साहन गरेको अरोपमा दायर मुद्दाको थुनछेक बहस पछि अदालतले रबि लामिछानेलाई पाँच लाख, अर्का सञ्चारकर्मी युवराज कँडेललाई तीन लाख रूपियाँ धरौटी र नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको अदालत स्रोतले बताएकाे छ ।
सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश हेमन्तप्रकाश रावलको इजलासले तीनै जनालाई धरौटी र तारेखमा छाड्न आदेश दिएको हो । अब दुई जनाले धरौटी रकम बुझाए पछि थुना मुक्त हुने छन् ।
शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । साथै रवि र युवराजलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।
पत्रकार पुडासैनी साउन २० गते चितवनको एक होटलमा मृत फेला परेका थिए । उनी झुण्डिएको अबस्थामा फेला परेका थिए भने । उनकाे भिडियो सन्देशमा तीनै जनाले आफूलाई आत्महत्या गर्न दुरुत्साहित गरेको अभिव्यक्ति रेकर्ड गराएका थिए ।