gulminews logo
शनिबार, २०८१ बैशाख १५

यसरी भएँ गोल्डमेडलिस्ट : मीरा ज्ञवाली (गुल्मी)

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबाट ०७३ सालमा एमबिए सकेकी हुँ । अहिले राष्ट्रिय वाणिज्य बैंकमा पुल्चोक शाखाको असिस्टेन्ट ब्रान्च म्यानेजरका रूपमा कार्यरत छु । एमबिए पढ्दा पाएको ज्ञानलाई अहिले व्यावहारिक रूपमा प्रयोग गरिरहेकी छु । आफूमातहत काम गर्ने जनशक्ति मोटिभेट गर्ने र संस्थाका लागि काम लिनुपर्ने मेरो जिम्मेवारीलाई सहजताका साथ पूरा गरिरहेकी छु  ।

एमबिए पढेकै कारण आफूमातहतका कर्मचारीलाई कसरी कन्भिन्स गर्ने, कस्तो भूमिका दिने र कसरी खुसी बनाएर काम लिने भन्ने ज्ञान ममा छ । नेतृत्व क्षमता विकास भइरहेको छ । एकजनाले काम गरेर मात्रै नतिजा राम्रो आउँदैन, सबैबाट काम लिन हामीले आफ्नो नेतृत्वकला विकास गर्नुपर्छ ।

मीरा ज्ञवाली
एमबिए सर्वोत्कृष्ट, त्रिभुवन विश्वविद्यालय

एमबिएमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीप पनि सिकाइन्छ । केस स्टडी, प्रेजेन्टेसन धेरै हुन्छ । व्यावहारिक रूपमा आइपर्ने समस्या के हो र कसरी समाधान गर्ने भनेर सिकाइन्छ । त्यसैले एमबिए पढ्नेले परिस्थितिको वास्तविकतालाई नियालिरहेका हुन्छन् । यस विषयमा एक्सपोजर धेरै हुन्छ, समूहमा प्रेजेन्टेसन हुने भएकाले आपसी सञ्चारको सीप बढ्छ । प्रेजेन्टेसनका लागि दिइएका विषयवस्तुले वास्तविक अवस्था बुझ्न सहयोग गर्छन् । यी र यस्ता व्यावहारिक विषयमा ज्ञान पाइने भएकाले नै मैले एमबिए रोजेकी हुँ ।

बिबिएस गरेको विद्यार्थीले एमबिए पढ्दा फरक अनुभव हुन्छ । तर, मैले स्नातकमा पनि बिबिए पढेकी हुँ । बिबिएमा पनि असाइनमेन्ट, प्रेजेन्टेसनलगायतको अभ्यास गरिएको थियो । त्यसैले एमबिए पढ्दा खासै नौलो भएन । बिबिएको स्पेसलाइजेसन नै हो, एमबिए । यो म्यानेजमेन्टका अरू विषयभन्दा धेरै फरक हुन्छ । एमबिए पढ्नेमा कन्फिडेन्स आउँछ । फिल्डमा हुने समस्यालाई लिएर एमबिए कक्षामा विद्यार्थी आफैँले केस स्टडीको रूपमा समाधानसहितको प्रेजेन्टेसन दिनुपर्ने हुन्छ । त्यसैले यो विषय पढ्दा फिल्डमा देखिने सम्भावित समस्या सम्बोधन गर्ने ज्ञान सिकिन्छ ।

यसकारण सफलता
सफलताका लागि इफोर्ट चाहिन्छ । मैले टप गर्छु भनेर पढेकी होइन । एमबिएमा सर्वोत्कृष्ट हुनुमा कुनै जादू पनि छैन । कक्षामा म अलि चनाखो भएर बस्थेँ । शिक्षकले पढाउँदा हरेक विषयवस्तुलाई हामीले देखिरहेको उदाहरणसँग जोड्नुहुन्छ । त्यो बुझ्यो भने धेरै फाइदा हुन्छ । कक्षामा जे बुझ्थेँ, हरेक विषयको छुट्टै नोट बनाउँथेँ । आफ्नै शैलीमा बनाएको नोट जहिले पढे पनि एकैपटकमा बुझिने हुन्थ्यो । मेरो पढ्ने शैली नै यही थियोे । कक्षामा सचेत र घरमा एक–दुई घन्टाजति पढेपछि पुग्थ्यो ।

अरूको निर्णयमा पढेको प्लस–२ साइन्सको नतिजा ठिकै भयो, आफ्नै निर्णयमा पढेको एमबिएमा सर्वोत्कृष्ट भएँ

