गुल्मी, साउन ३२ । परराष्टमन्त्री प्रदीप ज्ञवालीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई प्रहरीले अनुसन्धानको सिलसिलामा प्रहरीले पक्राउ गरेको बताएका छन् । गृहजिल्ला गुल्मीमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले कोही पनि व्यक्ति कानुन भन्दामाथि नरहेको प्रष्ट्याए।
नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्युको सिलसिलामा अनुसन्धानका लागि लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरी पाँच दिन म्याद थपेपछि भएका विरोधका सन्दर्भमा मन्त्री ज्ञवालीले यसो भनेका हुन् । मन्त्री ज्ञवालीले कानुनले सबैलाई समान मान्ने भन्दै घटनालाई अतिरञ्जित गर्न जरुरी नहरेको स्पष्ट पारे।
पुडासैनीको भिडियो आफूले पनि हेरेको जानकारी मन्त्री ज्ञवालीले दिए। भिडियोबारे पनि प्रहरीले अनुसन्धान गरिहेको उनको भनाइ थियो। ‘रवि जी पनि कानुनभन्दा माथि हुनुहुन्न, सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, मन्त्री ज्ञवालीले भने, ‘भिडियो इडिटको कुरा आएको छ। त्यसबारे पनि प्रहरीबाट अनुसन्धान हुनेछ ।’
पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मरेको मानिसले नामै तोकेर मृत्यु गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताए । -थाहा खबर डट कमबाट साभार