एक कार्यकाल उपप्रमुख भएका महिला गुमनाम प्रमुखको चर्चामा पुरुष
टोपलाल अर्याल
गुल्मी, २७ चैत । मुसिकोट नगरपालिकामा एमालेले जीवन खरेललाई मेयरको उमेद्वार सर्वसम्मत टुङ्गो लगाएको छ । उपमेयरमा तीन महिलाको चर्चा छ । नेपाली कांग्रेसकी महिला नेतृ बिष्णु सापकोटाले अहिले मुसिकोट नगरपालिकाको मेयरमा दाबी पेश गरेकी छन् । गत स्थानीय तहको चुनावमा सुरुमा मेयरकै दाबी गरेकी हुन् । तर, परिस्थितीले उपमेयरमा चुनाव लडेर पराजित भइन् । अहिले कुनै पनि हातलमा मेयर पद प्रतिस्प्रर्धाबाट बाहिर नजाने सोचमा सापकोटा पुगेकी छन् । तर, उनको पार्टी चुनावी गठबन्धनमा रहेकाले सापकोटाले मेयर वा उपमेयरनै पाउने संभावना कम रहेको कतिपय कांग्रेसकै नेताहरुले बताउने गरेका छन् ।
कांग्रेसबाट हरिनारायण सापकोटा, ज्ञानु सापकोटा र बिर बहादुर जिसीको चर्चा छ । नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी मिलाउनुपर्ने चुनौतिको सामना गर्न गठबन्धनलाई सजिलो छैन् । बिष्णु सापकोटाले मेयर बाहेकका अरु कुनै पदमा बार्गेनिङ्ग नगर्ने बताइन् । उनी मुसिकोट नगरपालिकाको मेयर वा उपमेयरका लागि कांग्रेस भित्रको गत्तिलो उमेद्वार हुन् । ‘म मेयरका लागि के बिषयमा कम्जोर छु । अरु पदमा बार्गेनिङ्ग गरेर आफुलाई कम्जोर बनाउँदैन,’उनले भनिन,‘गठबन्धनको नाममा महिला प्रतिनिधित्व शहिद नहोस् ।’ सापकोटा कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य हुन् ।
संचारिका समुहले आयोजना गरेको स्थानीय तहमा महिला नेतृत्व सुनिश्चता बिषयक अन्तरक्रियामा बोल्ने अधिकांश महिला नेतृले जुनसुकै पार्टीबिचको गठबन्धनले महिला प्रतिनिधीत्व गुम्न नहुनेमा दलहरुको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेस इस्मा गाउँ कार्यसमिति उपसभापति अधिवक्ता पार्वती कुवंरले पनि कांग्रेसको तर्फबाट गाउँपालिका प्रमुख वा उपप्रमुखको संभावनायुक्त उमेदवार हुन् । उनलाई पनि पार्टी गठबन्धनकै कारण महिला सहभागीता जोगाउने चुनौति थपिएको छ । ‘मेरो मानसिकता नेतृत्वकै लागि हो । गठबन्धनका कारण महिला र पार्टी अस्थित्व चुनौति छ,’उनले भनिन,‘जुनसुकै दलले गठबन्धन गरे पनि महिलाहरुलाई प्राथमिकता दिनुपर्छ ।’ उनले महिला संगठनहरु एकतावद्ध भएर पार्टीभित्र दवाद सृजना गर्नुपर्नेमा कुवंरले जोड दिइन् ।
गठबन्धनको कारण माओवादी वा एसलाई उपप्रमुख दिँदा पुरुषहरुकै चर्चा सुरु भएको छ । एमाले नेतृ हिरा कुवंरले एक्लै लड्ने वा गठबन्धन गर्ने जुनसुकै पार्टीले पनि भइरहेको महिला सहभागीतालाई कायम राखेर उपल्ला पदहरुमा महिलाहरुलाई बढाउनुपर्ने बताइन् । त्यस्तै अखिल नेपाल महिला संघकी जिल्ला सचिवालय सदस्य सञ्जिबनी अर्यालले गत निर्वाचनमा सात वटा उपप्रमुख बनाएको एमालेले आफुबाट महिलालाई प्रमुख बनाएर उदाहरण पेश गर्नुपर्नेमा जोड दिइन् ।
