काैरव खत्री
गुल्मी, २६ असाेज । नेपाली मौलिक बाजाको संरक्षणसगै स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा आयोजित तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला मंगलबारदेखी सुरु भएको छ ।
महाेत्सवकाे उद्घाटन समारोहमा सम्बोधन गर्दै मुसिकाेट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले संस्कृति र कलाले सबै समुदाय वर्ग र जातजातिलाई जोड्ने भन्दै मौलिक कला संस्कृति र सांस्कृतिक परम्परा जोगाउन यस महोत्सवले मुख्य भूमिका खेलेको बताउनुभयो ।
साथै नगरप्रमुख खरेलले लोपोन्मुख संस्कृति, परम्परा र मौलिक कलाहरुको संरक्षण र प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमले सिगों मुसिकोट प्रतिनिधित्व गर्ने गरी अझै ९ वटै वडालाई नै समेटेर अगाडी लैजान सुझाव दिनुभयो ।
साेही अवसरमा कार्यक्रमका त्रिभुवन विश्व विद्यालयका अंग्रेज़ी केन्द्रीय विभाग प्रमुख प्रा.डा.जिवलाल सापकोटाले विश्व संस्कृतिमा सबैभन्दा प्राचीन र उत्कृष्ट संस्कृति बनेको नेपाली संस्कृति विस्तारै लोपोन्मुख अवस्थामा रहेकाले त्यसको जगेर्नासगैं मौलिक प्राचिन संस्कृतिसगं नयाँ पुस्तालाई साक्षात्कार गराउन र पुस्तान्तरण गर्न महोत्सव नेपालकै नमुना महोत्सव सावित भएको बताउनुभयो ।साथै सापकोटाले यस्ता संस्कृतिहरु पाठ्यक्रममा नै समावेश गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
महाेत्सवकाे पहिलो दिन अन्तगत भएकाे तेस्रो नाैमती बाजा प्रतियोगितामा
ताराखाेला नाैमती बाजा समुह अर्गल बागलुङले नगद रु ५५ हजार ५ सय ५५ रूपैया सहित नगद चेक सहित प्रथम पुरस्कार प्राप्त गरेकाे छ ।त्यस्तै
भिरखानी नाैमती बाजा समुह चन्द्रकाेट गाउँपालिका,गुल्मीले ४४ हजार ४ सय ४४ रूपैया नगद चेक सहित द्वितीय स्थान हासिल गर्न सफल भएकाे छ।
त्यस्तै बुटवल नाैमती बाजा समुह रूपन्देही ले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद चेक हात पादै तृतीय स्थान हासिल गरेकाे छ।
बागलुङको गल्कोट,तमानखोला, ढोरपाटन तथा बुटबल र गुल्मीका विभिन्न ठाउँका गरी १७ वटा समुहले प्रतियोगिता सहभागी जनाएका छन् । पञ्चेबाजामा कलाकारहरुबीच दोहोरीका साथमा नृत्य समेत सञ्चालन भएको थियो । त्यस्तै नाैमती बाजा प्रतियोगितामा सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही बादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ ।
नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला नौमती सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न झाँकी तथा स्थानीय विभिन्न जातजातिका आ-आफ्नै मौलिक संस्कृति समेत प्रस्तुत गरिएको थियो । यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्ने उद्धेश्य सहित प्रस्तुत गरिएको स्थानीय विभिन्न झाँकीहरुले समग्र स्थानीय संस्कृतिलाई एउटै मञ्चमा प्रतिनिधित्व गरेको थियो ।
उक्त अवसरमा मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको सयुंक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, वामीबजारको लाखे नाच प्रस्तुत गरिएको थियो । वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गरेको हो । समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ४ वर्षपछि गरिएको छ ।
वामी विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समिति अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रम सयोंजक नारायण सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । महोत्सवमा विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो ।
महोत्सवको दोश्रो दिन आज राष्ट्रिय कलाकारहरु खेम सेन्चुरी, रामचन्द्र चन्द, तिलक बस्नेत, बालचन्द्र बराल,विष्णु श्रीपाली,सिमा थापा,मोडल ओबी रायमाझी नृत्यागांना अस्मिता रणपाल लगायतको प्रस्तुती रहनेछ ।