हुमाकान्त पोखरेल
गुल्मी, ०८ जेठ । मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिक पिसिआर् रिपोर्ट पर्खेर बसेका छन् । स्वयम् मृतकको दोस्रो रिपोर्ट र उनीसँग सम्पर्कमा आएका ३० जनाको पिसिआर् रिपार्टको आधारमा थप रणनीति तय गर्ने गाउँपालिकाले जनाएको छ । स्थानीय शिक्षक समेत रहेका मृतकलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ ।
मृतकको स्वाब संकलनमा अस्पतालले गम्भिर त्रुटि गरेकोले उनको दोस्रो पटक स्वाब लिइएको छ भने अर्कोतर्फ गाउँमा संकास्पद मुलकुबाट २१ दिनयता कोहि पनि नआएको र आएका अन्य वडाका मानिसहरु क्वारेन्टाइनमा बसेकोले पनि उनलाई कोरोना संक्रमणबारे अन्योल भएको स्थानीय भरत चन्दले बताए । स्थानीय प्रेम केसीका अनुसार गाउँलेहरु मृतकको दोस्रो पटकको स्वाब र उनीसँग प्रत्यक्ष सम्पर्कमा जोडिएको ३० जनाको स्वाबको रिपोर्ट पर्खेर बसेका छन् । कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीय धेरै त्रसित भएपनि अहिले त्रास विस्तारै हराउदैँ गएको उनले बताए ।
रिपोर्ट पोजेटिभ आएमा परिक्षणको दायरा बढाउने
स्वास्थ्य कार्यालय, गुल्मीका अनुसार गाउँका ३० जनाको पिसिआर् रिपोर्ट बिहिबार साँझसम्म आउदैछ । स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिको मोबाइलमा समेत रिपोर्टको म्यासेज आउनेछ । उक्त रिपोर्टका आधारमा गाउँपालिकाले परिक्षणको दायरा बढाउने प्रमुख प्रशासकिय अधिृकत सुरेश भण्डारीले बताए । ‘कहाँ र कोबाट कोरोना संक्रमण भयो भन्नेबारे नै अन्योल छौ ।’ उनले भने, ‘स्थानीयको पनि रिपोर्ट पोजेटिभ आएमा परिक्षणको दायरा बढाउने तयारीमा छौ ।’
त्यसको लागि आवश्यक किटको व्यवस्था गर्ने आश्वासन प्रदेश र संघिय सरकारबाट आएकोले किटको अभाव नहुने उनले बताए । अहिले गाउँपालिकालाई पूर्ण रुपमा शिल गरिएको छ । मानिसहरुलाई घरबाहिर निस्कन तथा हिडड्डुल गर्नलाई आजबाट पूर्णरुपमा प्रतिबन्ध गरिएको उनले जानकारी दिए । अहिलेसम्म ३५ जना प्रत्यक्ष र १५० भन्दा बढी अप्रत्यक्ष १५० सम्पर्कमा आएका छन् ।