एमबिए जसले पनि पढ्न सक्छ । बैंकिङ, बिजनेसलगायत सबै व्यक्तिको रुचिको क्षेत्र हुन सक्छ । हरेक क्षेत्रमा व्यवस्थापकीय सीप, कन्भिन्स गर्ने क्षमता र नेतृत्वकला चाहिन्छ । त्यसैले एमबिए हरेक क्षेत्रका लागि प्रभावकारी छ । इन्जिनियरिङ, आइटी पढेकाले पनि एमबिए गरिरहेका हुन्छन् । सीपमूलक भएकाले हरेकका लागि एमबिए उपयुक्त छ ।

एसएलसीमा छात्रातर्फ गुल्मी टप
सानोमा म अलि चञ्चले स्वाभावकी थिएँ । धेरै इफोर्ट नलगाए पनि परीक्षामा राम्रो अंक आइरहेको हुन्थ्यो । एसएलसीमा गुल्मीबाट छात्रातर्फ मैलै टप गरेकी थिएँ । तर, यसपछि के पढ्ने के गर्ने र कुन क्षेत्रमा करिअर बनाउने भन्ने ज्ञान थिएन । राम्रो नम्बर आएकाले मलाई विद्यालयका शिक्षक, साथीभाइ र परिवारले साइन्स पढ्न सुझाब दिए । म प्लस टुमा साइन्समा भर्ना भएँ । यहाँ पनि पढाइ राम्रो चलिरहेको थियो । तर, रुचि नभएको विषयमा जति मिहिनेत गरे पनि उत्कृष्ट नतिजा नआउने रहेछ । त्यसैले प्लस टुमा साइन्स पढ्दै गर्दा म म्यानेजमेन्टमा आकर्षित भइसकेकी थिएँ । प्लस टुपछि परिवारसँग छलफल गरेर संकाय परिवर्तन गरी बिबिए अध्ययन सुरु गरेँ । बिबिएमा राम्रो नतिजा आयो । यसपछि एमबिएमा भर्ना खुल्यो, प्रवेश परीक्षामा नाम निकालेर पढ्न सुरु गरेँ । पढाइ सकेपछि नतिजा पनि राम्रो आयो । आफ्नो रुचिको विषय भएकाले एमबिएमा सर्वोत्कृष्ट भएँ ।

मेरो बुझाइमा प्रेसरले सफल भइँदैन । मनभित्रैबाट अठोट भएमा अलिकति इफोर्ट लगाए पनि राम्रो गर्न सकिन्छ । कसैले यो गर भन्नु र ‘यो गर्न पाए हुन्थ्यो’ भनेर आफैँ अठोट गर्नुमा धेरै फरक हुन्छ । मेरो अवस्था यही हो । साइन्स छाडेर व्यवस्थापनमा आउँदा सुरुमा गलत गरेँ कि भन्ने पनि लाग्थ्यो । तर, प्लस टुमा साइन्स पढ्ने निर्णय मेरो आफ्नो थिएन । अहिले बुझ्दा एसएलसीको अंक हेरेर विषय छान्न नहुने रहेछ । अरूको निर्णयमा पढेको साइन्सको नतिजा ठिकै भयो, आफ्नै निर्णयमा पढेको एमबिएमा सर्वोत्कृष्ट भएँ । सफलता प्राप्तिका लागि काम गर्न मैले पढेको ज्ञानले ठूलो सहयोग गरेकोे छ ।

कस्तोले पढ्ने, कसरी पढ्ने ?
एमबिए सबैका लागि उपयुक्त छ, पढ्न पनि सहज छ । जसले भर्खरै स्नातक सकेको छ, उसलाई अझै सजिलो हुन्छ । स्नातकमै पढेका कतिपय विषयमा एमबिएमा स्पेसलाइज गराइन्छ । ब्याचलर पढेर जागिर गरौँ कि मास्टर्स पढौँ भन्ने अन्योल पनि हुन्छ । पहिला जागिरभन्दा पढाइलाई निरन्तरता दिनु राम्रो हुन्छ भन्ने मेरो अनुभव छ, किनकि जागिर गरेपछि समय दिएर पढ्न सकिँदैन ।

एमबिए पढ्दा जुन ज्ञान हासिल हुन्छ, त्यो स्नातकमा हुँदैन । आजकल कतिपयले जागिरको सुरुवातमै एमबिएको योग्यता खोज्छन् । जे पढेका छौँ, त्यसैमा स्पेसलाइजेसन गर्न पाउनु ठूलो अवसर हो । सिद्धान्त बुझ्न मात्र होइन, सीप आर्जन गर्नका लागि हो, एमबिए । त्यसैले एमबिए अध्ययनपछि करिअर सहज हुनेछ । -नयाँ पत्रीकाबाट साभार

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D