एकिकृत समाजवादीकी नेतृ कमला बरालले महिलालाई चुनाव खर्चिलो हुँदा पनि मुख्य पदमा प्रतिस्प्रर्धा गर्न पुरुषको तुलनामा गाह्रो भएको बताइन् । आफैले पालेको कुखुराको अण्डा बेच्न श्रीमानको अनुमति चाहिने समाजमा महिलाहरु ठुलो खर्च गरेर चुनावी प्रतिस्प्रर्धामा आउन नचाहेको बरालले बताइन् । उनले पनि संविधान अनुसार महिला प्रतिनिधित्व आवश्यक भएकाले गठबन्धन हुँदाको छुट समातेर दलहरुले महिलालाई पछाडी पार्न नहुनेमा जोड दिइन् । अहिलेसम्म जिल्लाका ठुला–साना दलले प्रमुखमा कहिँकतै महिला अगाडी सारेका छैनन् । त्यसैमाथि उपप्रमुखमा पनि पुरुषकै चर्चा चलेपछि महिला नेतृहरुको अन्तरसंर्घष सुरु भएको छ ।
प्रमुखका आकांक्षी उपप्रमुख
जिल्लाका १० स्थानीय तहमा उपप्रमुख महिला छन् । उनीहरुले एक कार्यकाल उपप्रमुख भएकाले अनुभवका हिसावले प्रमुख प्राथमिकता पाउनु पथ्र्यो । मिना भण्डारी गुल्मी दरवार गाउँपालिकाको कार्यवहाक अध्यक्ष हुन् । उनले उपप्रमुखसहित केहि महिनादेखि कार्यबाहक अध्यक्षको रुपमा काम गरेकी छन् । अहिले अध्यक्षमा पुरुष आकांक्षी धेरै छन् । तर, भण्डारीले उपप्रमुख र प्रमुुख सहितका अनुभव तथा कार्य क्षमताको हिसाबले आफ्नो गाउँपालिका अध्यक्षमा दाबी पेश गरेकी छन् । बिमला खत्रीले इस्मा गाउँपालिका प्रमुखमा आफ्नो दाबी प्रस्तुत गरिन् ।
उपप्रमुख भएर अब्बल रुपमा पाँच बर्षे कार्यकाल बिताएकाले स्वभाविक रुपमा आफुलाई पार्टीले विश्वास गर्नुपर्ने जिकिर खत्रीले गरिन् । चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्यालले अध्यक्षमा पार्टीबाट आठ जनाको आकांक्षा रहेपनि आफु सवैभन्दा बलियो उमेद्वार भएको बताइन् । उनले उपप्रमुखको पाँच बर्षे कार्यकालभित्र थुप्रै नविनतम कामहरु गरेकाले अनुभव र कामका कारण स्वभाविक दाबा रहेको बताइन् । छत्रकोट गाउँपालिका उपप्रमुख नर्मदा भण्डारी आफ्नो पनि प्रमुखमा दावी रहेको बताउँदै कुनै उपप्रमुख पालिकाको नेतृत्व गर्न असक्षम नरहेको प्रतिक्रिया दिइन् ।
मदाने गाउँपालिकाकी उपप्रमुख सरिता खड्काले आफुहरु पालिकाको नेतृत्व गर्ने प्ररस्त आधारहरु भएकाले स्वभाविक रुपमा अध्यक्षको आकांक्षी भएको बताइन् । तर, उपप्रमुखहरुले आफ्नो दावी प्रस्तुत गरेपनि अहिलेसम्मका पार्टी फोरमहरुमा सवै स्थानीय तहका प्रमुखमा पुरुषहरुकै चर्चा भएका छन् ।
कसैलाई उपप्रमुखकै आशा
रुरु क्षेत्र गाउँपालिका उपप्रमुख लक्ष्मी पन्थ आफ्नो कार्यदक्षता र अनुभवको कारण उपप्रमुखमै काम गर्ने सोँचमा छन् । तर, पार्टीले नेतृत्वकै विश्वास गरे पछि नपर्ने पन्थले बताइन् । मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्मा सोहि पदकै आकांक्षा व्यक्त गरिन् । मेयरकै प्रतिस्प्रर्धी भएपनि पार्टी संरचना पनि मिलाउन पर्ने भएकाले उपमेयरकी काम गर्ने मनस्थिती बनाएको शर्माले बताइन् ।
