रमेश विश्वकर्मा
गुल्मी, पौष २३ गते । गुल्मी जिल्लाको एक विद्यालयले शैक्षिक सत्र २०७५ देखि २० ८० सम्मको ७५ करोड बढिको पञ्चवर्षिय गुरुयोजना तयार पारेको छ । सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयले यस्तो गुरुयोजना तयार पारेको हो ।
विद्यालयलाई नाम मात्रको नमूना होईन अब काममै नमूना विद्यालय बनाउँ छौं भन्ने उद्घोषका साथ प्रधानाध्यापक केशरबहादुर थापाले १ सय ८७ पृष्ठको गुरुयोजना प्रस्तुत गरेका छन ।
विद्यालयलाई शैक्षिक, भौतिक र आर्थिक रुपमा सबल बनाउने र एक अनुपम उत्कृष्ट नमूना विद्यालय बनाउनका लागि यो गुरुयोजना तयार पारिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज ज्ञवालीले जानकारी दिए ।
प्रस्तुत गुरुयोजना पत्रमा पाँच वर्षका लागि ७५ करोड २४ लाख ५१ हजार बराबरको बजेट पेश गरिएको छ । जसमा शैक्षिक क्षेत्रमा १५ करोड ५५ लाख ५१ हजार, विद्यालयको भौतिक क्षेत्रमा ४१ करोड २७ हजार व्यवस्थापकिय क्षेत्रमा ३ करोड ६२ लाख ४ हजार र अन्य क्षेत्रमा १५ करोड ६ लाख ६९ हजार बराबरको खर्च गुरुयोजनामा समावेश गरिएको छ ।
उक्त बजेट सरकारी तथा आन्तरिक स्रोतबाट प्राप्त हुने गरिएको हो ।
प्रधानाध्यापक थापाले भने–‘नेपाल सरकारबाट २०७४ सालमा जिल्लाकै एउटा नमूना विद्यालयको रुपमा घोषणा भएको यस विद्यालयलाई हामी सबै मिलेर काममा पनि जिल्लाकै एउटा उत्कृष्ट र नमूना विद्यालय बनाउँन कम्मर कसेका छौ , यसमा सरोकारवाला सबैको सहयोगको अपेक्षा राखेका छौं । ’
औसत सिकाई उपलब्धि वृद्धि गर्ने, विद्यार्थी केन्द्रित, सिकाईमैत्री र प्रविधिमैत्री वातावरण सिर्जना गर्ने, विद्यालयलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, आन्तरिक सक्षमताको विकास गर्ने, उत्कृष्ट कक्षाकोठा व्यवस्थापन गर्ने पञ्चवर्षीय गुरुयोजनाको उद्देश्य रहेको उनका भनाई छ ।
त्यस्तै आधुनिक पुस्ताकालय, प्रयोगशाल, छात्रावास र सभाकक्षको निर्माण गर्ने, विद्यालयलाई विद्यार्थी र अभिभावकको रोजाईको केन्द्र बनाउने, विद्यालयका स्रोत साधनहरुको परिचालन गरि आर्थिक रुपमा सवल एवं सक्षम बनाउने गुरुयोजनामा उल्लेख छ ।
विद्यालय र समुदाय विच सुमधुर सम्बन्ध कायम गर्दै विद्यालय कार्यक्रमहरु अघि बढाउने र प्राविधिक धार (कक्षा ९–१२) तर्फको कार्यक्रम सञ्चालन गर्ने पञ्चवर्षीय गुरुयोजनाले परिकल्पना गरेको छ ।
विद्यालयले तयार पारेको विद्यालय विकासको गुरुयोजना स्वीकृतिका लागि रेसुङ्गा नगरपालिकामा पठाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले बताए ।