हुमाकान्त पोखरेल
गुल्मी, ०५ असौज । दोषिलाई कारवाहीको माग गर्दै नेपाली काङ्ग्रेस गुल्मीले आन्दोलन गरेको छ । गत भदौ १९ गते रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा कुटपिट गर्ने युवाहरुलाई गुल्मी काङ्ग्रेसले कारवाहीको माग गरेको हो । कारवाहीको माग गर्दै आज उसले ¥याली निकालेको छ । पार्टी कार्यालय, बि.पि. स्मृति भवन क्याम्पसरोडबाट निकालिएको ¥याली भिमचोक, पुलतीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको थियो ।
¥याली गर्दै काङ्ग्रेसको समुह प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप परेको छ । झडपमा काङ्ग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामी लगायत घाइते भएका छन् । भने दुई जना नेपाल प्रहरी गरी आधा दर्जन सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । भने दुईजना सुरक्षाकर्मीको हेलमेटमा क्षति पुगेको श्रेष्ठले बताए ।
के थियो बिषय ?
रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा रहेको रानिपोखरी निम्न माध्यमिक विद्यालय भत्किएपछि राष्ट्रिय पुन निर्माण प्राधिकरणमार्फत काम हुनेगरी चारकाठे भवनको काम गर्नको लागि ७० लाख ४० हजार बजेट बिनियोजन भयो । बजेटको कार्यान्वयनको लागि विद्यालयमा दुईवटा सर्वदलिय तथा सर्वपक्षिय भेलाको आयोजना भयो । जसमा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण सुरु गर्ने निर्णय भयो । व्यवस्थापन समितिमार्फत हुने कुनै पनि काममा ठेक्का दिन पाइदैन । तर निर्माण समितिले विनोद विकलाई १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दियो । त्यसपछि स्थानीय गिरीप्रसाद महाकिम लगायतले ठेक्का दिने कार्य रोक्न भदौ १७ गते वडा कार्यालयमा निवेदन दिए । तर व्यवस्थापन समितिले उनीहरुको निवेदनको अवज्ञा गर्दै ठेकेदारमार्फत काम गराउन खोज्दा झडप भएको हो । गिरीप्रसादले वडाध्यक्ष लगायतको समुहले ठेकेदारमार्फत काम गराएर विद्यालयको ठुलो रकम हिनाबिना गर्न खोज्दा झडप भएको आरोप लगाए ।
साउन २५ कै निर्णयबमोजिम भदौ १९ गते निर्माण व्यवसायिमार्फत दुइजना भवन भत्काउन पुगे । तर त्यहाँ काम नभई झडप भयो । झडपमा स्थानीय अमित बस्नेत र केयरसिंह टन्डन घाइते भए । टन्डनको ढाडमा समस्या देखिएको छ भने बस्नेतको खुट्टामा चोट लागेको वडाध्यक्ष कुलबहादुर टन्डनले बताए । उनीहरुलाई स्थानीय दान बहादुर तङ्नामी, भिम रास्कोटी, ओम बहादुर टन्डन र खेत बहादुर टन्डनले कुटपिट गरेको वडाध्यक्ष टन्डनले बताए । शिक्षाऐनको नियमअनुसार वडाध्यक्ष टन्डन उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन् । उनले सोहि ठाउँकै बोर्डिङ संचालक ओम बहादुर टन्डनले सरकारी विद्यालय राम्रो बनाउदाँ उनको बोर्डिङलाई असर गर्ने भएकोले ओम बहादुरले केही स्थानीयमार्फत काममा अवरोध गरेको आरोप लगाए । तर विद्यालय संचालक ओम बहादुरले भने वडाध्यक्षले भन्दा आफुले नै रानिपोखरी निमाविलाई बढी प्राथमिकता दिएर काम गरेको बताए । आफुले राम्रो कार्यक्षमता देखाउन नसकेर वडाध्यक्षले आफुलाई अनावश्यक आरोप लगायको प्रतिक्रिया दिए । त्यसका साथै वडाध्यक्ष कुलबहादुरले नै झगडा गर्न समुह पठाएको आरोप लगाए ।
दोषि किन पक्राउ परेनन् ?
झडपमा पीडित पक्ष नेपाली काङ्ग्रेस निकट हुन् भने पीडक पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट हुन् । जसका लागि काङ्ग्रेसले नै अगुवाई गरेर जिल्ला प्रहरी कार्यालय, गुल्मीमा निवेदन दर्ता गरायो । काङ्ग्रेसले अहिले आफ्ना कार्यक्रताको पक्षमा आन्दोलन गरेको छ । पीडक पक्षलाई पक्राउ गरी कारवाही गर्नको लागि काङ्ग्रेसको समुह असौज २ गते प्रहरी कार्यालय पुग्यो । तर अहिलेसम्म पनि कुटपिट गर्नेहरु पक्राउ नपरेपछि काङ्ग्रेसले आन्दोलन गरेको हो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले प्रहरी कार्यालयमा किटानी जायरी परेको र दोषिमाथि कारवाही हुने बताए । पटक–पटक पक्राउ गर्न प्रहरी पठाउँदा पनि दोषिहरु नभेटाएकोले उनीहरुको खोजि भइरहेको उनले बताए ।