गुल्मी, ८ माघ । गुल्मी दरवार गाउँपालिकाले नबौ गाउँ सभा सम्पन्न गरेको छ । सभाले १ करोड ९८ लाख बराबरको आवश्यक योजना र बजेट रकमान्तर गर्नुका साथै गाउँपालिकाले सम्पादन गरेका कामको समिक्षा, लिजाको गरेको मुल्यांकनलाई सर्वसम्मत पारित गरेको छ । गाउँपालिकाको जम्मा बजेट ४८ करोड। ९४ लाख ८० हजार ९ सय २८ रहेको छ । जसमा ३३ करोड ७२ लाख १३ हजार ८ सय ८३ र पुजिगत तर्फ १५ करोड २२ लाख ६७ हजार ४५ रुपैयाँ बजेट बिनियोजना गरिएको छ । अहिलेसम्म चालु तर्फ ३१.२५ प्रतिशत बित्तिय र ४.७५ प्रतिशत पुँजिगत तर्फ बित्तिय प्रगती भएको छ ।
गाउँपालिकाको कार्यबहाक अध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले गाउँपालिकाले गरेका सेवा प्रबाहको अवस्थाको बारेमा जानकारी दिएका थिए । गाउँपालिकालको सेवा प्रबाहलाई व्यवस्थित गर्दै उदेश्य अनुसारको काम समयमै सम्पन्न गर्न प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरु बीच कार्य सम्पादन करार सम्झौता गरिएको छ । कार्य सम्पादन सम्झौतानुसार कर्मचारीको मुल्याङ्कन र नेपालमै पहिलो स्थानीय तहको रुपमा मालिक इ–बुलेटिन प्रकाशन गर्दै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जिल्लाका स्थानीय तहहरुमा सवैभन्दा पहिला सूचनाको हकको कार्यान्वयनको लागि स्वत ः प्रकाशनको व्यवस्था सुरु गरिएको दाबी गरे । नागरिक सहायता कक्षबाट सेवाग्राहीको काममा सहजिकरण, गाउँपालिकातथा वडा कार्यालयहरुमा विद्युत्तिय हाजिरीको व्यवस्था गरी अनलाईन सर्भरमा स्टोरेज तथा अनलाईबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । अनलाईन राजस्व संकलन प्रणालीलाई सबै वडाबाट कर संकलन गर्ने व्यवस्था मिलाईएको पाण्डेयले बताए ।
गत वर्षकोको तुलनामा १९ लाख आन्तरिक आम्दानी वृद्धि गर्न सफल भएको, गाउँपालिकामा संचालन भएका विभिन्न विकास निर्माण कार्यहरुको प्रभावकारी रुपमा नियमित अनुगमन गर्ने व्यवस्था मिलाईएको, नागरिकलाई गुणस्तरीय खाद्यपदार्थको उपभोग गर्न पाउने हक सुनिश्चित गराउन नियमित बजार अनुगमनको व्यवस्था गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाले मातृ शिसु¸नव शिसु¸ पोषण¸ सरसफाई¸परिवार योजना सहित गर्भवती महिलाहरुको स्वास्थ्यलाई ख्याल राख्दै कस्तो छ आमा कार्यक्रम संचालन गरेको छ । कृषकसँग गाउँपालिका कार्यक्रम संचालन, वडास्तरमा गई उपभोक्ता समितिहरुसँग योजना सम्झौता, छुट भएका नागरिकहरुलाई गाउँपालिकाको कार्यालयमा अपाङ्ग परिचय पत्र वितरण कार्यक्रम संचालन, योजना सम्बन्धी विवरण (उपभोक्ता समितिको सहयोगि पुस्तिका) वितरण, गरेको छ ।
त्यस्तै सबै वडा कार्यालयबाट व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत गर्ने व्यवस्था, मासिक रुपमा कर्मचारीहरुको कामको मूल्याङ्कन गर्ने प्रणालीको विकास, जिल्लाका स्थानीय तहमध्ये सवैभन्दा बढि कार्यालयको सामाजिक संजाल र वेभसाईट अध्यावधिक गरिएको सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए ।
उनले महत्वपूर्ण सूचना एवं जानकारी पालिकाको नागरिकहरुको मोबाईलमा एसएमएस मार्फत जानकारी गराउने व्यवस्था गरिएको बताए । त्यस्तै गाउँपालिकाले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रमक तयार गरी यो शैक्षिक शत्र देखि कक्षा १ मा पाठ्यपुस्तक लागु गरेको छ । रिक्त स्थानमा करार सेवा मार्फत पदपूर्ति गाई भैँसी पालक कृषकहरुका गाई भैँसी बीज वृद्धिको लागि निशल्क रुपमा एआई सेवा उपलब्ध गराउने र पशु प्राविधिक कर्मचारीहरुलाई आवश्यक प्रोत्साहनको योजना गाउँपालिकाको रहेको छ ।
हालसम्म गाउँपालिकाको न्यायीक समितिमा ६ वटा मुद्धाहरु दर्ता भएकोमा २ वटा फछ्र्यौट गरेर ४ वटा प्रकृयामा रहेका छन् । गाउँपालिकाले पालिका भित्रका खरको छाना भएका घरहरुलाइ खरको छाना मुक्त बनाउन जस्ता पाता खरिद प्रकृयामा दोस्रो पटक टेण्डर आव्हान गरि प्रकृया अगाडि बढाएको कार्याबहाक अध्यक्ष मिना भण्डारीले बताइन् । गाउँपालिकामा गरिबी निवारणका लागि दिर्घकालिन परियोजना संचालन गर्ने उद्देश्यले ४ करोडको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना लागत साझेदारीमा कार्यान्वयनको चरणमा रहेको छ ।
उपभोक्ता समिति मार्फत संचालन हुने १ सय ६५ वटा योजना मध्ये हाल सम्म १ सय १६ वटा योजना सम्झौता भएका छन् । गाउँपालिकामा आफ्नो विकास हाम्रै लागि भन्ने सोच अभिवृद्धि गरी टोलमा हुने विपद व्यवस्थापन¸ घरेलु तथा लैङ्गिक हिंसा¸वातावरण संरक्षण अन्ध विश्वास तथा कुरुतीहरुलाई न्यूनिकरण गर्न टोल विकास संस्था गठन र सृढृढीकरण गर्ने कार्य गरिएको कार्यबहाक अध्यक्ष भण्डारीले बताइन् । गाउँपालिकामा बेरोजगारको सूचिमा सूचिकृत ८ सय ६३ मध्ये २ सय १३ जनालाई सय दिनको रोजगार दिने योजना गाउँपालिकाको रहेको छ ।
गाउँपालिकाका नागरिकहरुलाई सिप मुलक तालिमहरु संचालन गर्न विभिन्न निकायहरुसँग समन्वय गरी ४० जना नागरिकहरुलाई निशुल्क इलेक्ट्रिसियन तथा प्लम्बिङ्ग तालिम संचालन गरिएको र गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) यस गाउँपालिकामा प्रभावकारी रुपमा संचालन गरी गत वर्ष ८० जना लघु उद्यमी सिर्जना गरी आय आर्जनका कार्यहरु संचालन गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै शिक्षा, खानेपानी, सडक लगायतका योजनाहरुको अवस्थाको बारेमा जानकारी दिएकी थिइन् ।