मुसिकोटमा मेयरको लागि वडाध्यक्षहरुको चर्चा हुँदा शर्मा उपमेयरमै चित्त बुझाउनुपर्ने दबाबमा परिन् । कालिगण्डकी गाउँपालिका उपप्रमुख तारा थापाले अहिले पनि पार्टीले विश्वास गरेको खण्डमा पुन उपप्रमुखकै रुप काम गर्ने चाहाना व्यक्त गरिन् । रेसुंगा नगरपालिकाकी उपमेयर सीता भण्डारी र मालिका गाउँपालिका उपप्रमुख देवा अर्यालले आफ्नो कुनै दावी नभएको बताए । सत्यवति गाउँपालिका उपप्रमुख सुर्वण शाहीले अहिले कुनै निर्णय नभएको बताइन् ।
पार्टी संगठनमै महिला प्रतिनिधित्वको संकट
नेकपा एमालेकाको जिल्ला कमिटी उपसचिवमा सावित्रा आचार्य छन् । एमाले जिल्ला कमिटी पदाधिकारीमा आचार्य एक जना मात्रै महिला छन् । पार्टीको बिधानमा बाध्यकारी व्यावस्था भएकाले मात्रै आचार्य उपसचिव भएकी हुन् । जिल्ला कमिटीमा ३३ प्रतिशत महिला सहभागीता रहेको छ । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति पदाधिकारीमा महिला एक जना पनि छैनन् । त्यो मात्रै होइन संघिय निर्वाचन क्षेत्र र प्रदेश पदाधिकारीमा महिला प्रतिनिधित्व छैन् । नेकपा माओवादी केन्द्रमा अहिले पार्टी संरचना फरक छ । जिल्ला समन्वय समिति बनेको छ । संयोजक बाहेक सचिव र अरु पदाधिकारी एवं सदस्यको टुङ्गो अझै लागेको छैन् । विधान अनुसार ३५ प्रतिशत महिला प्रतिनिधित्व हुने जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।
दलका चिल्ला कुरा मात्रै
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले संविधानमा महिला सहभागीताको एजेण्डा बोक्ने पार्टी भएकाले कुनै शंका नगर्न आग्रह गरे । उनले माओवादी, कांग्रेसले मात्रै नभएर एमाले लगायतका दलहरुले पनि गठबन्धन गर्ने भएकाले सवै दलहरुमा महिला प्रतिनिधित्वको बिषयमा सचेत बन्नुपर्नेमा जोड दिए । कांग्रेस जिल्ला कार्यसमिति सहसचिव धर्मराज पाण्डेले महिलाहरुले क्षमताका आधारमा प्रतिनिधित्व पाउनुपर्ने बताए । उनले अवसरलाई कर्म मार्फत स्थापित गरेर खुल्ला प्रतिस्प्रर्धामा आफुलाई उभ्यानुपर्ने बताए ।
नेकपा एमाले सचिव गणेश श्रीपालीले राजनीति गर्नेहरू कोही असक्षम नरहेको भन्दै महिला पुरुष बराबर भएको बताए । पार्टीभित्र पनि पुरुषवादी चिन्तन र सामाजिक परिवेशले महिला प्रतिनिधित्वमा मुस्किल परिरहेको श्रीपालीले बताए । ‘उपप्रमुख वा उपमेयरलाई केहि योग्यता नचाहिने । तर, प्रमुख र वडाध्यक्ष पदमा योग्यता र महिला कम्जोर देख्न कस्तो मानसिकता,’उनले भने,‘सवैखाले सोँच र प्रवृतिका बिरुद्ध पार्टीभित्र महिलाहरुको अन्तरसंर्घष चाहियो ।’