टोपलाल अर्याल
गुल्मी, ४ असोज । जिल्ला प्रशासन कार्यालय गुल्मीले संविधान दिवसको अवसरमा इस्मा गाउँपालिका ५ की ३५ बर्षीया पूर्ण अपाङ्ग बिष्णु कुवंरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरैसहित सुरक्षा निकायको टोली कुवंरको घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । उनले नागरिकता नहुँदा सामाजिक सुरक्षासहितका राज्यबाट प्राप्त हुने सुविधाबाट बञ्चित रहेकी थिइन् । सोमबार इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, उपप्रमुख पार्वती कुवंर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रशासकीय अधिकृत ज्ञान कुमारी भुसालले जानकारी दिइन् ।
माइतीको आगनबाट नागरिकताको आशामा कुवंर
बिष्णु कुवंरले ०६१ सालमा स्थानीय अर्जुन कुवंरसंग बिबाह गरिन् । छोरा १७ बर्षको भए । उनलाई छोरा जन्मिएको केहि बर्षपछि श्रीमानले हेला गर्न थाले । ०६८ सालबाट श्रीमानले कुनै वास्थानै गरेनन् । उनी त्यसपछि माइतमा बस्न थालिन । ४ असोज ०७१ सालमा घर पोत्ने क्रममा अकस्मात कुवंर लडिन । खसेर मेरुदण्ड भाँचिएपछि बुवा लिल बहादुर बस्नेतले उपचारको लागि सवै ठाउँ पुराए । तर, निको हुने उपाय कसैले दिएनन् । उनलाई माइत फर्किएर कष्ट सहनु बाहेक कुनै उपाय भएन ।
श्रीमान र परिवारबाट सग्लो अवस्थामै कुनै सहयोग र सम्बन्ध थिएन । आधा शरिर लिएर बाँचेकी कुवरलाई फर्केर कसले हेर्ने ? जबकी नागरिकता समेत बनाइदिएनन् । माइतको आगनमा बिष्णुलाई पीडा खेपेर बाँचेको जीवन पनि अनागरिक जस्तो बन्यो । बिबाह गरेर गएकी छोरी पूर्ण अपाङ्ग भएर घरमा बस्नु र हुर्कदै गरेको नाति यम बहादुर कुवंरलेको भविष्य सम्झिएर बिष्णुका बुबा लिल बहादुर बस्नेतलाई अझै धेरै पीडा थियो । बस्नेतले न्याय खोज्न अड्डा र अदालत पनि निकै धाए । अदालतले अर्जुन कुवंर र बिष्णुलाई श्रीमान–श्रीमतीको नाता कायम गरिदियो । तर, पनि अधिकार स्थापित भएन । नागरिकताकै लागि माइती पक्षले निकै दुख सहे । लामो समयको प्रयासपछि घरमै सिडिओ पुगेर नागरिकता दिए । जसका कारण परिवार निकै खुसी भएका छन् । ‘परिवारले फर्किएर नहेरे पनि । सरकारले भएपनि सम्झिएर नागरिकता दियो,’उनले भने,‘पीडै–पीडाकाबिच पनि छोरीले केहि राहत महसुस गर्नेछिन् ।’
छोरालाई नागरिकता आमालाई पीडा
बिष्णु कुवंंरका छोरा यम बहादुर कुवर १७ बर्षका भए । छोरा जन्मिएको केहि बर्षपछिनै परिवारमा खटपट प¥यो । उनी माइतमा बस्न थालिन । त्यसैमाथि दैब लाग्यो । जसका कारण पूर्ण अपाङ्ग बनिन् । कुवर लडेपछि छोरा गएर बस्न थाले । त्यसपछि परिवार अझै टाढिएर । छोरा पनि उतै बस्न थालेपछि कुवरको पीडा बल्झिन थाल्यो । उनले परिवारले वास्था नगर्ने र नागरिकता नभएका कारण कानुनी उपचार समेत खोजिन । प्रहरी र प्रशासनले समेत खोजी गरे । तर, नागरिकता बनाइदिन तयार देखिएनन् ।
केहि समय पहिले हजुर बुबा आएर नातिको नागरिकता बनाएर गएको जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रशासकीय अधिकृत ज्ञान कुमारी भुसालले जानकारी दिइन् । ‘सग्लो नाति प्यारो भयो हजुरबुबा आएर नागरिकता बनाएछन् । जसले स्याहार र उपचार पाउने हो त्यो बुहारी हेला,’उनले भनिन्,‘थुप्रै प्रमाण जुटाएर नागरिकता दिएका छौ ।’ गणतन्त्र दिवसमा अर्धचेत अवस्थामा रहेकी रेसुङा नगरपालिका १४ कि ४८ वर्षिया पुनिकला आचार्यलाई पनि सिडिओ घरमै पुगेर नागरिकता दिएका थिए ।
सडक बालबालिकालाई सामग्री
जिल्ला प्रशासन कार्यालय गुल्मीले सडक बालबालिकालाई संविधान दिवसको अवसरमा वाटर डिस्पेन्सर र सरसफाई सामग्री हस्तान्तरण गरेको छ । महेन्द्र माविमा केहि समयदेखि जिल्लामा १८ सडक बालबालिकालाई व्यावस्थापन गरिएको छ । पछिल्लो समय बालबालिकाले बजारमा माग्ने, चोर्ने, संरचना तोडफोड गर्ने र फोहोर खाने गर्दै आएका थिए । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई र पालिकाहरुको पहलमा मिनि होस्टल संचालन गरेर बालबालिकाको व्यावस्थापन गरिएको छ । उनीहरुलाई होस्टलमा तातोचिसो पानीको सहजीकरण र सरसफाईमा टेवा पुराउने उदेश्यले सामग्री हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।