सागर भण्डारी
गुल्मी, भदौ २४ । सार्वजनिकस्थल अतिक्रमण गरेर निर्माणका सामाग्रीहरु नराख्न मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले अनुरोध गरेको छ ।
वडा समितिको भाद्र २३ गते सम्पन्न बैठकको निर्णय बमोजिम सार्वजनिक स्थल र सडक अतिक्रमण गरेर सामाग्री नराख्न र त्यस्ता सामाग्रीहरु राखेको भए एकहप्ता भित्र हटाउन अनुरोध गर्दै वडा कार्यालयले शुक्रवार एक सार्वजनिक सुचना जारी गरेको छ ।
वडा अन्तरगत रहेका गोरेटोबाटो, मोटरबाटो तथा अन्य सार्वजनिक स्थलमा ढुगां, गिट्टी, बालुवा, काठपात, कवाडी सामाग्री लगायत अनाधिकृत तवरले सवारी साधन समेत पार्किङ गर्ने र जसले दुर्घटना निम्त्याउन सक्ने भएकाले यस्तो निर्णय गरिएको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो ।
वडाध्यक्ष घिमिरेका अनुसार यदी त्यस्ता सामाग्री राखेको भए ७ दिनभित्र हटाउन आग्रह गरिएको र सुचनालाई वेवास्ता गरी सामाग्रीहरु नहटाएमा कानुनी कारबाही थाल्ने तैयारी वडाले गरेको छ ।
वडा कार्यालयले घर, गोठ, मठ मन्दिर, भवन लगायतका अन्य संरचना निर्माणका लागि सडकको पहुँच नपुगेका कारण सार्वजनिक स्थानमा निर्माणका सामाग्री राख्नै पर्ने भए वडा कार्यालयको स्वीकृति लिएर राख्न पनि अनुरोध गरिएको छ । वडाको स्वीकृति लिएर केही समयको लागि भने भण्डारण गर्न पाउने व्यवस्था गरिएको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।
