टोपलाल अर्याल
गुल्मी, ३० साउन । नेकपा एमाले जिल्ला कमिटी गुल्मीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एमाले चुनावी अभियानको घोषणा गर्दै सवै शक्ति निर्वाचनमा प्रयोग गर्ने रणनिती बनाएको छ । बैठकमा नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण बिष्ट र एमाले नेता राधाकृष्ण कंडेलले संबोधन गरेका थिए । बैठकमा उप–महासचिव ज्ञवालीले बर्तमान राजनैतिक शक्ति सन्तुलन, पार्टी सामर्थ बिस्तार र देशको मुख्य शक्तिका रुपमा एमालेको भुमिका बिस्तारको बिषयमा प्रशिक्षण दिए ।
त्यस्तै सचिव बिष्टले पार्टी र जनप्रतिनिधीबिचको अन्तरसम्बन्ध, समन्वय र स्थानीय तहबाटै समाजबादको आधार निर्माण गर्न पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षण दिएका थिए । साथै नेता कंडेलले स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा बोलेको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए । त्यस्तै बैठकले गाउँगाउँमा बैठक र प्रशिक्षण संचालन गर्ने भएको छ ।
जस अनुसार रेसुंगामा भदौ १० गते, मुसिकोटमा साउन ३१ गते, धुर्कोटमा भदौ २ गते, मदानेमा भदौ ४ गते, मालिकामा भदौ १ गते, इस्मामा साउन ३० गते, चन्द्रकोटमा भदौ ४ गते, कालिगण्डकीमा भदौ ४ गते, सत्यवतिमा भदौ ५ गते, रुरुमा भदौ ६ गते, छत्रकोटमा ९ गते, गुल्मी दरवारमा भदौ ५ गते भेला तथा प्रशिक्षण गरिने श्रीपालीले बताए ।
त्यस्तै पार्टी सदस्यता नविकरणको काम भदौ १० भित्र सक्ने, जिल्लाको विभागहरुको भेला भदौ २० गतेभित्र गर्ने, पालिकास्तरिय जनसंगठन र पेशागत संगठनका बैठक, भेला र प्रशिक्षण भदौ महिनाभित्र गर्ने, जनवर्गिय संगठनले भदौ दोस्रो हप्ताभित्र संयुक्त रुपमा कर्तमान गठबन्धन सरकारका राष्ट्रघाती जनबिरोधी निर्णय बिरुद्ध सशक्त आन्दोलन गर्ने एमालेले निर्णय गरेको छ ।
त्यस्तै जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुले लेवि भदौ महिनाभित्र बुझाउने, दशौ राष्टिय महाधिवेशनपछि हालसम्म विभिन्न पार्टीबाट नेकपा एमालेमा समाहित भएकाहरुको रेकर्ड व्यवस्थित गर्न जिल्ला पार्टी कार्यालयमा प्रतिवेदन बुझाउने र साउन ३० गते अन्तरक्रिया गर्ने निर्णय भएको एमाले गुल्मीले जनाएको छ । रुपन्देहि गुल्मी सम्पर्क मन्चले तत्काल १२ वटै पालिकाको कमिटी बैठक, प्रशिक्षण र योजना बनाउने पनि बैठकले निर्णय गरेको छ ।