gulminews logo
मंगलवार, २०८१ बैशाख ११

मतदाता शिक्षा पुगेन गुल्मीमा, कर्मचारी राजनीतिक प्रचारमा खटिए कारवाही हुने

हुमाकान्त पोखरेल,
गुल्मी, ४ मंसिर । कालिगण्डकी गाउँपालिका ३ को जयखानी जिल्लाको पुर्वि विकट गाउँ हो । स्थानीय पूतिर्घाट बजारबाट धेरै माथि पहाडमा त्यो गाउँ छ । दुर्गम भएकाले सरकारका कार्यक्रम र कर्मचारी कम मात्रै पुग्छन् । त्यो मात्रै होइन, दलका चुनावी कार्यक्रम पनि अन्तिमतिर पुग्छन् ।

२६ कार्तिकबाट मतदाता शिक्षा शुरु भएको हो । तर त्यो गाउँमा अझैसम्म कोहि पुगेका छैनन् । ‘भोट हाल्ने तरिका सिकाउन अझैसम्म पनि कोहि आएको छैन्,’ जयखानी छापकी देउरुपा थापाले भनिन्, ‘यसअघि बरु राजनीतिक दलका कार्यक्रताले भएपनि भोट माग्दै मत हान्न सिकाएका थिए ।’ मालिका गाउँपालिका ७ घमिरका भिम बहादुर विकले पनि यसपालि भोट हान्ने तरिका सिकाउन कोहि नआएको बताए । ‘०७० र त्यसअघिका निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २ र गत स्थानिय निकायको निर्वाचनमा ७ ठाउँमा भोट हालियो,’ उनले भने, ‘अहिले तीन ठाँउ हान्नुपर्छ रे, अझै कसैले सिकाएका छैनन ।’

त्यस्तै धुर्कोट गाउँपालिका ४ जैसिथोककी ४५ बर्षिया रुमकला पोख्रेलले मतदाता शिक्षा स्वयमसेविका घरघरमा नआउने गरेको बताइन् । उनले गएका निर्वाचनहरुमा पनि वार्डभेलामा गएर भोट हान्न तरिका सिकेको बताइन् । निर्वाचन आयोगद्धारा खटिएका कर्मचारीले प्रत्येकको घरघरमा पुगेर भोट हाल्ने तरिका सिकाउनुपर्ने हुन्छ । तर विगतका निर्वाचन शिक्षा स्वयमसेवकहरुको प्रवृति हेर्दा झारा टार्ने काम मात्रै भएको छ । आयोगद्धारा खटिएका कर्मचारीले वार्डको केहि ठाँउमा टोल भेला गराउने र उपस्थित हुनेलाई मात्र नमुना मतपत्र देखाएर माइनुट उठाउने गरेको स्थानीयको गुनासो छ । तर यो निर्वाचनमा अझैसम्म कोहि पनि ब्यक्ति वा कर्मचारी मतदाताको घर वा टोलसम्म पुगेका छैनन् ।

सामग्री सहित कर्मचारी खटाइसक्यौ ः निर्वाचन कार्यालय

जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले २६ कात्र्तिकबाट नै मतदाता शिक्षा सुरु भएका बताए । जिल्लाका सबै मतदान केन्द्रमा एक÷एक जनाका दरले कर्मचारी खटाइएको समेत उनले बताए । जिल्लामा आएका चार किसिमका मतदाता शिक्षा सामाग्री कर्मचारीलाई दिएर मतदाता शिक्षा लागि पठाइएको उनको भनाई छ । ‘मतदाता शिक्षा समाग्रीसहित सवै कार्य क्षेत्रमा छन्,’ उनले भने, ‘मंसिर २० गतेसम्म भएपनि उनीहरुले प्रत्येकको घरदैलोमा पुगेर भोट हान्ने तरिका सिकाउनु पर्नेछ ।’ मुख्यगरि निर्वाचन आचार संहिता, प्रदेश सभाको गठन, मतदान गर्ने तरिका र मतदान हुने मिति र समय लेखेको पोष्टर लगायतका सामाग्री मतदाता शिक्षाको लागि पठाईको कार्यालयले जनाएको छ । त्यस्ता सामाग्री सिमित मात्रामा आएकोले थप सामाग्री आउनासाथ आफूहरुले पठाउने कार्यालयका नायव सुब्ब श्याम प्रसाद पाण्डेयले जानकारी दिए । गुल्मी जिल्ला भुगोलको हिसाबले अलि बिकट भएकोले समयमै मतदाता शिक्षा पु¥याउन कठिन भएको समेत उनले बताए । प्रत्येक वार्डका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयम् सेविका र बाल शिक्षाका शिक्षिकाहरु गरी दुई सय ५१ जना मतदाता शिक्षा स्वयमसेवक रहेका छन् ।

दलको प्रचारमा लागे कारवाही गर्छौ

मतदाता शिक्षामा खटिने अधिकाशं कर्मचारीहरु खुलेरै राजनीतिक दलको प्रचार प्रसारमा हिड्छन् । निर्वाचन शिक्षामा खटिएका कतिपय कर्मचारीहरुले गाउँका दलित, गरिबका घरमा गएर विभिन्न प्रलोभन देखाउने, राजनीतिक दलको चुनाव चिन्ह अंकित पोष्टर नै लगेर सिकाउने गरेपछि विबाद समेत तानिएका थिए । तर व्यतिm बिरुद्धको उजुरी नपरेर वा कार्यालयले नचाहेर कारवाही भने भएन् । ‘जिल्लामा शिक्षकले भण्डा बोकेर हिड्दा र निर्वाचनका कर्मचारी खुलेआम प्रचार हिड्दा केहि भएन,’ एक व्यक्तिले भने,‘ थुप्रै फोरममा कुरा उठाए पनि समस्या ज्यूँ का त्यूँ न छ ।’ तर यसपालि भने निर्वाचन कार्यलयले त्यस्ता कर्मचारीलाई कारवाही गर्ने भएको छ । ‘मतदाता शिक्षामा खटिने कुनै पनि कर्मचारी राजनीतिक दलको प्रचार गर्न पाइदैँन,’ गणेश बहादुर खत्रीले भने, ‘यदि राजनीतिक दलको प्रचारमा गएको थाहा भए कारवाही गर्छौ ।’ साथै कार्यलयले कोहि पनि निर्वाचन शिक्षाको कर्मचारी राजनीतिक दलको प्रचारमा गएको जानकारी निर्वाचन कार्यलयलाई दिन समेत सबैमा आग्रह गरेको छ ।

गुल्मीमा झण्डै २ लाख मतदाता

गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । अहिले गएको स्थानीय निकाय चुनावमा भन्दा १५ हजार पाँच सय ६७ मतदाता थप भएका छन । यसअघि एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका थिए । गुल्मीमा पुरुष भन्दा महिला मतदाता झण्डै सात हजार बढि रहेका छन् । महिला एक लाख एक हजार छ सय ६२ र पुरुष मतदाता ९४ हजार छ सय ८० रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D