सन्जु काउछा
पुष ११ । झण्डै दुई तिहाईको सत्ता बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएसँगै प्रदेश र जिल्ला स्तरमा पनि राजनीतिक धुब्रिकरण तिब्र बनेको छ । नेकपा विभाजन भएसँगै अन्य जिल्लाहरुमा जस्तै गुल्मीमा नेता कार्यकर्ताबीच जोड घटाउ सुरु त भएको छ नै दुईपक्षका नेता कार्यकर्ताहरुको बिबाद पनि चरम उत्कर्षमा पुगेको छ । जिल्लामा नेकपाको बिबाद कती सम्म चुलिएको छ भन्ने कुरा शनिबार साँझ जिल्लाका केही नेता कार्यकर्ताहरुले सामाजिक सन्जालमा दिएको अभिब्यक्ती र तीनमा आएका कृया प्रतिकृयाहरुबाट सजिलै बुझ्न सकिन्छ ।
आईतबार बिहान प्रचन्ड-नेपाल पक्षले नेकपाको जिल्ला बैठक डाकेको छ । भोली पुष १२ गते मदन आश्रीत स्मृती भवन तम्घासमा आयोजना गरिएको बैठकमा ओली पक्षका नेता-कार्यकर्ताहरुले भने कसैलाई सहभागी नहुनु भनेका छन् । नेकपा जिल्ला अध्यक्ष मधु कृष्ण पन्तले फेसबुक मार्फत नै भोली हुने भनिएको बैठकमा सहभागी नहुन भनेका छन् । उनले यस्तो लेखेका छन्, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी गुल्मीकाे बैठक भनि २०७७-९-१२का लागि जिल्ला अध्यक्षकाे सल्लाह बिना बाेलाइएकाे बैठक भन्ने सुनेकोले यस्तो बैठकमा सहभागी नहुन जिल्ला कमिटी गुल्मीका कमरेडहरूलाइ जानकारी गराउँछु ।”
उता प्रचन्ड-नेपाल समुहका नेताहरुले भने जिल्ला अध्यक्ष पन्तले सिंगाे पार्टी अध्यक्षकाे आधिकारिकता गुमाई सकेको र आफुहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीकाे आधिकारिक वैठक सन्चालन गर्न लागेको बताएका छन् । केन्द्रीय समितकाे वैठककाे राष्ट्रिय कार्यक्रम अनुसार जिल्ला पार्टी कार्यालय तम्घासमा वैठक आयाेजना गरिएकाे जिल्ला सचिव वीर वहादु्र कार्किले बताए । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेकाे संसद विघटनका विरुद्दमा पार्टी केन्द्रीय समितिले सार्वजनिक गरेकाे विराेध कार्यक्रमलाई जिल्लामा कार्ययाेजना वनाएर कार्यान्वयन गर्ने मुख्य एजेन्डा रहेको पनि कार्कीले गुल्मीन्युजलाई जानकारी दिए ।
त्यस्तै बैठकले पार्टी बिधान बिपरीत कार्य गरेकोमा अध्यक्ष मधु कृष्ण पन्तलाई कारवाही गर्न सक्ने पनि नेकपा गुल्मीका एक नेताले जानकारी दिए । “मधुकृष्ण पन्त पार्टीकाे अर्को गुटकाे कथित केन्द्रीय सदस्य भईसक्नुभएकाले सिंगाे पार्टी अध्यक्षकाे आधिकारिकता गुमाईसक्नुभएकाे छ ।”, नेकपा जिल्ला कमिटी सचिबालय गुल्मीका सदस्य अशोक थापाले भने, “हाम्रो पार्टी हित र बिधान बिपरीत कार्य गरेकाले वहाँलाई कारवाही हुन सक्छ ।”
उता अनेरास्वब्यु केन्द्रिय सदस्य तथा ओली निकट नेकपा गुल्मीका युवा नेता काशीराम पाण्डेले नेकपा गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तलाई कारवाही गर्छौँ भन्नु कुतर्क मात्र रहेको र आईतबार हुने भनिएको बैठकका कुनै पनि निर्णयहरु बैधानीक नहुने बताए । “अनौपचारिक बैठकले कसलाइ के कारवाहि गर्छ या अवैधानिक बैठकले गरेकाे कुनैपनि निर्णय बैधानिक नै हुँदैनन्, उहाँहरूका यि तर्क नभएर कुतर्क हुन्”, पाण्डेले गुल्मीन्युजसँग भने, “पार्टी अध्यक्षले याे बैठक नितान्त ब्याक्तिगत, गुटगत मात्र बैठक हाे भनिसक्नुभएकाे अवस्थामा यस्ता बैठककाे कुनै अर्थ छैन ।”
बैठकमा ११ जना प्रदेश समितिका सदस्य मध्ये ८ जनाकाे उपस्थिती हुने र १४६ जना जिल्ला कमिटि सदस्य मध्य अधिकांश उपस्थित हुने प्रचन्ड-नेपाल निकट एक प्रदेश समिति सदस्यले दावी गरे । बैठकमा प्रदेश समितिका कार्यालय सदस्य तथा सामाजिक विकास मन्त्रि सुदर्शन वराल पनि उपस्थित हुने उनले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल गुल्मीका संयोजक मोहन प्रसाद पाण्डेले प्रचन्ड-नेपाल समुहले आयोजना गरेको बैठकले गुटगत हल्ला फिजाउने र सम्बन्धमा खलल पुर्याउने भन्दै बैठकमा सामेल नहुन आफ्ना पर्टिका नेता-कार्यकर्ताहरुमा अनुरोध गरेका छन् ।