मदाने, २६ जेठ । मदाने गाउँपालिका अग्लुङ्गमा रहेको ओख्लेदह आधारभुत विद्यालयले पुर्व प्रधानाध्यापक भरत बहादुर विष्टलाई बिदाई गरेको छ । ६० बर्ष पुगेपछि प्रधानाध्यापक भरतबहादुर बिष्टले अनिवार्य अवकाश प्राप्त गर्दै गर्दा उहाँलाई विद्यालयले बुधबार एक कार्यक्रम गर्दै विदाई तथा सम्मान गरेको हो ।
विद्यालय स्थापना काल २०३१ कार्तिक १ गतेदेखी विद्यालयको शिक्षण पेसामा जोडिनुभएका विष्ट गत २०७८ फागुन ०९ गतेसम्म विद्यालयमा जोडिनुभयो । विद्यालयको अनिवार्य अवकाश प्राप्त गर्ने सम्म प्रधानाध्यापक भएर विद्यालय र विद्यार्थीलाई अतुलनीय योगदान दिनुभएको छ । उहाँ विद्यालयको प्रधानाध्यापकका रुपमा कार्यरत हुनुहुन्थ्यो । यस विद्यालयमा ४४ बर्षसम्म रहि अध्यापन गराउनुभएका शिक्षक बिष्ट एकदमै शालिन स्वभावका हुनुहुन्छ । सोहि समय देखि नै उहाँले विद्यालयको शिक्षा क्षेत्र र विद्यालय व्यवस्थापनमा सेवा गर्दै आउनु भएको थियोे । त्यतिबेला विद्यालयको अवस्था नाजुक थियोे, भौतिक तथा सामाजिक र आर्थिक क्षेत्रमा अपुर्ण विद्यालयमा अध्यापन गराउदै थुप्रै समस्याहरु भोगेको उहाँको अनुभव छ । निरन्तर एउटै विद्यालयमा ४४ बर्ष अध्यापन गराउदै गर्दा भोगिरहेका समस्यालाई चिर्दै विद्यार्थीको उज्ज्वल भविष्यका लागि निरन्तरता दिनुभयो । विद्यालयको सबैभन्दा पुरानो शिक्षकलाई बिदाई गर्दै गर्दा बिदाई कार्यक्रममा बोल्ने वक्ता तथा विद्यार्थीहरु दुख व्यक्त गरेका छन ।
मदाने गाउँपालिका वडा न १ का वडा सदस्य भगत बहादुर बोहोराको प्रमुख अतिथि रहेको विदाई कार्यक्रमका विशिष्ट अतिथिमा विद्यालयका पुर्व प्रधानाध्यापक भरत बहादुर विष्ट रहनु भएको थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टको सभाध्यक्षमा रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन राउत, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष लाल बहादुर विष्ट, शिक्षक प्रतिनिधि, वि.व्य.स का सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको तथा अभिभावकहरुको उपस्थित रहेको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदाने १ का नवनिर्वाचित जनप्रतिनिधि भगत चन्दले बिदाई हुनुभएका सबैभन्दा अग्रज शिक्षक भरतबहादुर विष्टले गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो साथै अग्लुङ्गमा रहेका विभिन्न विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन उहाँको अतुलनीय योगदान रहेको बताउनुभयो। साथै उहाँ तीन पुस्तालाई अध्यापन गराएको खुलाउनुभयो । आफ्नो बुबा, आफू र आफ्नो छोरालाई गरि तीन पुस्ता समेत पढाएर योगदान गरेको बताउन भयो । विद्यालय समितिका सदस्य कार्यक्रममा बोल्दै ‘आफुलाई पढाएको अग्रज गुरु निरन्तर रुपमा विद्यालयको शैक्षिक गुणस्तरीय निर्माण गरी ठूलो योगदान पुर्याएको’ बताउनुभयो ।
विद्यालयमा हरेक क्षेत्रबाट साथ सहयोग गरिरहने पुर्व विद्यार्थी शिवराज राउतले भन्नुभयो ” ओख्लेदहमा शैक्षिक क्षेत्र नाजुक थियो, मलाई शिक्षक भरत बहादुर विष्टले धेरै कुरा पढाएर,सिकाएर अहिले म यो स्थानमा छु, उहाले गर्दा नै राम्रोसँग अग्रेजी पढ्न र बुझ्न सक्छु, यति मात्र नभएर उहाँले विद्यालयमा अनवरत रुपमा शैक्षिक सेवा गरि विद्यार्थीहरुको ज्ञानलाई फराकिलो बनाउनु भएको छ ।” विद्यालयबाट अनिवार्य अवकास प्राप्त गरि विदाई हुनुभएका विष्टलाई विद्यालयलाई दिएको योगदान प्रति हार्दिक धन्यवाद दिदै कार्यक्रममा शिक्षक प्रतिनिधि मिना विष्ट चन्द लगायत अन्य बोल्ने वक्ताहरुले आगामी भविष्य शुभकामना व्यक्त गरेका थिए ।
प्रधानाध्यापक रहेर काम गरिरहदा उहाँको अग्रजपन सदैव रहिरहयो, विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा उहाँहरुलाई श्रेय दिदै आफुलाई थुप्रै सहयोग गरेको प्रधानाध्यापक अर्जुन राउतले बताउनुभएको छ । उक्त बिदाइ कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका बसन्ता विष्ट र संचालन विवश विष्टले गर्नु भएको थियोे ।