gulminews logo
शनिबार, २०८१ बैशाख १५

बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु

हुमाकान्त पोखरेल
गुल्मी, चैत्र २९ । इस्मा गाउँपालिकाले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

तत्कालिन अवस्थाका गाउँ विकास समिति अर्थात हालका वडा कार्यालयबाट नगद भत्ता वितरण गर्दा अनियमितता हुने भएपछि सरकारले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको अवधारणा ल्याएको थियो । त्यसैलाई कार्यान्वयन गर्दै इस्मा गाउँपालिकाले दुई बैंकसँग सम्झौता गरी भत्ता वितरण गरिरहेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख बलाराम खनालले जानकारी दिए ।

‘राज्यको नीति र अवधारणाअनुसार भत्ता वितरण काममा खटिएका छौं ।’ खनालले भने, ‘बैंकबाट भत्ता वितरण गर्दा अनियमितता हुने सम्भावना धेरै कम छ ।’
गाउँपालिकामा विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ताका कुल लाभग्राही तीन हजार ५३ जना रहेका छन् । जसमध्ये ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक एक हजार ३५७ जना छन् । उनीहरुले मासिक तीन हजारका दरले एक चौमासिकमा १२ हजार प्राप्त गर्दछन् । दलित ज्येष्ठ नागरिक ३२९ छन्, उनीहरुले मासिक दुई हजार प्राप्त गर्ने खनालले बताए ।

ज्येष्ठ नागरिक एकल महिला ३३१ छन् । उनीहरुले मासिक दुई हजार, ४११ जना विधवाले मासिक दुई हजार, पूर्ण अपाङ्ग ५९ जनाले मासिक तीन हजार, ख वर्गका १३१ जना अपाङ्गले मासिक एक हजार छ सय तथा ४३५ जना दलित बालबालिकाले मासिक चारसय प्राप्त गर्ने शाखा प्रमुख खनालले जानकारी दिए । यो चौमासिकमा कुल दुई करोड ६१ लाख ८३ हजार ९६० रुपैँया खर्च हुने खनालले बताए ।

भत्ताले सहज, बुझ्न सास्ती

इश्मा गाउँपालिका –१ की जानुका महत दुई छोरीसहित घरमा छिन् । छोरीको पढाई खर्च तथा दैनिकीको लागि खर्चिने अन्य रकम पनि उनले एकल भत्ताबाट चलाउदैँ आएकी छिन् । ‘राज्यले खर्च दिएको छ र दैनिकी चलेको छ ।’ उनले भनिन्, ‘यसमा पनि केही रकम बढाइदिए ठिक हुन्थ्यो ।’ तर पहिले–पहिले गाउँबाटै बुझ्दै आएको रकम सदरमुकाम आउदा–जाँदा भने केही रकम खर्च भइसक्ने उनको भनाई छ ।

इस्मा –१ कै रामकुमारी शारुले आफ्नो मात्रै आठ हजार भत्ता बुझिन् । मासिक दुई हजारका दरले पाउने भत्ताले नुन, तेल, चामल लगायतका दैनिक जिवनमा आवश्यक खाद्यान्न किन्ने उनी बताउछिन् । ‘भत्ताले घरखर्च चलेको छ, तर बुझ्नको लागि तम्घास आउनुभपर्ने भयो ।’ उनले भनिन्, ‘गाउँमै बैंक पुगे सजिलो हुन्थ्यो ।’ अर्की स्थानीय उषा पन्थीले पनि सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले लक्षित वर्गलाई धेरै सहयोग पुगको बताइन् । आगामी दिनहरुमा भने बैकिङ्ग सेवा टोल–टोलमै पु¥याउनुपर्ने उनको बुझाई छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, तम्घास, उदिनढुङ्गा शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्तिबाहेक अरुले भत्ता लैजान नमिल्ने बताए । त्यसका साथै बैंकबाट भत्ता वितरण गर्दा आवश्यक रकम मात्र झिक्न सकिने र बैंकमा रहेको बाँकी रकमको ब्याज पनि प्राप्त हुने भएकोले लाभग्राहीलाई थप फाइदा हुने बताए । आगामी दिनमा बैंकले इस्मा गाउँपालिकाको टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने पनि उनले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D