टोपलाल अर्याल
३१ बैशाख, गुल्मी। धुर्कोट गाउँपालिकाले दुई दिन भित्र प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने भएको छ । धुर्कोट गाउँकार्यपालिकाको बैठकले जिल्ला सिल गर्ने निर्णयसंगै लकडाउनलाइ अझै प्रभाबकारी बनाउन प्रत्येक वडामा बिहिवारबाटै हेलिप्याड निर्माण गरिने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए ।
बिपतको बेलामा अत्यावश्यक सामग्री ल्याउन र बिरामी तत्काल रेफर गर्नुपर्ने स्थिति पनि आउन सक्ने भएकाले प्रत्येक वडामा हेलिकप्टर बस्ने हेलिप्याड निर्माण गर्ने सोच आएको पोख्रेलले बताए । साथै बैठकले जिल्ला भन्दा बाहिर बाट आउनेलाई २१ दिनसम्म क्वारेण्टिनमा राख्ने, धुर्काेट गाउँपालिकाको केन्द्रमा रहेको देविस्थान प्रा.वि मा २० बेडको आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाबाट सञ्चालित योजनाहरुको सम्झौता, सिफारिस तथा फरफारक गर्ने कार्य समेत जेठ ५ सम्मका लागी बन्द गरिएको गाउँपालिका उपप्रमुख शिव बहादुर केसीले बताए । धुर्कोट गाउँपालिकाका सम्पुर्ण प्रवेश नाकाहरुमा थप स्वयमसेवक र सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको केसीले बताए ।