gulminews logo
मंगलवार, २०८० चैत्र ६

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

हुमाकान्त पोखरेल
गुल्मी, ८ असार । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । सोमबार आ.व. २०७८÷७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । गाउँपालिकाले उत्पादनमा आधारित अनुदान, मासुमा आत्मनिर्भर गाउँपालिका, दुध उत्पादन, सितभण्डार संचालन लगायतका बिषयमा गाउँपालिकाले सफलता हाँसिल गरेको दाबी गरेको छ । धुर्कोट कोटको पुननिर्माण तिब्र रुपमा भएको, कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागु भएको, पछिल्लो चार बर्षमा पालिकामा ९६ वटा विद्यालयका भवन बनेको, सातमध्ये छ वटा स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती गृह संचालन लगायतका उल्लेख्य काम गरेको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । हालसम्म गाउँपालिकाका दुई हजार २०३ जनाले कोरोना खोप लगाएको र अन्य नागरिकलाई खोप लगाउन पनि गाउँपालिकाले पहल गर्ने जनाइएको छ ।

आगामी आर्थिक बर्षमा गाउँपालिकाले कोरोना कारण रोजगार गुमाएर गाउँ फर्किएकाहरुलाई कृषिमा प्रेरित गर्नका लागि विभिन्न अनुदान, तालिम, प्रविधि एवम् कृषि ऋणको ब्याजमा अनुदान दिने जनाएको छ । २५ रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानलाई तीन बर्षसम्म अनुदानको ब्यवस्था, व्यवसायिक च्याउ खेती, वडा नम्बर १ नयाँगाउँमा सुन्तला नर्सरीको स्थापना तथा प्रत्येक हप्ताको एक बार एउटा वडामा घुम्ती हाटबजार संचालन गर्ने नीति गाउँपालिकाबाट पारित भएको छ ।

केन्द्रमा औद्योगिक ग्राम

धुर्कोट गाउँपालिकाले गाउँपालिकाको केन्द्र बर्बोटमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । परम्परागत रुपमा रहेका आरन, सिलाई–कटाई तथा जुत्तासिलाई व्यवसायलाई प्रवद्धन गर्ने, डोका, नाम्ला, डाला लगायतका स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादित सामग्रीलाई गाउँपालिकाले बजारीकरण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रत्येक वडाबाट पर्यटकीय क्षेत्र छनोट गरी प्रचार–प्रसार गर्ने

धुर्कोट कोटमा निर्माणाधिन संग्राहालय यसै बर्ष सम्पन्न गर्ने, गाउँपालिकाभित्रका महत्वपूर्ण पर्यटकीय ठाउँहरुलाई कृषि पर्यटन तथा प्रत्येक वडाबाट एकवटा पर्यटकीय क्षेत्र छनोट गरी प्रचार–प्रसार गरिने गाउँपालिकाले जनाएको छ । अभिभावकबिहिन बालबबालिकाहरुलाई माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गाउँपालिकाले गर्ने, पाञ्चायन माविमा निर्माणाधिन छात्रावासलाई संचालनमा ल्याउने, कृषिमा अध्ययनरत विद्यार्थीहरुको घर कृषि टनेल निर्माण गर्ने कार्यक्रम पनि गाउँपालिकाका प्राथमिकतामा परेका छन् । यस बर्षसम्म पालिकाका ८० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, जैसिथोकमा ल्यान्डफिल्ड साइड संचालन गर्ने, अपाङ्गहरुले संचालन गर्ने व्यवसायका लागि मेसिन खरिदमा ८० प्रतिशत अनुदान दिने कार्यक्रम धुर्कोटले राखेको छ । त्यस्तै धुर्कोट गाउँपालिकालाई आधारित बनाई पत्रकारिता गर्ने पत्रकारलाई विशेष सहयोग गर्ने कार्यक्रम पनि समेटिएको अध्यक्ष पोखरेलले बताए ।

आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि

नयाँगाउँ, पिपलधारा र हाडहाडेलाई सुन्तलाको सिजनमा, वाग्लाको मानचौर, रजस्थलको कुमालटारी र बेलटारी क्षेत्रलाई कृषि पर्यटनको रुपमा विकास गर्ने, ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण गर्ने, अन्तर स्थानीय तहबीच समन्वय गरी आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि गर्ने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएका छन् । बेरोजगारी अन्त्य गर्न युवालाई उद्यमशिलता, तथा व्यवसायिक सीपको तालिम संचालन गर्ने, सामाजिक विकासका लागि युवाहरुलाई परिचालन गर्ने, गाउँपालिकास्तरिय खेलकुद विकास समिति गठन गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको अध्यक्ष पोखरेलले बताए ।

बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययन

गर्भवतीहरुका लागि निःशुल्क एम्बुलेन्स र पोषणका कार्यक्रम, घुम्ती स्वास्थ्य शिविर, अबको एक बर्षमा पालिकाका ८० प्रतिशत नागरिकको घरमा एक घर–एक धारा पु¥याउने, दलित, जनजाति र अपाङ्गहरुका लागि विशेष कार्यक्रम संचालन गर्ने, सहिद तथा द्धन्द्धपीडित लक्षित कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम गाउँपालिकाले समेटेको छ । गाउँपालिकाभित्र बसपार्क स्थापना गर्ने कार्यको सम्भाव्यता अध्ययन गर्ने, दैनिक रुपमा सवारी चल्ने सडकहरुमा सडक मजदुरको व्यवस्था गर्ने, निर्माणाधिन पुलहरु समयमै सम्पन्न गर्नका लागि पहल गर्ने, सिँचाईसम्बन्धी विशेष कार्यक्रम संचालन गर्ने पनि गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई खरका छानामुक्त पालिका घोषणा गर्ने, वाग्लामा निर्माणाधिन नमुना बस्तीको निर्माण कार्य सम्पन्न गर्ने, उज्यालो गाउँपालिका घोषण गर्नको लागि पहल गर्ने पनि गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ । सामुदायिक बनहरुको संजाल बनाई सामुदायिक बनबाट हुने आम्दानीलाई आयआर्जन तथा गरिबी निवारणको क्षेत्रमा लगानी गर्ने, वृक्षारोपण, तटबन्ध, नदी नियन्त्रण तथा जलवायु अनुकुलनका कार्यक्रमहरुको संचालन तथा एक वडा एक नर्सरी स्थापनाका लागि जोड दिने गाउँपालिकाले अध्यक्ष पोखरेलले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सार्वजनिक स्थानमा वर, पिपल र स्वामीका विरवाहरु रोपण गर्ने, एक टोल–एक सुख्खा पोखरी निर्माण गर्ने, कोरोना भाइरस विरुद्धका विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्ने, गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रकम अभाव हुन नदिने, र विपतको न्यूनिकरणका लागि विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी कार्य अगाडी बढाउने गाउँपालिकाले जनाएको छ । सेवा प्रवाहमा फरक क्षमता भएकाहरुलाई विशेष प्राथमिकता दिने, वडा कार्यालय तथा गाउँपालिकाका विभिन्न शाखाहरुबाट सञ्चालन हुने कार्यहरु पालिकाको प्रणालीबाट अनुगमन हुने र उपभोक्ता समितिको कामलाई छिटो छरिदो बनाउको लागि समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम संचालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D