टोपलाल अर्याल
गुल्मी, १ असार । गुल्मी अस्पताललाई गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीले झण्डै १२ लाख बराबरको स्वास्थ्य उपकरण र सामग्री सहयोग गरेको छ । ट्रष्टले कोभिड–१९ को नियन्त्रण र उपचारमा आवश्यक पर्ने १२ लाख ८२ हजार ९ सय २० रुपैयाँको उपकरण र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
अक्सिजन कन्सन्टेटर ४ थान, पल्स अक्सिमिटर ३० थान र पिपिई ३ सय सेट प्रदान गरिएको गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीले जनाएको छ । त्यस्तै सर्जिकल माक्स र ग्लोब्स १÷१ हजार, सेनिटाइजर, मेडिकल ग्राउन लगायतका सामग्री गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीका प्रमुख गमबहादुर थापाले जानकारी दिए । उनले गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई उपकरण र सामग्री प्रदान गरेका हुन् ।
कोभिड–१९ को बिषम परिस्थतीमा आफुहरुले अस्पताल मार्फत सानो सामुदायिक सहयोग गर्न पाएकोको गोर्खा वेल्फेयर ट्रष्टका प्रमुख थापाले खुसी व्यक्त गरे । उनले पहिलो चरणको कोभिड–१९ मा पनि गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य उपकरण तथा सामग्रीहरु सहयोग गरेको जानकारी दिए ।
गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले ट्रष्टको मानवीय सेवा भावबाट आफु प्रभावित भएको बताए । उनले ट्रष्टले पहिले र अहिले गरेर दुवै चरणमा अस्पतालप्रति गरेको सहयोग र सद्भाव निकै अनुकरणीय रहेको बताए । ‘आफ्नो कर्तव्य बाहेक बिपद्मा ट्रष्टले गरेको सहयोग अत्यन्तै प्रसंसनीय छ,’उनले भने,‘सवैको साथ र सहयोगलेनै हामीहरु महामारीसंग जुधिरहेका छौ ।’