टोपलाल अर्याल
गुल्मी, ८ फागुन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आगोले ध्वस्त गुल्मी मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटका अग्नीपीडितलाई राहत हस्तान्तरण गरेका छन् । १८ वैशाख ०७३ मा जंगलको आगो एक्कासी बस्ती पसेपछि एक जनाको मृत्यु भएको थियो ।
आगोबाट एउटै गाउँका ५७ घर र झण्डै पाँच दर्जन पशु चौपाय जलेर खरानी भएका थिए । भने १७ घरमा आंशिक क्षति पुगेको थियो । मन्त्री बिष्टले पूर्ण रुपमा घर क्षति भई पुन: घर निर्माण गरेका प्रति परिवारलाई एक-एक लाखका दरले राहत प्रदान गरेका हुन् । अग्नी पीडितहरुको लागि मुसिकोट नगरपालिकाले प्रति परिवार एक-एक लाख राहत दिने निर्णय अनुसार बुधबार ११ जना पीडित परिवारलाई राहत प्रदान गरिएको मेयर सोमनाथ सापकोटले बताए । आगलागिको झन्डै ३४ महिना पछी दजाकोटका ११ पीडितहरुले राहत प्राप्त गरेका हुन् । यस अघि घर निर्माण गरेर सकिसकेका ३० घरले प्राप्त गरिसकेको सापकोटले बताए ।
घर जले पनि मन पलाएका छन्: मन्त्री बिष्ट
वडागाउँ दजाकोटका अग्नीपीडितहरुलाई राहत प्रदान गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले दुई बर्षमा दजाकोटको पुर्ननिर्माण देखेर आफु अत्यन्तै खुसी भएको बताए । उनले गाउँ जलेको त्यो दिन आज कल्पना पनि गर्न नसकिने भन्दै पीडाकाबिच दजाकोटलाई अहिले अवस्थामा ल्याई पु¥याउने सवैलाई धन्यबाद दिए । ‘२०७३ सालमा घर र मन दुवै जले,’मन्त्री बिष्टले भने,‘ घर जले पनि मन पलाए,त्यसैले त्यो पीडा तस्विर मात्रै भएको छ ।’ उनले पुर्ननिर्माणसंगै दजाकोटलाई होमस्टेका रुपमा विकास गर्न सकिने भएकाले खानेपानीको समाधान गरि आयआर्जक कार्यक्रम अगाडी बढाउने बताए ।
पूर्ण कुमारीको मन फर्केको छैन
आँखै अगाडी श्रीसम्पती गुमाएकी दजाकोटकी पूर्ण कुमारी छन्तेलको मन अझै फर्किएको छैन् । ऋण धन गरेर परिस्थिति फेरिएको छ । छन्तेलसंग भुकम्प रहित घर, चार÷पाँच वटा बाख्रा र दुई वटा भैसी छन् । तर आफुले मेहेनत गरेर ठडाएको पुरानो घर र सम्पती सम्झेर आँखाबाट आँसु खसालिन । सोहि स्थानका यमा गाहालाई त्यो जलेको गाउँ फेरि फेरिएला भन्नेनै लाग्दैन्थ्यो । आगोले सवै सक्यो । ‘भगवानका कृपाले सवैले सहयोग गरे,’ गाहाले भनिन,‘अहिले एटेज बाथरुम सहितको तीन कोठे भुकम्प रहित पक्की घर छ ।’
तीन किसिमका घर
गाउँमा पहिले होचा, कच्ची र खरे घर धेरै थिए । त्यस्ता घर धेरै किसिमले असुरक्षित पनि भए । गाउँमा धेरै घर खर र कच्ची भएर पनि आगोले धेरै क्षति ग¥यो । अहिले गाउँमा तीन किसिमका भुकम्प रहित पक्की घर मात्रै छन् । भुकम्प प्रतिरोधी र अग्ला भएकाले भित्र बाहिर गर्दा ठोक्दिैन् । लिप्न नपर्ने भएकाले माटो नचाहिने र पारदर्शी हावादर भएकाले सफा रहेको स्थानीय गान बहादुर गाहाले बताए ।
जिल्ला प्राविधिक कार्यालय गुल्मीले एक तल्ले दुई कोठे, तीन कोठे र चार कोठे घर बनाउन स्विकृती प्रदान गरेको छ । आगोले ध्वस्त भएको दजाकोट गाउँका अधिकांश घरहरु निर्माण भएका छन् । ५७ पूर्ण र १७ आंशिक क्षति भएका थिए । वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिले दजाकोटका घरहरुको पुनर्निमाणका लागि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरेर काम थालेको थियो ।
जसमध्ये अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्येमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखेर काम गरिएको स्थानीय तथा मुसिकोट नगरपालिकाको सामाजिक विकास समिति संयोजक हरि छन्तेलले बताए । ‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप तीन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार र ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाएको छन्तेलले बताए ।
अग्नी स्मृति स्मारक निर्माण गरिदै
आगोले ध्वस्त दजाकोटको ९५ प्रतिशत निर्माण भइसकेको छ । बाँकी केहि घर निर्माण भएपछि दजाकोटमा अग्नी स्मृति स्मारक निर्माण गरिने मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हरि छन्तेलले बताए । उनले सवैको साथ र सहयोगमा दजाकोटलाई छोटो समयमै पुरानो अवस्थामा फर्कान सकिएको भन्दै आउने बैशाख १८ गते स्मृति स्मारक निर्माण तथा सहयोग पुराउने सहयोगदातालाई सम्मान गर्ने योजना आफुहरुको रहेको बताए । पुर्ननिर्माणको लागि स्वदेश तथा बिदेशबाट झण्डै दुई करोड संकलन भएको थियो ।